
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने आधार र कारण नदेखिएको बताएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा उनले एमालेले मात्रै नभएर अरु दलले पनि विश्वासको मत दिने आधार र कारण नभएको बताए ।
“जसरी उहाँले विश्वासको मत मागिरहनुभएको छ । उहाँलाई विश्वासको मत दिन कुनै आधार र कारण देखिएन । एमालेले मात्र होइन् सिंगो सदन विपक्षमा दृढतापूर्वक उभियोस्,” पौडेलले भने ।
पौडेलले चुनावी नतिजापछि आफूहरू प्रतिपक्षको भूमिकामा रहने तयारीमा रहेको बताए । तर, तत्कालिन गठबन्धनले सरकार दिन नसकेपछि प्रचण्डले एमालेसहितका दलसँग समर्थन मागेपछि ससर्त समर्थन दिएको बताए ।
उनले प्रचण्डलाई त्यतिबेला निःसन्देह जनता, राष्ट्रियता लोकतन्त्र र संविधानको पक्षमा उभिनुपर्ने सर्त राखेर समर्थन गरेको बताए । त्यस्तै अर्थतन्त्र लगायतका विषयहरू सुधार्ने गरी न्यूनतम साझा कार्यक्रम बनाइएको बताए ।
तर, प्रधानमन्त्रीले पछि पुरानै गठबन्धनमा फर्किएको उनको भनाइ छ । पौडेलले पुरानै गठबन्धनमा फर्किनका लागि पुस १० गते किन सहमति गर्न तयार भएको भन्दै प्रश्न गरे ।
“प्रधामन्त्रीलाई सोध्न चाहन्छु । के त्यस्तो कारण पर्यो । त्यो सहयात्राबाट यो सहयात्रामा फर्किनुपर्यो ? यही सहयात्रामा जानु थियो भने पुस १० गते किन त्यो सहमतिमा पुग्नुपर्यो ? हिजो सरकारको नेतृत्व गर्न, प्रधानमन्त्री बन्न एमाले चाहिने । दुई महिना पनि नपुग्दै.. ” पौडेलले भने, “प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गर्न साथै पुरानै गठबन्धनमा फर्किनुहुन्थ्यो भन्ने घटनाक्रमले पुष्टि गर्छ ।”