
बुटवल । २२औँ संस्करणको तिलोत्तमा गोल्डकपको पहिलो खेलमा सुदूरपश्चिम–११ विजयी भएको छ । आजदेखि बुटवलमा सुरु भएको गोल्डकपमा घरेलु टिम रुपन्देही–११ लाई ३–१ ले पराजित गर्दै सुदूरपश्चिम–११ सेमिफाइनलमा प्रवेश गरेको छ ।
सुदूरपश्चिम–११ का फाग्लुराम थारुको दुई गोल गरेका थिए भने सोम्य हार्दिकले एक गोल गरेका थिए भने रुपन्देही–११ का फोडे फोफेनाले सान्त्वना गोल गरेका थिए । उनले इन्जुरी समयमा गोल फर्काएका थिए ।
रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा सुरु भएको गोल्डकको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका थिए ।
दुई विभागीयसहित आठ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ । गोल्डकपको उपविजेताले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।
सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, डिफेन्स र प्रशिक्षकले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।
यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई पनि ११ हजार १११ रुपैयाँ पुरस्कार प्रदान गरिने रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले जानकारी दिए ।