
बुटवल । बुटवलको एन्फा टेक्निकल सेन्टरमा जारी २२औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले उचालेको छ ।
शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम ११ लाई सडन डेथमा पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लबले २२औं संस्करणको उपाधि उचालेको हो । त्यसअघि भएको खेलमा दुवै टिमबाट १/१ गोल भएको थियो ।
५८औं मिनेटमा कोफिट टोमिटेले गोल गर्दै मनाङलाई अग्रता दिलाए पनि त्यो अग्रता लामो समय टिक्न सकेन । खेलको ७०औं मिनेटमा सुदूरपश्चिम ११ का लागि फागुराम थारुले गोल गर्दै खेललाई १–१ बराबरीमा पुर्याएका थिए ।
त्यसपछिको समयमा कुनै पनि थप गोल हुन सकेन र खेलको निर्णय पेनाल्टीमार्फत लिइएको थियो । पेनाल्टी पनि बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो ।

उपाधिसँगै मनाङले नगद ११ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको सुदूरपश्चिम ११ ले भने पाँच लाख ५५ हजार ५५५ प्राप्त गरेको छ ।