site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सहुलियतपूर्ण कर्जा नीतिले महिलालाई उद्यमी बनाएको छ : अध्यक्ष अग्रवाल 

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जा नीतिले महिलालाई उद्यमी बन्न सहयोग गरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘वुमेन लिडरसिप समिट २३’को उद्घाटन समारोहमा अग्रवालले सहुलियतपूर्ण कर्जा नीतिले महिलाको व्यवसायमा सहयोग गरेको बताए ।

“अहिले महिलाहरू चुलोमा मात्र सीमित छैनन् । महिलाले आफ्नै व्यवसाय गर्न सफल भएका छन्,” उनले भने, “नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जा नीतिले महिलाको व्यवसायमा सहयोग गरेको हो । यसलाई सकारात्मक रूपमा लिनुपर्छ । महिला व्यवसायीले उत्पादन गरेका सामग्री अन्तर्राष्ट्रिय बजारमा बिक्री भएका छन् ।”

दीगो विकासका लागि महिला सहभागिता आवश्यक रहेको भन्दै सरकाले त्यसलाई नीतिमा मात्र सीमित पारेको अग्रवालले बताए । महिलाहरूको नेतृत्व क्षमता बढाउन समय अनुसारको प्रशिक्षण र शिक्षाको आवश्यकता रहेको पनि उनले बताए । महिला घर परिवारमा मात्र सीमित भएर आर्थिक विकास नहुने भन्दै अब नेतृत्वदायी भूमिकामा पनि महिला हुनुपर्ने धारणा अग्रवालले व्यक्त गरे ।

“परिवार सफल बनाउन एकजना महिलाको महत्वपूर्ण भूमिक हुन्छ । व्यवसाय वृद्धिमा पनि महिलाको भूमिका त्यत्तिकै महत्व हुन्छ,” अग्रवालले भने । 

 व्यवसायमा कुनै असहज परिस्थिति सिर्जना भयो भने महिला नेतृत्वले समाधान सहज रूपमा गर्ने गरेको उनले बताए । 
नीतिगत रूपमा ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने व्यवस्था गरेको भए पनि व्यवहारमा त्यस्तो नभएको उनको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  ११:३३