
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् ।
आज प्रतिनिधिसभामा मतविभाजन गर्दा पक्षमा १७२ मत पर्यो । विपक्षमा ८९ मत परेको छ । तटस्थमा एक मत पर्यो । आजको प्रतिनिधिसभा बैठकमा २६२ सांसद सहभागी थिए ।
प्रधानमन्त्रीलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरुले साथ दिएका थिए ।
प्रधानमन्त्रीको विपक्षमा नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी उभिएका थिए ।
गएको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए । त्यतिबेला २६८ सांसदको विश्वासको मत प्राप्त गरेका थिए ।
तर, राष्ट्रपति निर्वाचनमा गठबन्धन फेरिँदा एमाले र राप्रपा सरकारबाट बाहिरएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले दोस्रोपटक विश्वासको मत लिएका हुन् ।
पहिलोपटक विश्वासको मत लिँदा कांग्रेस, एकीकृत समाजवादीसहितका दल पक्षमा मतदान गरेर प्रतिपक्षमा बसेका थिए ।