site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad
युवा संघले छलफल गर्नुपर्ने विषय 

आज चैत २७ देखि २९सम्म राष्ट्रिय युवा संघ, नेपालको नवौं राष्ट्रिय महाधिवेशन बाँकेको नेपालगन्जमा हुँदैछ ।

महाधिवेशन नेतृत्वसँगै नीति पनि चयन गर्ने मञ्च हो । उचित नीतिविना नेतृत्व कुशल भए पनि संगठनलाई उद्देश्यतर्फ परिचालित गर्न सक्दैन । हाम्रो समाज र संगठनमा बहसमा ल्याउनुपर्ने  धेरै विषय छन् । यहाँ हामी यिनैमध्ये दुई विषयमा चर्चा गर्दै छौँ । राष्ट्रिय युवा संघको यस महाधिवेशनमा यी दुवै विषयमा छलफल हुनु आवश्यक छ ।

१. उमेरको परिभाषा 

नेपालको युवा नीतिले युवाको परिभाषा प्राविधिक दृष्टिले गरेको छ । युवाको परिभाषामा “१६ देखि ४० वर्षसम्मका नागरिकलाई जनाउनेछ“ भनिएको छ ।

राष्ट्रिय युवा संघको विधानले पनि युवालाई सोहीअनुरूप परिभाषित र संगठित गर्नेगरेको छ । उता नेपालको कानुनमा भने महिलाले १८ वर्ष पुगेपछि मात्र विवाह गर्न पाउने व्यवस्था छ । पुरुषले २० वर्षको उमेरमा विवाह गर्न पाउने वैधानिक व्यवस्था छ ।

अर्थात्, १८ वर्षमा बिहा भएकी महिलाले १९ वर्षको उमेरमा बच्चा जन्माउन सक्छिन् । त्यस्तै बाबु २१ बर्षको हुदा बच्चा जन्मन सक्छ ।

आमा ३५ वर्ष र बाबु ३७ वर्ष पुग्दा बच्चा १६ वर्षको हुन्छ । परिभाषाअनुसार त यहाँ दुई पुस्ता नै युवाभित्र पर्छन् । तर, दुई पुस्ताको आवश्यकता र परिवेश समान हुन सक्दैन ।

त्यसकारण हामीले संगठित गर्ने गरेको युवाको प्राविधिक परिभाषामा छलफल गर्न आवश्यक छ ।
 

यसमा के गर्न सकिन्छ ?

पहिलो यसमा हामीले उमेरको परिभाषा परिवर्तन गर्न सकिन्छ । हामीले दुई पुस्तामध्ये दुवै नै युवा हुने परिभाषा बदली संगठित गर्न सक्नुपर्छ । जस्तै १८ वर्षको उमेरदेखि ३३ वा १९ देखि ३४  वा २० देखि ३५ वा दुई पुस्ता नै युवा नहुने गरी निर्धारण गर्न सक्नुपर्छ ।

दोस्रो हामीले युवालाई पनि दुई भागमा विभाजित गर्न सक्छौँ । १६ देखि ४० वर्षबीचको एउटा निश्चित उमेरलाई मध्य भाग मानेर ।

सोभन्दा आघिको उमेरका युवालाई किशोर युवा र पछिको उमेरका युवालाई परिपक्व युवामा विभाजित गर्न सक्छौँ।

यसरी परिभाषित गर्दा हामीले संगठनमा दुवै खालको उमेर समूहका युवाका आवश्यकता र भावनालाई समेट्न सक्नुपर्ने हुन्छ । सोको लागि संगठनमा आबद्ध गराउँदा हामीले किशोर युवाको सहभागिता सुनिश्चित गर्न निश्चित प्रतिशत आरक्षण व्यवस्था गर्न सक्छौँ ।

त्यस्तै हामीले अवलम्बन गर्दै आएको लेलिनवादी संगठनात्मक पद्धतिमा विभिन्न तहका कमिटीहरु छन् । यी कमिटीमध्ये टोल कमिटी, पालिका कमिटी, जिल्ला कमिटीहरुमा किशोर युवालाई संगठित गर्ने । प्रदेश र केन्द्रीय कमिटीमा परिपक्व युवालाई  संगठित गर्दा किशोर युवालाई निश्चित प्रतिशत आरक्षण व्यवस्था गर्न सक्छौँ ।

२. राष्ट्रिय युवा परिषद्मा युवा नेतृत्वको सवाल 

राष्ट्रिय युवा परिषद् राष्ट्रिय युवा संघको उपलब्धि हो । संघका तत्कालीन अध्यक्ष महेश बस्नेतले युवाको क्षेत्रमा काम गर्ने युवाकै निकाय हुनुपर्ने विषयको उठान गरे ।

संघले यसलाई आफ्नो एजेन्डा बनायो । विसं २०६६ सालबाट संगठनले यस सबालको उठान गरेको थियो । फलस्वरूप नेपाल सरकारले राष्ट्रिय युवा परिषद् ऐन, २०७२ निर्माण गरी युवा परिषद् स्थापना गर्योे ।

सरकारी तवरमा युवा निकाय स्थापना गर्न सफल भयौँ । तर, नेतृत्वको सवालमा हाम्रो सरोकार अझै बाँकी छ । राष्ट्रिय युवा परिषद्मा अहिले मन्त्रिपरिषद्को निर्णयबाट नेतृत्व चयन हुने व्यवस्था छ ।

त्यस्तै प्रदेश नेतृत्वमा प्रदेश सरकारको निर्णयबाट । तर आम युवाले नै परिषद्को नेतृत्व चयन गर्न पाउनुपर्छ भन्ने हाम्रो अर्काे मुद्दा हो ।

यसमा के गर्ने सकिन्छ ?
लोकतान्त्रिक पद्धतिबाट युवाले नै परिषद्को  नेतृत्व चुन्ने संवैधानिक व्यवस्था लागु गर्न सकिन्छ । स्थानीय निकायको निर्वाचनमा प्रत्येक वडाबाट ५ जना जनप्रतिनिधि चुनिन्छन् ।

यही निर्वाचनमा आवश्यक मापदण्डसहित थप १ युवा प्रतिनिधि निर्वाचित गर्न सकिन्छ । यसो हुँदा ६ प्रतिनिधि चुनिने व्यवस्था हुन्छ ।

स्थानीय निकायको निर्वाचनसँगै युवा प्रतिनिधि चुन्ने व्यवस्था गर्न सक्दा सीमित खर्चमा प्रतिनिधि चुन्न सकिन्छ ।

मुलुकभर ६ हजार ७४३ वडामा युवा प्रतिनिधि हुनेछन् र तिनले युवाको आधारभूत सवाल समन्धित ठाउँमा पुर्याउन सक्छन् ।

वडाबाट निर्वाचित युवा प्रतिनिधिमार्फत ७५३ स्थानीय तहमा पालिका युवा परिषद् निर्माण गर्न सकिन्छ र नेतृत्व चयन गर्न सकिन्छ ।

त्यस्तै यसैको माध्यमबाट ७७ जिल्लामा जिल्ला युवा परिषद् निर्माण र नेतृत्व चयन गर्न सकिन्छ । त्यस्तै ७ प्रदेशमा प्रेदश युवा परिषद् र केन्द्रमा संघीय युवा परिषद्को निर्माण र नेतृत्व चयन गर्न सकिन्छ ।

यसको लागि नेपाल सरकारले आवश्यक नीति परिमार्जन र स्पस्ट ऐन बनाउन जरुरत छ ।

यसो हुदाँ के हुन्छ ?  

लोकत्रान्तिक पद्धतिबाट युवाले नै चुनेर चयन भएको नेतृत्वले युवाको विषयमा सही ढंगले काम गर्न सक्छ । यसरी निर्माण भएको परिषद्ले आधारभूतको सरोकार बोक्न सक्छ । त्यस्तै सामान्य युवा पनि नेतृत्वमा पुग्न सक्ने कानुनी ढोका खोल्छ ।

अहिले नेपाली राजनीतिमा सक्षम युवा सहभागिताका सबालमा चुनौती छ । यसले चुनौती चिर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।

हामीले हाम्रो संगठनभित्र युवा परिषद्को टिकट दिने अधिकार राष्ट्रिय युवा संघको तहगत कमिटीलाई दिन सक्छौँ । यसो हुँदा तहगत कमिटीहरु थप सशक्त हुन पुग्छन् ।

साथै कमिटीहरु सहजै अद्यावधिक हुन्छन् । समग्र युवा आन्दोलन र राष्ट्रिय युवा संघप्रति युवा आकर्षण पैदा हुन्छ । नेपालको युवा आन्दोलन विकास गर्न यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।

(प्रमुख, पर्यटन विभाग, राष्ट्रिय युवा संघ, नेपाल) 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  ०९:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro