site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वृद्ध मनोविज्ञान र साहित्य, मेरा नौ दशक र अठासी वर्षमा कैलाश मानसरोवर
Tiktok banner adTiktok banner ad

वृद्ध मनोविज्ञान र साहित्य
(विश्लेषण : बद्रीप्रसाद ढकाल)
लेखक बद्रीप्रसाद ढकाल पछिल्लो समय पाकाका कुरा र बुढ्यौली साहित्य लेखनतर्फ केन्द्रित छन् । वृद्ध उमेर, तिनको मनोविज्ञान र साहित्यमाथि कलम चलाउँदै आएका ढकालको केही समयअघि प्रकाशित पुस्तक हो, ‘वृद्ध मनोविज्ञान र साहित्य’ । यस कृतिमा वृद्ध मनोविज्ञानमाथि एक दर्जन आलेख समावेश छ । कथाकार माया ठकुरीको कथा ‘आमा जानुहोस्’ माथि सूक्ष्म विश्लेषण पनि गरिएको छ ।

पुस्तकमा ‘आफ्नै कुरा’ मा लेखक ढकालले लेखेका छन्, “...नेपालमा बुढ्यौली उमेरसमूहका लगभग ३० लाखको हाराहारीमा ज्येष्ठ नागरिक छन् भने विश्वमा ८० करोडको हाराहारीमा रहेको तथ्यांक छ । विस्तारै शरीरको सक्रियता कम हुँदै शिथिल अवस्थामा निश्चित घेराबन्दीमा जीवन व्यतीत गर्न बाध्य बुढ्यौली समयलाई आफ्ना अनुभव र अनुभूतिको सिर्जनामा लगाउन सके आगामी पुस्ताका लागि निकै महत्त्वपूर्ण हुने कुरामा दुई मत देखिन्न ।”

पुस्तकको भूमिकामा कृष्णमुरारी गौतम (चट्याङ मास्टर)ले लेखेका छन्, “नेपाली साहित्यको फाँटमा बुढ्यौली साहित्यले आफ्नो छुट्टै अस्तित्व र पहिचान लिएर आइसकेको अवस्थामा वृद्ध मनोविज्ञानको सैद्धान्तिक आधार बन्नु अझै सुखद् कुरा हो । बुढ्यौली साहित्यको सिद्धान्तपछि यो वृद्ध मनोविज्ञान र साहित्य पुस्तक प्रकाशनमा आएको छ, जुन काम लेखक, अनुसन्धाता, समालोचक बद्रीप्रसाद ढकालले फत्ते गरेर यो कोसेढुंगा स्थापना गर्नुभएको छ ।...।”

प्रकाशकका तर्फबाट केशवप्रसाद पराजुली पुस्तकमा लेख्छन्, “...वृद्धवृद्धाको उमेरमा उचित स्याहारसुसार, हेरचाहका साथसाथै असल व्यवहार गरिनुपर्छ भन्ने सार यस पुस्तकमा रहेको छ ।”

कृतिभित्र वृद्धको परिचय, विश्वव्यापी अवस्था, वृद्ध मनोविज्ञान, फ्रायडवाद र बुढ्यौली सिद्धान्त, नेपाली साहित्यमा वृद्ध मनोविज्ञानसहित एक दर्जन एक शीर्षकका लेख समावेश छ ।

भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित १४०+४ पृष्ठको यस पुस्तकको मूल्य २२०– रुपैयाँ राखिएको छ ।

०००

मेरा नौ दशक
(आत्मकथा : सूर्यबहादुर थापा)
नेपाली राजनीतिका चर्चित एवम् कुशल खेलाडीका रूपमा परिचित तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा ‘मेरा नौ दशक’ यतिखेर बजारमा उपलब्ध छ । पाँच व्यवस्था, पाँच राजा, पाँचपटक प्रधानमन्त्री उपशीर्षक छ, थापाको यस आत्मकथाभित्र ।

करिब सात दशक नेपाली राजनीतिमा बिताएका थापा पाँचपटक प्रधानमन्त्री भए । उनै राजनीतिज्ञ थापाको जीवनका आरोहअवरोह ‘मेरा नौ दशक’मा पाठकले पढ्न पाउँछन् ।

आत्मकथाभित्र ‘मेरो भन्नु’मा सूर्यबहादुर थापाले लेखेका छन्, “मैले समसामयिक राजनीतिक, सामाजिक जीवनमा मेरो संलग्नताका विषयमै तपाईंहरूसँग बयान गरेको छु । मानिसले अरूका लागि झुटा कुरा भनिदिन सक्छन्, आफ्नै आत्मालाई त ढाँट्न सक्दैन । मैले आफ्नो आत्मा साक्षी राखेर विवरणहरू राखेको छु ।”

‘पुस्तक लेखनको कथा’मा गणेश पौडेलले लेखेका छन्, “यो पुस्तक ३ सय घण्टाभन्दा बढी समय उहाँसँग गरिएको कुराकानीमा आधारित छ । उहाँका सबै बयान छाप्ने हो भने निकै ठूलो ठेली बन्छ । यो पुस्तक त्यही ३ सय घण्टा लामो टेप रेकर्डको सम्पादित स्वरूप हो ।”

पुस्तकभित्र सुनीलबहादुर थापाले ‘आभार’मा लेखेका छन्, “...मेरो धेरै समय विदेशमा नै बिते पनि फोनमा कुराकानी हुँदा होस् वा घरमा आउँदा पुस्तक लेख्ने विषयमा उहाँलाई आग्रह गरिरहन्थेँ । बुवा भन्नुहुन्थ्यो, ‘मेरा सबै कुराहरू खुला पुस्तकझैँ सार्वजनिक छन् । मेरो जीवनीमा सबैका राम्रा कुरा मात्र आउँदैनन्, यसले परिवारका पनि परिवार रिसाउँछन् । राजाको शासनकालमा मन्त्री, प्रधानमन्त्री भएँ, कतिपय कुरा बोल्नुपर्ने हुन्छ, जुन मेरो नैतिकताले दिँदैन ।’ त्यसपछि केही वर्ष यो प्रसंग रोकियो ।”

पुस्तकभित्र एउटा प्रसंगमा सूर्यबहादुर थापाले लेखेका छन्, “डा. गिरी र दरबारको दूरी पनि बढ्दै थियो । दरबारप्रति निकै असन्तुष्ट भइरहेका थिए उनी । यस्तै अवस्थामा २०२१ माघको पहिलो साता विराटनगरमा मेडिकल सम्मेलन उद्घाटन गर्न गएका थिए । फर्किनासाथ माघ १२ मा मन्त्रिपरिषद् अध्यक्ष पदबाट राजीनामा दिए ।” (पृष्ठ—१८७)

यस आत्मकथाभित्र पञ्चायतको जन्म, मुगाको माटो, बाल मष्तिस्कमा राणा–रजगज, सात सालको पानीढलो, पञ्चायत : आरम्भदेखि राजीनामासम्म, पदबाहिर १० वर्ष, जनमतसंग्रहदेखि पञ्चायतको अवसानसम्म, बहुदलदेखि संविधानसभासम्मलगायत थुपै्र शीर्षकमा उनको जीवनयात्रा समेटिएको छ ।

बुकहिलद्वारा प्रकाशित ४८२+४ पृष्ठको यस आत्मकथाको मूल्य ९९९– रुपैयाँ राखिएको छ ।

०००

अठासी वर्षमा कैलाश मानसरोवर
(नियात्रा : नन्दकला सुवेदी)
पछिल्ला दिनहरूमा बुढ्यौली साहित्यको चर्चा चुलिँदो छ । नन्दकला सुवेदीको ‘अठासी वर्षमा कैलाश मानसरोवर’ नियात्राकृतिलाई पनि बुढ्यौली साहित्यको लहरमा राख्न सकिन्छ । सुवेदीले ८८ वर्षको उमेरमा कैलाश मानसरोवर यात्रा गरेर एउटा कृति नै तयार पारेकी हुन् ।

सुवेदीले ‘मेरा कुरा’मा लेखेकी छन्, “काठमाडौंमा कान्छी छोरीका घरमा जाँदा जहिले पनि ज्वाइँछोरी दुवैले तपाईंले सम्झेजति जीवनका सप्पै कुरा लेखिदिनु, पछि किताब निकालौँला भनिर’ने । अठासी वर्षको उमेरमा कैलाश मानसरोवर ग’र फर्केपछि त ज्वाइँले सारै जोड गरेर डायरी र कलम अगाडि राखिदिनुभयो । कैले ठामका नाम मात्रै सम्झेर लेखेँ । कहिले घुम्न जाँदा गरे भोगेका कुरा लेखेँ ।...।”

कृतिको भूमिकामा नियात्राकार घनश्याम राजकर्णिकारले लेखेका छन्, “वि.सं. १९८७ माघ १ गते जन्मेकी श्रीमती नन्दकला सुवेदीले आफू गएका ठाउँहरू, त्यहाँ देखे सुनेका कुराहरू र आफ्नो अनुभवहरूलाई सकेसम्म सम्झेर रिठ्ठो नबिराई लेखेको यात्रा सँगालोको नाम हो, ‘अठासी वर्षमा कैलास मानसरोवर’ । मजस्तो सहरमा जन्मेर सहरमै हुर्केका मानिसले गाउँमा जन्मेर गाउँमै हुर्केकी नन्दकला सुवेदीको यात्रावर्णन पढ्दा गाउँघरका जनजीवन, रीतिस्थिति, चालचलन, बोलीचाली, विधिव्यवहारहरू थाहा पाउँदा मलाई निकै कौतूहल र उत्सुकता हुनु स्वाभाविकै हो ।...।”

नियात्राकार प्रतीक ढकाल लेख्छन्, “...भजन र तीजगीतहरूको संग्रहले नन्दकला आमालाई एकजना सिर्जनशीलताकी पारखीका रूपमा देखाएको छ भने यो नियात्राकृतिले उहाँको जीवनलाई अमरताको उच्च शिखरमा उभ्याएको छ । उहाँ स्वयम्लाई अग्लो हिमाल बनाएको छ ।”

साहित्यकार नन्दु उप्रेती लेख्छन्, “अठासी वर्षको उमेरमा जब आमा समुद्र सतहभन्दा ४,५९० मिटर उँचाइमा रहेको तिब्बतको मानसरोवर र त्योभन्दा झन्डै एक सय मिटरमाथिको कैलाश पर्वतको परिक्रमा गर्ने ठाउँ दार्चेनसम्म पुगेर सकुशल आउनुभयो, अब त आमालाई जसरी पनि नियात्रा लेखाउनैपर्छ भन्ने लाग्यो मलाई ।...।”

यस कृतिभित्र मानसरोवरसहित १२ नियात्रा समावेश छ ।

नन्दकला सुवेदीका छोराछोरीद्वारा प्रकाशन गरिएको १४०+४ पृष्ठको यस कृतिको मूल्य २००– रुपैयाँ राखिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  ०८:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro