सानो छँदा वर्षभरिजसो आफ्नो जन्मदिनको प्रतीक्षा रहन्थ्यो । कहिले आउला मेरो जन्मदिन ! उत्सुकता चरम रहन्थ्यो । जन्मदिनका दिन बिहानै खाली पेट पूजा गरिन्थ्यो ।
अनि, चोकमा गएर दही–चिउरा बाँड्ने, यःमरि खाने, नयाँ लुगा लगाउनेभन्दा पनि बेलुकी केकको उत्कट प्रतीक्षा हुन्थ्यो । आमाले स्कुलमा बाँड्न भनेर त्यस दिन एक प्याकेट चकलेट पनि दिनुहुन्थ्यो । वास्तवमा, निकै रमाइलो हुन्थ्यो, साथीसँगी र सबै टिचरहरूलाई चकलेट बाँड्न ।
यो सन् १९८० ताकाको कुरा हो । त्यस बेला केकमा उमेरअनुसार मैनबत्ती बाल्ने, बालिएको बत्ती निभाउने अनि केक कट्ने उपक्रम गरिन्थ्यो । आफ्नो बर्थडेमा त केकको झन् ठूलो पिस’नि पाइने, कत्ति रमाइलो हो कत्ति ! बयान गरेरै साध्य छैन ।
जन्मदिनका दिन घरमा साथीहरू बोलाएर परिवारसाथ ठूलो समूहबीच केक काट्ने अनि डिनर खाने हाम्रो मौलिक चलनजस्तो लाग्दथ्यो । ४० वर्ष कटिसकेपछि पो अनुभूत भयो, केक काट्ने प्रचलन हाम्रो मौलिक परम्परा नै होइन । झल्याँस्स भएँ ।
सोचेँ– हामीले विस्तारै हाम्रो संस्कृति त्याग्दै विदेशी संस्कृति आत्मसात् गर्दै छौँ । हामी त्यतैतिर पो ढल्किसकेछौँ । केक त सुरुआत मात्रै रहेछ ।
समाजमा दृष्टि दिने हो भने यहाँ धेरै कुरा परिवर्तन भइसकेको अनुभूत हुन्छ । हेर्नुस् त, गर्भवतीलाई दही–चिउरा खुवाउने चलन ‘बेबी सावर’मा परिणत भइसकेछ । बिहेको कुरा छिन्ने कार्यक्रम ‘इंगेजमेन्ट’ र नेवारी परम्पराको ‘पेनबी जानकेगु’ ब्याचलर पार्टीमा रूपान्तरण भइसकेछ । खुट्टामा ‘अल’ लगाउने प्रचलन हराएर ‘मेहेन्दी’ भइसकेको रहेछ ।
यस्तै किसिमबाट हाम्रा धेरै चलनहरू परिवर्तन भइसकेछ । र, कतिपय त हराई पनि सकेछ । सानो उमेरमा रमाइलो अनि मिठो लाग्ने विषय र सन्दर्भको अहिले पहिचान नै मेटिन लागेको हो कि ! नमिठो लाग्न थालेको छ ।
नेपाली समाजमा अनेकानेक उत्सव, शुभसमारोह, शुभसाइतको बेला मिठो परिकार खुवाउने परम्परा छ्र । यःमरि, कसार, खिर, हलुवा, दहीजस्ता मिष्टान्न भोजन हरेकको महत्त्वपूर्ण परिकारमा पर्दछ । यी परिकारबिना कतिपय शुभकार्य नै अपुरो हुने मानिन्छ ।
तर, अचेल नेपाली समाजमा बिनाकेक जन्मदिन, वर्षगाँठ, दही–चिउरा खुवाउने, बिहेको कुरा छिन्नेलगायत कुनै पनि कार्यक्रम सम्पन्न हुन सक्दैन भन्ने जमात बढ्दो छ । यति मात्रै होइन, भाइटीका केक, आमाको मुख हेर्ने केक, बुवाको मुख हेर्ने केक, वेल्कम केक, सेफजर्नी केकहरूविना जीवन अपुरो नै हुन्छ भन्नेहरूको पनि कमी छैन ।
समाजमा यस किसिमको सोचाइ राख्ने जमात बढ्दै जानुको विभिन्न कारणमध्ये दुई प्रमुख कारण देखिन्छन् । पहिलो, हाम्रो परिवार र समाजमा परम्परादेखि मनाउँदै आएको संस्कार, प्रचलनको महत्त्व र इतिहास नयाँ पुस्तालाइ बताउने, यिनका विषयमा छलफल गर्ने परिपाटी नै बस्न सकेन । सिकाउनु त धेरै परको कुरो भयो ।
दोस्रो, विदेशी प्रचलन र संस्कृति हाम्रो आफ्नै चाडपर्व, संस्कृतिभन्दा राम्रो र उत्कृष्ट छ भन्ने भ्रम मौलाउँदो छ । फलतः यही भ्रमको खेतीमा हामी रमाइरहेका छौँ ।
आफ्ना भावना यसरी कोर्ने क्रममा मुलुकमा पहिलोपटक केक कसले र कहिले ‘बेक’ गर्यो होला भन्ने मनमा खुलदुली जाग्यो । खोजी गर्दै जाँदा सन् १९४८ मा नेपालमा पहिलो बेकरीका रूपमा कृष्ण पाउरोटीको स्थापना भएको थाहा भयो । अर्थात्, नेपाली समाजमा केकको आगमन त्यसपछिका वर्षहरूमा भएको हुनुपर्छ भन्ने अनुमान लगाउन सकिन्छ ।
हिन्दुस्तानमा भने बृटिस शासनकालमा सन् १८८३ मा केरलामा पहिलो केक बेक भएको रहेछ । १७औँ शताब्दीमा युरोपबाट केक बेकको थालनी भएको इतिहासमा उल्लेख छ । केकले आज हरेकलाई आफ्नो स्वादको सम्मोहनमा पारेको छ ।
केही दिनअघि मेरो जन्मदिन थियो । जन्मदिनका बारेमा मेरो परिवार र नजिकका साथीभाइलाई मात्र जानकारी थियो । सामाजिक सञ्जालमा म जन्मिएको दिन उल्लेख गरे पनि यस क्याटेगोरीलाई मैले ‘प्राइभेट’ गरेकोले कसैलाई थाहा हुने कुरो भएन । सञ्जालमा चर्चा हुने कुरै भएन ।
घरमा साधारण किसिमबाट पूजा गरेर ठूलाबडाको आशीर्वाद लिएर परिवार, छरछिमेक र साथीभाइबीच मिठो रोटी (यःमरी) बाँडेर खाँदै जन्मदिन मनाउने योजना थियो । त्यसैअनुरूप केकमा बत्ती राखेर बत्ती निभेपछि केक काट्ने काम नगरौँ भन्ने निष्कर्षमा म थिएँ ।
परिवार र समाजमा कुनै पनि शुभकार्य गर्दा बत्ती निभाएर होइन कि बत्ती बालेर गरिन्छ भन्ने कुरा बुझेकै कारण म त्यो निष्कर्षमा पुगेकी थिएँ । केक मन नपरेर अथवा अरू संस्कृति, परम्परालाई सानो सम्झेर होइन कि हाम्रो पारिवारिक चलनानुसार नै जन्मदिन मनाउँदा राम्रो र रमाइलो हुन्छ भन्ने मेरो व्यक्तिगत अवधारणा थियो । तसर्थ, त्यसो गर्नु नै उत्तम हो भन्ने मलाई लागेको थियो ।
आफ्नो संस्कृति, परम्पराको ज्ञान नहुने मानिस जराबिनाको रूखसरह हुन्छ । कुनै पनि राष्ट्रको संस्कृति र कलामाथि अतिक्रमण गरिन्छ भने त्यो राष्ट्रको पहिचान विस्तारै मेटिँदै जान धेरै समय लाग्दैन । यो डरलाग्दो अवस्था होइन र ?
समाजमा यस किसिमको अतिक्रमण देखेपछि नै सकेसम्म सबै समारोह, उत्सव, चाडपर्व आफ्नै नेपाली शैलीमा मनाऔँ भन्दै पैरवी गर्न थालेकी छु, अचेल । यिनै कारणले गर्दा जन्मदिनमा केक काट्न चाहन्नथेँ ।
तर आश्चर्य, हाम्रो समाज पूरै केकमय भइसकेछ ! अचेल त जन्मदिनमा अफिसका साथीहरूबाट केक, सरप्राइज गिफ्ट केक, घरमा केक गर्दै एक दिनको जन्मदिनमा तीन–चारवटा केक काट्नुपर्ने भइसकेछ । अनि, त्यसैमा जन्मदिन मनाउने मानिसले गर्व गर्ने ! हैन हामी कहाँ जाँदै छौँ !
जन्मदिनमा सरप्राइज भनेको नै केक भइसकेछ । मेरो जन्मदिनमा यस किसिमको सरप्राइज गिफ्ट दिने, मलाई माया गर्ने मान्छेहरू पछि परेनन् ।
एउटा केक त सिधै मेरो कोठामा पुग्यो । परिवारका केही सदस्य (सानी नातिनीसहित) सरप्राइज गिफ्टको केक बोकेर म भएको ठाउँमै पुगे । केकमा मैनबत्ती बालियो । मैन विस्तारै पग्लिँदै गर्दा ‘ह्यापी बर्थडे टु यू’ गाउन सुरु भइसकेको थियो ।
अब मैले केक काट्ने काम मात्रै बाँकी रह्यो । घरपरिवारका सबै खुसी र उत्साहित थिए । त्यस खुसीको वातावरणलाई खलबल्याएर ‘केक काट्दिनँ’ भन्दै भाषण छाँट्ने अवस्था थिएन । तथापि, मलाई त्यो केक काट्न साह्रै गाह्रो भयो । तर, त्यतिखेर कुनै विकल्प थिएन ।
खुरुखुरु केक काटेँ । नातिनीलाई खुवाएँ । मनमा भने ठूलो खलबली मच्चिरह्यो । हरेक उत्सवमा केक काट्न सिकाउँदै हामी नयाँ पुस्तालाई कता डोर्याउँदै छौँ ? के हामी आफ्नो दायित्व निर्वाह गर्न नराम्ररी चुक्दै त छैनौँ ? अन्यत्रीको चलन देखासिकी गर्दै हाम्रो मौलिक परम्परा ध्वस्त पार्दै त छैनौँ ?
यो हावालाई अहिले नरोके आँधीहुरी भएर हाम्रो मौलिकता तहसनहस बनाउन बेर लगाउँदैन । मैले पटकपटक परिवारमै पनि विदेशी चलनको सिको नगरौँ भनेकी हुँ । तर लाग्यो, बुझाउन सकेकी रहिनछु । बुझाउने प्रयासमा छु ।
आफ्नो परम्परा, प्रचलन होस्÷नहोस्, तर हल्दी कार्यक्रम नगरी बिहे नगर्ने रे, सालीहरूले बेहुलाको जुत्ता लुकाएर ५० हजार घटी फिर्ता नदिने रे, गाउन लगाएर प्रेग्नेन्सी फोटो सुट नगराई नहुने रे ! यस्ता कुरा आजकाल मनग्य सुन्न र देख्न पाइन्छ । हुनेखानेले पश्चिमा चलनको नक्कल गर्दा नहुनेलाई गाह्रो । पैँचो मागेर आफ्नो बच्चाको जन्मदिनमा केक काटेको सुनेकी छु ।
अहिले ‘ग्लोबलाइजेसन’ छ । सबैले एकार्काको चाडपर्व मनाउँछन् । सम्मान गर्छन् । यसलाइ सामान्य रूपमा लिन सकिन्छ । तर, हाम्रो चलन केही होइन अनि विदेशी संस्कृति उत्कृष्ट भन्ने सोच र व्यवहार बिल्कुल गलत हो । आगन्तुक ‘सेलेब्रेसन’भन्दा नेपाली शैलीको सेलेब्रेसन पनि कम पक्कै छैन । एकपटक मनन गरौँ त, हाम्रो संस्कृति, हाम्रो पहिचान नारामा मात्र हैन, जीवनमा पनि उतारौँ त !