site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उराठको एक दिन
Tiktok banner adTiktok banner ad

डाँडामाथि उक्लिएको घामको एक झुल्का झ्यालबाट छिरेर मेरो बिछ्यौनामाथि छरिन्छ । अघि नै आँखा उघ्रिसकेका छन् मेरा । केही छिनपहिले जन्मिएर पनि मरिसकेको देवलमा बजाइएको घण्टाको आवाजलाई सुनिसकेको छु । भंगेराका चिरबिराइ, सारौंका जाँगर र हौसला पनि अहिले शिथिल भइसकेको छ । हरे कठै ! लहरहरूमा अस्तित्व कसरी बज्न थाल्छन् । कसरी शुरू हुन आँटेका कथा कसरी बीचमै भाँचिन्छन् । भित्र गहिराइमा हरे, कस्तो उराठ !

साँच्ची भित्रभित्रै सर्किरहेको यो व्यथा कस्तो हो ? किन पो होला कुन्नि रूप र आकार लिँदा लिँदा त्यो त्यसरी भत्किएको ?

म बिछ्यौनामा लम्पसार पर्छु, तर तटस्थताको अभ्यर्थना सम्भव हुँदैन । बिछयौनाअगाडिको झ्यालकै ग्रीलमा टाउको टाँसेर बाहिरतिर हेर्न थाल्छु म । बाहिर छन् उही सधैँ देखिने खेतका फाँट, डाँडाकाँडा, सल्ला र खरीका रूखहरू, खेतबारीका फाँटमा छरिएका काँचा र पाका इँटका घरहरू । ती घरहरू आजभोलि पनि उस्तै छन्, जस्तो मेरा बाबुबाजेका पालामा थिए । ती सब दृश्यसँग परिचित हुँदै आइरहेको छु बाल्यकालदेखिकै । ती दृश्यमा आजसम्म मैले किञ्चित् पनि परिवर्तन भएको अनुभव गर्न सकेको छैन । जहिले हेर, एउटै किसिमको आभास, एउटै किसिमको छनक ।

बिहान उठेदेखि मैले अहिलेसम्म चुरोट खाएको छैन । डाक्टरसाहेबले चुरोट नखानु भनेका छन् । जसरी हुन्छ चुरोट छाडिदिनुपर्छ, तर मैले तारासँग त्यो कुरा लुकाएको छु । बीस वर्षदेखि मेरो सहवासमा बसिसकेकीले मलाई चिनेकी छु भन्ने कुरोमा दावा गर्न सक्छे ऊ । राम्रो कुरो हो, आज आकाश सफा छ । हिजोको जस्तो झरीको झम...झम झ्याइँ–झ्याइँ आवाज छैन । आज झलमल घाम लागेको छ । हिजो त यति बेलासम्ममा मैले तीन खिली चुरोटलाई ठुटो पारेर मिल्काइसकेको थिएँ ।

म एउटा चुरोटको खिली सल्काएर धूवाँको छाला बनाउन थाल्छु । भित्तामा झुन्डिएको क्यालेन्डरमा पनि सस्तो खाले चुरोटको धूवाँले लाछा बनाइरहने मान्छेको तस्वीर छ । त्यसै–त्यसै हाँसिदिन मन लाग्छ । साँच्ची कस्तो विरोधाभास, रेडियोले भने हिजोआज चुरोट नखानु भन्ने प्रचार गर्न थालेको छ, अर्कोतिर भने चुरोटको आयात र उत्पादन भने दुई गुना । थोत्रो कनस्टर ठटाएझैँ आभास मात्रै, छिः !

कति गहिरो छ, कति नमीठो छ त्यो बाध्यताभित्र मोटाइरहेका हातका पञ्जा । लाग्दछ कराइदिऊँ कि भनेरेँ, कराई–कराई आफूभित्र अटेसमटेस भइरहेको विषमतालाई ओकलिदिऊँ कि भनेरेँ । मेरो कोठामा खेलिरहेका दाजु राजन र भाइ केशव कुस्ताकुस्ती गर्न थाल्छन् । म हप्काउँछु पनि कस्ता नालायक ठिटाहरू भनेर । तर, के असर पार्थ्योे र मेरो हप्काइले । दुवै रुन थाल्छन् ।

म झन्झन् चुरोटको सर्को तान्न थाल्छु । यस्तै हो भने त कहिल्यै पनि निरोगी हुन सक्नेछैन म । लाग्न थाल्छ बाँचुन्ज्याल नै रोगी भइरहन्छु कि भनेझैँ ! बिछयौनाबाट जुरुक्क उठेर दुवै केटाहरूलाई भुकुरिदिन मन लाग्छ । कस्ता केटाकेटीहरू आजभोलिका । बाका पालामा हामी त चुँक्क पनि गर्न सक्तैनथ्यौँ बाको अगाडि । खालि स्कूलका पाठ घोकिरहन्थ्यौँ । मैले त जेनतेन एम्. ए. गरेको छु । यिनीहरूको भाग्यमा एम्. ए. त के प्रवेशिका पास गर्न पनि लेखेको छैन कि क्या !

अहिलेसम्म तारा मेरो कोठामा तातो चियाको गिलास लिएर दुईचोटि पसिसक्नुपर्ने हो । ऊ कुन बेला उठेर भान्छा तरखर गर्न गएकी हो मलाई पत्तो छैन । उठ्ने मामलामा उसको अगाडि हार मानेको छु मैले । सबेरै उठ्न र कामकाज गर्न अल्छी मान्दिन ऊ । ऊ भँगेराहरू चिरबिराउनुभन्दा पनि पहिले नै उठ्ने गर्छे । ऊ उठ्ने बेलामा म मस्त निद्रामा परेको हुन्छु ।

तर, अहिलेसम्म तारा किन नआएकी होली ! एक हप्ता पनि बितेको छैन मैले एक धार्नी चिनी किनेर ल्याएको । त्यति चिनी पन्ध्र दिनलाई नभ्याए पनि दश दिनसम्मलाई त अवश्य भ्याउनुपर्ने हो । लौ, दश दिनलाई पनि पुगेन रे ! नपुगेको भए त्यसको सुइँको हिजै राति मलाई दिइसक्नुपर्ने हो ताराले । तारा आए चिया खान पाइने थियो । तर, तारा आउँदिन ।

बरु, ताराको सट्टा गिलास लिएकी मीनु देखा पर्छे । मेरा हाडहरू मानौँ बज्न थाल्छन् । मैले मानौँ यो मीनालाई पहिले देख्न सकेको थिइनँ । देखे पनि मानौँ चिन्न सकेको थिइनँ । साँच्चै मैले चिनेकी मीना त कति सानी थिई– बामे सर्दै, मेरो घुँडामा घुगुती खेल्दाखेल्दै हुर्किएकी । शंका र उपशंकाका दोभानबाट मुक्त थिई ऊ ।

तर, अहिलेकी यो मीना त मेरो रोगी अनुहारमा टाँसिएकी राक्षसी छायाजस्ती छे । के बेर उसमाथि तन्नेरी केटाहरूका आँखा तँछाडमछाड गर्दै चिप्लन ! त्यस्तो भयो भने लौ परेन फसाद ! उसका हातपाखुरा काँढा बनेर मानौँ मेरो छातीलाई घोच्न थाल्छन् । उसको सम्पूर्ण यौवन नै हुरहुरी बलेर मानौँ मलाई पोल्नझैँ थाल्छ । म आँखा चिम्लन्छु स्वयम्लाई छकाउन । छोरीको बाबु हुनु पनि कति चिन्ताको विषय हुँदो रहेछ, त्यो कुरोलाई आज पो बल्ल अनुभव गर्न थाल्छु म ।

“बालाई अड्डा जान बेर हुँदैन ?” – मीना मानौँ पिरोलिन्छे । हरे ! कस्तो बाध्यता छ उठ्नुमा पनि ।

रामचन्द्रजीको अस्थायीको म्याद सिद्धियो, म्याद थपका लागि ने. लो. से. आ. मा लेख्नु छ । दशदश जवानको म्याद थपको निम्ति लेखिगएको स्वीकृति अझै प्राप्त भइसकेको छैन । गोपीलाई लन्डन पठाउन फाराम मगाइदिनु छ । फेरि निर्देशकज्यूले ल्याउनुभएका दुईजनालाई अस्थायी भर्ना गर्न टिप्पणी उठाउन त बाँकी नै छ । यस सम्बन्धमा निर्देशकका आँखा अँगार हुन केही बेर छैन ।

सबभन्दा ठूलो कुरो त के भने हरेक पाँच–पाँच मिनेटपछि निर्देशक बोलाइरहनुहुन्छ । यी सब प्रशासनिक त्रुटिभित्र पर्ने कुरा हुन् । तर, त्यस सम्बन्धको गुनासो सुनाउने नै कसलाई । सुनायो भने आफ्नो नोकरीकै काल !

तर...तर... त्रुटि कस्तो ? यो त रीत हो । त्रुटि त घुमाउने मेचमाथिका बुद्धिहरूबाट हुँदै हुँदैन । उनीहरूबाट एउटा चिठी लेख्न पाँच सय ताउ कागज खर्च गराए पनि राइट, एक ताउ कागज खर्च गराए पनि राइट । उनीहरूलाई त्रुटि देखाउन थाल्नु नै नालायकी । सुनेको छु– परार साल एउटाले त्रुटि देखाउन के चेष्टा गरेको थियो रे, त्यस्तैमा चट भएको थियो रे उसको तानामाना नै ।

सारा मध्याह्नी मानौँ ममाथि अट्किन्छ । फाइलभरिका सारा अक्षरहरू लाख–लाख झिँगाको चोला लिएर मानौँ भुनभुनाउन थाल्छन् ममाथि ।

“फलानाजी ! मेरो काम भएन । फलानाजी । किन ढिलासुस्ती ।” सेक्सन अफिसरसाहेब घरबिदा लिएर गएका, आजसम्म पनि आएका छैनन् । उनले घरबिदा लिँदा लुगा धुने साबुनको भाउ पाउको एक रुपियाँ थियो, अहिले दुई रुपियाँ भइसकेको छ । सेक्सन अफिसरसाहेबको बिदा भुक्तान भएको पनि ठ्याम्मै एक हप्ता भइसकेको छ । उनी अगाडि भइदिएका भए पनि काम केही छिटोछरितो किसिमले हुने थियो । टिप्पणीसिप्पणी लेख्न अल्छी माने पनि दस्तखत गरी हाकिमसाहेबकहाँ फाइल त पेश गर्ने गर्थे । उफ् ! जागिर खानु त हाकिमी दर्जाकै राम्रो, हाकिम पाइएन भने एकाउन्टेन्ट वा किनमेल र ठेक्कापट्टाको काम गर्नु पनि केही मज्जाकै कुरो हो ।

हरे ! कुन प्रकृतिको मान्छे म, कठै ! बाध्यताले गर्दा कुन प्रकृतिको काम समाउन पुगेँछु । स्वभावअनुकूलको काम भेट्टाएको भए सम्भवतः यति साह्रो भाँचिने थिइनँ होला म । तर, भाँचिनु कस्तो ! के भाँचिनु भन्ने स्वयम् मभित्रको भौतिक मोहबाट उत्पन्न हुने विडम्बनायुक्त शब्द होइन र !

कति जाती हुने थियो म जन्मिँदै नजन्मिएको भए । लौ, जन्मिहालेँ रे । कति जाती हुने थियो जन्मनेबित्तिकै मेरी आमाले मलाई घाँटी निचोरिदिएकी भए । त्यसो भएको भए डर त हुने थिएन नपुंसकताको पर्दा खस्ने !

समय घस्रँदै जान्छ मेरा लुला खुट्टाहरूबाट । शान्तिका लागि स्वयम्लाई नै निल्ने प्रयत्न गर्न थाल्छु म । फेरि पछि हरे ! कस्तो गनाउने किसिमको बोध ! निरर्थकतामा पुच्छर हल्लाउँदै भुक्ने, आफ्ना ख्वामितको पैतालालाई चाट्ने, बटुवामाथि भुकेर इमानदारी देखाउने कुकुरको जस्तै जीवनको बोध पो त भइरहेको छ ।

म क्यान्टिनको टेबिलवरिपरि छरिएका आँखा र अन्तरकथाहरूका हूलमा हराउने प्रयत्न गर्न थाल्छु । पिउनले समाचार ओसारिरहन्छ कहिले के कहिले के । कहिले हाकिमको समाचार, कहिले भेट्न आउनेहरूको समाचार । फेरि टेलिफोनको घण्टी टिनिन टिनिन... बजिरहन्छ । रिसिभरलाई भुईंमा पछारिदिऊँ झैँ झोक चल्छ । तर, झोक चलेर पनि के ! रिसिभरलाई पछार्ने के पो तागत मेरो !

उफ् ! कस्तो विवशता ! कस्तो बन्धन । सम्भवतः यसबाट मुक्ति छैन । मुक्ति भए तापनि खै कहाँ छ जिब्रो मभित्र ? म त लाटो भइसकेको छु । चकमन्न भइसकेको छु । भाँचिएका पखेटा फरफराउने पिँजडाभित्र थुनिएको चरो भइसकेको छु । मेरो बोध मानौँ रट्न थाल्छ—
“बालक बबुरो द्विज शुकनामा
हूँ म परेको छू पिँजडामा ।”

झ्यालहरू धमाधम खोलिँदै जान्छन् । कुनै बारमा बसेर साथीको खल्ती झारझुर पारी ककटेलका दुई–चार पेगले रगत तातो पार्ने चेष्टा गर्न थाल्छु म । दिनभित्रको चकमन्नताले आत्मसमालोचनाको रूप लिन्छ— अलकत्रे सडकमाथि–माथि । तर कठै ! खानु र डुल्नुभित्र पनि कति चिसोपन छ । लाग्न थाल्छ साथीको स्वरूप रित्तो कनस्टर भएझैँ । हरेक मोडमा उही कनस्टर ठटाइरहेझैँ स्थितिको बोध ।

मेरो साथीभित्र नशा छ । मभित्र पनि नशा छ । नशाभित्रभित्रै पनि पिलपिलाइरहन सक्ने चेतनाको उज्यालो मानौँ काम्न थाल्छ । म बुझिरहेको छ— ऊ त्यसलाई स्वीकार गरेको छ भन्ने कुरा देखाउन चाहँदैन । उसको अहंमा धक्का लाग्छ । त्यसैले ऊ नशाले लट्ठिएको जिब्रोभित्र पनि पिपलमिन्ट बन्ने कोशिश गरिरहेछ ।

तर, म ऊसँग हुन्नँ । ऊसँग भए पनि घरतिर फर्किन्छु । सम्भवतः साथी पनि मेरो नजीक हुँदाहुँदै पनि घरैतिर फर्किन्छ । घर अर्थात् हाम्रो अहंका सम्भावनाहरूको तगारो फुकाउने स्थल । मेरो विकृत स्वर र विकृत हेराइले त्यहाँ कोमलताको रूप धारण गर्छ । साथीले सम्भवतः मलाई बुझेको छैन । सम्भवतः बुझेर पनि बुझ पचाइरहेको छ ।

ऊ मेरो पाखुरा समातेर एकाएक दौडन थाल्छ । सभ्यताले हामीलाई दगुर–दगुर भनेर लखेटिरहेछ । तर, म उसमा रमाउन सकेको छैन निश्चय पनि । म आफैँमा दगुर्दादगुर्दै लतारिन थाल्छु । ऊ मेरो पाखुरालाई चिमोटेर दगुर्न थाल्छ । जान्दछु उसको उपध्राइँभित्र त्यै प्रक्रिया चञ्चल भइरहेको छ, जसलाई छल्न म स्वयम् आफूलाई आफैँ चपाउने गर्छु । तर, सबथोक खुला छ । मिस्टिसिज्मले भने अझै प्रश्रय पाएको छैन । मिस्टिसिज्म त्यसै–त्यसै पग्लँदै छ । ऊ रित्तो टिन, म रित्तो टिन, हामी दुवैको हरेक प्रक्रियामा उही रित्तो टिन ठटाएको आवाजको आभास ठ्याङ–ठ्याङ...। धूलो मुछिएको बबन्डर... ट्युबलाइटको उज्यालोमा झल्किरहेको कोलटारे सडकमा पनि उही रित्तोपनको छनक । अब फेरि मेरो स्मृतिमा घर खेल्न थाल्छ । तर, रक्सीको मातले छोइएको साथी भने एउटा रूखको हाँगा समातेर मच्चिन थाल्छ बाँदरझैँ ।

घरमा राजन र केशव अम्बाको बोटको हाँगामा मच्चिन थाल्छन् । म पनि उनीहरूझैँ आफूलाई केटाकेटीपनमा अनुवाद गर्न सक्छु । उनीहरूझैँ म पनि अम्बाको बोटमा मच्चिन सक्छु । तर, कसोकसो मनभित्र एउटा पर्खाल छ, जसले मलाई बाल्यकालतिर फर्किन दिँदैन । मेरो चेतना मानौँ चिच्च्याउँछ— ‘अब म जे गरे पनि बाल्यकालको रूपमा अनुवाद हुन सक्तिनँ... सक्तिनँ ।’

आश्चर्य ! तारा पनि त मैजस्तो हाड, मासु, रगत र थेग्राहरूले तयार भएकी यौटा आकृति हो । उसले कसरी पो सम्झौता गरेकी होली परिस्थितिसँग । तारा मेरो स्मृतिमा झुल्किन्छे । ऊ राम्री थिई । तर, जुनताका ऊ राम्री थिई तिनताका उसले पकाएको दालभातमा स्वाद थिएन । उसको सहनशीलता पनि स्वादिलो लाग्दैनथ्यो । तर, आजभोलि ऊ राम्री देखिन्न । तर आश्चर्य ! यस्ती उसले पकाउने गरेको दालभात र उसको जाँगर भने साह्रैसाह्रै स्वादिलो हुँदै गइरहेछ ।

हो, ऊ झन्झन् उदाउँदै जान्छे । उसका हातखुट्टाको बनोट, उसको अनुहारको बनोट, उसको सम्पूर्ण अस्तित्वले नै तीव्र किसिमले मेरो मानसमा रूप र आकार लिन थाल्छ । यही कुरालाई लिएर मेरो साथी मलाई ‘रोमान्टिक’ भन्छ । ठीक हो, म उसको कुरालाई स्वीकार गर्छु । उसलाई स्वीकार गरेर म घरतिर बाटो बनाउँदै जान्छु । नगए त म झन् अतालिनेछु ।

घरमा पुगेपछि साराका सारा अपमानित अनि जलिल तीरले उकासेका घाउहरूलाई तारासँगको रोमान्सको पछ्यौरीले छोपेर निश्चय पनि सहन सक्छु । निश्चय पनि म फलामे कवच धारण गर्दै आइरहेको छु तारालाई अँगालेर । 
(नौली, वर्ष १ अंक १, २०२८)

(कथाकार विष्टको कथाकृति ‘आँसु त्यसै त्यसै छचल्किन्छ’ बाट ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  ०९:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro