
बुटवल । बुटवल–७ का सातजना अव्यवस्थित बसोबासीले लालपुर्जा पाएका छन् ।
बुटवल उपमहानगरपालिकाको सिफारिसमा राष्ट्रिय भूमि आयोग रुपन्देहीले तयार पारेको लालपुर्जा मंगलबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले वितरण गरेका छन् ।
लालपुर्जा वितरण गर्दै प्रमुख पाण्डेयले बुटवलभित्रका अव्यवस्थित बसोबासीलाई लालपुर्जा प्राप्तिका लागि सबै प्रक्रियामा सहयोग गर्ने बताए ।
उनले भूमि आयोगलाई आवश्यक जनशक्तिदेखि कार्यालय व्यवस्थापनमा समेत सहयोग गरेर बुटवल क्षेत्रका लालपुर्जाविहीनलाई लालपुर्जा दिलाउने बताए ।
प्रमुख पाण्डेयले बुटवलमा अहिले भूमि आयोगमा सिफारिस गरेका ब्लकहरूको सर्भे र नापजाँचको काम अगाडि बढिरहेको बताए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्यले बुटवल उपमहानगरपालिकाभित्र लालपुर्जा प्राप्त गर्न योग्य व्यक्तिलाई लालपुर्जा दिने गरी बुटवल उपमहानगरपालिकाको सहयोगमा निरन्तर काम भइरहेको बताए ।
उनले बुटवल उपमहानगरपालिकाको निरन्तर पहलकै कारण लालपुर्जा वितरण गर्न सकिएको बताउँदै बाँकी क्षेत्रको वितरण प्रक्रिया अगाडि बढेको बताए ।