पोखरा । त्रिभुवन विश्वविद्यालयले प्रकाशित गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन कार्यतालिका अनुसार आज पोखरामा पनि मतदान हुनुपथ्र्यो । तर, अनेकन विवाद र अदालतको आदेशका कारण विद्यार्थी चाप उच्च रहेको पृथ्वीनारायण क्याम्पस (पीएन) सुनसान छ ।
निर्वाचनका लागि संगठन दर्ताका दिनसम्म धुमधामले चुनावमा होमिएका विद्यार्थी त्यसपछि निस्किएको विवाद र तालाबन्दी, अदालतमा रिट पर्नु जस्ता कारणले सुस्ताए । विद्यार्थीको फोन नम्बरसहितको विवरण लिक गरेको, संगठनको नाम निर्वाचन समितिले मनपरि रुपमा फेरिदिएको विषयले निर्वाचन समितिको कार्यालयमा तालबन्दी हुन पुग्यो ।
विद्यार्थीहरुले नै अदालतमा रिटसमेत दायर गरे । उच्च अदालत पोखराले चैत २ गतेसम्म चुनावी प्रक्रिया अगाडि नबढाउन अन्तरकालीन आदेश जारी गरेपछि निर्वाचन नै नहुने अवस्था बढ्यो । पीएनमा चुनाव हुन्छ कि हुँदैन भन्ने विषयमा अहिलेसम्म अन्योल नै छ ।
पीएनमा चुनाव गराउने निर्वाचन समितिका पदाधिकारीले राजीनामा दिएका छन् ।
पीएनजस्तै पोखरकै नर्सिङ क्याम्पसको चुनाव पनि अनिश्चित छ । त्यहाँ पनि उच्च अदालतले नै निर्वाचनको काम कारबाही अगाडि बढाउन रोक लगाएको छ । मनोयन दर्ता भइसकेर चुनावी प्रक्रिया अघि बढे पनि नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अनेरास्ववियुका सभापति र कोषाध्यक्षको उमेदवारी खारेज हुनुपर्ने भन्दै अदालतमा रिट दायर गरेको थियो ।
अनेरास्ववियुबाट सभापतिका उमेदवार अञ्जना अधिकारी र कोषाध्यक्षका उमेदवार दिपिका धिताल सरकारी जागिरे रहेका कारण स्ववियु चुनावको उमेदवार हुन नसक्ने भन्दै रिट परेको थियो । उक्त रिटउपर उच्चले विपक्षीका नाममा अन्तरिम आदेश जारी गर्दै स्ववियु निर्वाचन नगर्न, नगराउन भनेको थियो ।
संस्कृत विश्वविद्यालयअन्तर्गतको विन्दुवासिनी संस्कृत विद्यापीठ क्याम्पसमा पनि स्ववियु निर्वाचनको मिति चैत ५ मै तोकिएको थियो । जसको फागुन २८ गते उमेदवारी दर्ता गर्न कार्यसूची थियो । तर, दुई विद्यार्थी संगठनले मुख्य प्रवेशद्वार तालाबन्दी गरेपछि उमेदवारी दर्ता हुन सकेन ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको निर्देशिका र परिचयपत्रको विषयमा आपत्ति जनाउँदै अनेरास्ववियु र अखिल (क्रान्तिकारी) क्याम्पस इकाई कमिटीले ताला लगाएपछि स्ववियु निर्वाचन अनिश्चित बन्यो ।
जनप्रिय बहुमुखी क्याम्पसमा फागुन ५ गते विद्यार्थीहरुले तालाबन्दी गरेपछि निर्वाचनका कुनै पनि प्रक्रिया अगाडि बढ्न सकेन । उक्त ताला फागुन ८ गते खुलेपछि पुनः ९ गते दोस्रोपटक तालाबन्दी भयो । तालाबन्दीपछि बसेको सर्वदलीय बैठकले पनि त्यो समाधान गर्न नसकेपछि त्रिविको कार्यतालिकाअनुसार निर्वाचन भएन ।
वन विज्ञान क्याम्पसमा पनि विद्यार्थी संगठनले तालाबन्दी गरेपछि स्ववियु निर्वाचन हुन सकेन । नेविसंघ र अखिल क्रान्तिकारीले भर्नासम्बन्धी विवाद हुँदा स्ववियु निर्वाचन प्रक्रिया प्रभावित भयो । जसले गर्दा चैत ५ गते हुने भनिएको स्ववियु निर्वाचन हुन सकेन ।
पोखराकै अर्को पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा भने अदालती आदेश थिएन । तर, निर्वाचनमा भाग लिएका विद्यार्थी संगठनभित्रैबाट अर्को समूहको अवरोधका कारण यहाँ पनि चुनाव हुन सकेन । यो क्याम्पसमा नेविसंघले पनि चुनावमा भाग लिएको छ । तर, नेविसंघकै अर्को समूह भने असन्तुष्ट भएका कारण निर्वाचन बिथोलिन पुगेको हो ।
असन्तुष्ट समूहले फागुन २९ गते क्याम्पस प्रशासन तथा स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेका थिए । यथास्थितिमा चुनाव नगर्न भन्दै विद्यार्थी नै आमरण अनसनसमेत बसेका थिए ।
क्याम्पसले मनोनयनमा एकलौटी गरेको आरोप लगाउँदै नेविसंघ क्याम्पस इकाइ समितिका तीनजना उपसभापतिले पदबाट राजीनामा दिँदै तालाबन्दी गरेका थिए । विद्यार्थीहरुको माग सम्बोधन गर्नको लागि बैठक पनि बस्यो । तर, सहमति नभएपछि यहाँ पनि चुनाव हुन सकेन ।