
काठमाडौं । गाब्रियल जिससले ६ महिनापछि गोल गरेको खेलमा आर्सनलले शनिबार राति इङ्लिस प्रिमियर लिगमा रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको लिड्स युनाइटेडलाई ४–१ ले हराएको छ । जितसँगै आर्सनलले शीर्ष स्थानमा आठ अंकको अग्रता बनाएको छ ।
घुँडाको चोटमुक्त भएर फर्किएपछि जिससको यो पहिलो लिग खेल हो । जिससले ३५औँ मिनेटमा गरेको गोलबाट आर्सनलले अग्रता लिएको थियो । जिससले पेनाल्टीमा गोल गरेका हुन् । जिससले आर्सनलबाट सिजनको सुरुआतमा उत्कृष्ट प्रदर्शन गरेका थिए । तर, विश्वकपअघि घुँडामा चोट लागेपछि उनी मैदान बाहिर थिए । गत अक्टोबरपछि जिससले आर्सनलका लागि गोल गरेको यो पहिलो पटक हो ।
‘‘सबैले राम्रो खेलिरहेका छन् । टिममा फर्कन सजिलो भयो । सबैभन्दा महत्त्वपूर्ण कुरा टिमा सबैले राम्रो गरिरहेका छन्,’’ जितपछि आर्सनलका फरवार्ड जिससले भने, ‘‘मैले गोल गर्नुभन्दा टिमले महत्वपूर्ण तीन अंक हासिल गरेकोमा खुसी छु ।’’
४७औँ मिनेटमा बेन ह्वाइटले आर्सनलको अग्रता दोब्बर बनाए । ५५औँ मिनेटमा जिससले व्यक्तिगत दोस्रो गोल थपे । खेल सकिन ६ मिनेट बाँकी हुँदा ग्रान्ट जाकाले अर्को गोल थपेपछि आर्सनलले सहज जित निकालेको हो । ७६औँ मिनेटमा रसमस क्रिष्टेनसनले गरेको गोल लिड्सका लागि सान्त्वना बन्यो ।
जितसँगै आर्सनलले २९ खेलबाट ७२ अंक जोडेको छ । जुन दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा आठ अंकले बढी हो । तथापी सिटीले एक खेल कम खेलेको छ । सिटीले गएराति नै सम्पन्न खेलमा लिभरपुललाई ४–१ ले हराएको थियो । जितपछि सिटीलो छोटो समयका लागि अन्तर पाँच अंकका छोट्याएको थियो ।
पराजित लिड्स युनाइटेड भने २६ अंकका साथ १६औँ स्थानमा छ । जुन रेलिगेशन क्षेत्रमा रहेको लेस्टर सिटीभन्दा एक अंकले अगाडि हो ।
रोए हड्सनको सुखद् सुरुआत
लेस्टर सिटी गएराति क्रिष्टल प्यालेससँग २–१ ले पराजित भएको थियो । नयाँ प्रशिक्षक रोए हड्सनको प्रशिक्षणमा क्रिष्टल प्यालेसले विजयी सुरुआत गरेको छ ।
पाहुना टोली लेस्टरले ५६औँ मिनेटमा रिकार्डो पेरेराको गोलबाट अग्रता लिएको थियो । ५९औँ मिनेटमा ड्यानियल इभर्सनले आत्मघाति गोल गरेपछि क्रिष्टल प्यालेसले बराबरी गर्यो । इन्जुरी समयमा जेन फिलिपे माटेटाले गोल गरेपछि क्रिष्टल प्यालेसले तीन अंक पक्का गरेको हो ।
जितपछि क्रिष्टल प्यालेस २९ खेलबाट ३० अंक जोडेर १२औँ स्थानमा छ ।
गएराति सम्पन्न अन्य खेलमा चेल्सी एष्टन भिल्लासँग २–० ले पराजित हुँदा नटिङघम फरेष्टले उल्भरह्याम्पटनसँग १–१ को बराबरी खेल्यो । बर्नमाउथले फुलहमलाई २–१ ले हराउँदा ब्राइटन र ब्रेन्टफोर्डले ३–३ को बराबरी खेल्यो ।