
काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनको लागि सरकार र निजी क्षेत्र एक ठाउँमा आउन आवश्यक रहेको बताएका छन् ।
शनिबार धुलिखेलमा भएको नेपाल राष्ट्रिय व्यवसायी महासंघको पाँचौँ साधारणसभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनको लागि सरकार, संसद् र निजी क्षेत्र एक ठाउँमा आउन आवश्यक रहेको बताए । उनले व्यवसायीहरुलाई व्यवसाय चलायमान बनाउन उत्साहित तथा प्रोत्साहन हुन नसकेको भन्दै यस्तो अवस्थामा एकतर्फी रुपमा बैंकको ब्याजदर वृद्धि गर्न नहुने बताए ।
वर्तमान परिस्थितिलाई चाँडै अन्त्य गर्नको लागि सरकार, संसद्, सांसद र निजी क्षेत्रको भूमिका एक ठाउँ ल्याउन आवश्यक रहेको उनले बताए । पछिल्लो समय बैंकको ब्याजदर वृद्धिलगायत व्यवसायीहरुका अन्य समस्या समाधान गर्नको लागि आफूले सक्दो प्रयास गर्ने प्रतिवद्धता उनले जनाए ।
“विभिन्न नीतिहरु निर्माण गर्ने र बनाएका नीति कार्यान्वयन गर्ने सरकारको महत्वपूर्ण भूमिका हुन्छ । त्यस्ता नीतिहरु कार्यान्वयन गर्ने भूमिका संसद्को पनि हुन्छ,” उनले भने, “उद्योगी व्यवसायीहरुका वर्तमान समस्या समाधान गर्नको लागि आफूले पहल गर्नु कर्तव्य हो । त्यो प्रयास मबाट हुनेछ भन्ने प्रतिवद्धता जनाउन चाहन्छु ।”

सभामुख घिमिरेले व्यवसायीहरुको आन्दोलनभन्दा वार्ताका माध्यमबाट समस्या समाधानको लागि भूमिका खेल्न आवश्यक रहेको उल्लेख गरे । उनले देशको अर्थतन्त्रमा गम्भीर स्थिति देखापरेको भन्दै त्यसको सामना गर्नको लागि सबैले आ–आफ्नो ठाउँबाट लाग्न जरुरी रहेको बताए ।