
काठमाडौं । सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका क्रिष्टियानो रोनाल्डोले दुई गोल गरेपछि बिहीबार राति पोर्चुगलले युरो २०२४ छनोट प्रतियोगितामा लिचेस्टाइनमाथि ४–० को विजय हासिल गरेको छ ।
रोनाल्डोको पोर्चुगलबाट यो १९७औँ खेल हो । यससँगै उनी सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी बनेका छन् । उनले कुवेतका बाबर अल–मुतवालाई पछि पारेका हुन् । अल–मुतवाले कुवेतबाट १९६ खेल खेलेका छन् । तेस्रो स्थानमा मलेसियाका सो चिन अन छन् । उनले १९५ खेल खेलेका छन् ।
लिस्बोरस्थित जोजे अल्भालडे रंगशालामा पोर्चुगलले आठौँ मिनेटमा जोओ कान्सेलोको गोलबाट अग्रता लिएको थियो । ४७औँ मिनेटमा बर्नार्डो सिल्भाले पोर्चुगलको अग्रता दोब्बर बनाएका थिए । ५१औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमा अर्को गोल थपे । ६३औँ मिनेटमा रोनाल्डोले फ्रीकिकमा गोल गरे ।
यससँगै रोनाल्डोले अन्तर्राष्ट्रिय गोल संख्या कीर्तिमानी १२० पुर्याएका छन् । धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा हुने इरानका अली दाईले १०९ गोल गरेका छन् ।

२००३ मा पोर्चुगलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका रोनाल्डो कतारमा पाँच फिफा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका थिए । २००४ मा पहिलो अन्तर्राष्ट्रिय गोल गरेका रोनाल्डो २० वर्षमा प्रत्येक वर्ष गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।
जितसँगै छनोट प्रतियोगिताको समूह ‘जे’मा पोर्चुगल शीर्ष स्थानमा छ । पोर्चुगलको तीन अंक छ । समान तीन अंक जोडेको बोस्निया एण्ड हर्जगोभिना दोस्रो स्थानमा छ । समान एक अंक जोडेका लक्जेमबर्ग र स्लोभाकिया क्रमशः तेस्रो र चौथो स्थानमा छन् । ६ टोली रहेको समूह ‘जे’मा आइसल्यान्ड पाँचौँ र लिचेस्टाइन छैटौँ स्थानमा छन् ।
बोस्निया एण्ड हर्जगोभिनाले गएराति नै आइसल्यान्डलाई ३–० ले हराएको थियो । लक्जेमबर्ग र स्लोभाकियाले गोलरहित बराबरी खेलेका थिए ।
बीबीसीका अुनसार रोनाल्डोको नाममा भएका कीर्तिमान
च्याम्पियन्स लिगमा सबैभन्दा धेरै गोल – १४ गोल
च्याम्पियन्स लिगमा सबैभन्दा धेरै गोल खेल्ने – १८३ खेल
च्याम्पियन्स लिगमा सबैभन्दा धेरै उपाधि जित्ने – पाँच पटक
तीन च्याम्पियन्स लिग फाइनलमा गोल गर्ने एक्लो खेलाडी
सबैभन्दा धेरै युरोपियन च्याम्पियनसिपको फाइनल खेल्ने – पाँच पटक
युरोपियन च्याम्पियनसिपको फाइनलमा सबैभन्दा धेरै गोल गर्ने – चार गोल
अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल – १२० गोल
सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी – १९६ खेल
अन्तर्राष्ट्रिय फुटबलमा १० ह्याट्रिक गर्ने पहिलो खेलाडी