
विराटनगर । विराटनगरको होराइजन क्रिकेट क्लब दोस्रो संस्करणको मिल्स क्रिकेट टी–२० प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।
मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा विराटनगर जुट मिल्सको खेलमैदानमा बुधबार भएको उद्घाटन खेलमा भारत जोगवनीको प्रशान्त क्रिकेट क्लबलाई ४४ रनले हराउँदै होराइजन क्वाटरफाइनलमा पुगेको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको होराइजनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५५ रन बनाएका थिए । होराइजनका फिदोस अन्सारीले २९ बलमा ३० रन बनाउँदा निरज मुखियाले २८ बलमा २२ रनको योगदान दिएका थिए । जोगवनीका सुमित, राजिव र जयन्तले समान २/२ विकेट लिएका थिए ।
१५६ रनको विजय लक्ष्य पछ्याएको जोगवनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १११ रनमा सीमित भयो । होरिजनका दिपेश कंडेलले ३ विकेट लिए भने दिपकराज जोशी र सवर्ण किस्कुले समान २÷२ विकेट लिएका थिए ।
जोगवनीका सुमितले २२ बलमा १९ रन र राजिवले ११ बलमा १६ रनको योगदान दिएका थिए । प्रतियोगिताको म्यान अफ दी म्याच होराइजनका फिदोस अन्सारी घोषित भए ।

बिहीबार दुईवटा खेल हुनेछ । पहिलो खेल एनबीएससी विराटनगर र बोस्टन झापा क्रिकेट क्लबबीच हुनेछ । सोही दिन हुने दोस्रो खेल भारतको कटियार र बैशाली पटना क्रिकेट क्लबबीच हुनेछ ।
चैत १५ देखि २५ गतेसम्म संचालन हुने प्रतियोगितामा भारतको सात र नेपालको ११ गरी १८ वटा टिमको सहभागिता रहने मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीका उपाध्यक्ष राजन राज बानाले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद एक लाख ११ हजार रुपैयाँ र शिल्ड प्राप्त गर्नेछन् । उपविजेताले ६१ हजार रुपैयाँ आउनेछन् ।