
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बेपत्ता पारिएका व्यक्ति र सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक कुनै एक राजनीतिक दलको मात्रै विषयवस्तु नरहेको बताएका छन् ।
शनिबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय दलका प्रमुख सचेतक र सचेतकहरुसँग गरेको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बैठकमा बेपत्ता पारिएका व्यक्ति र सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक कुनै एक राजनीतिक दलको मात्रै नभएर राष्ट्रिय विषय भएकाले सबै राजनीतिक दलहरु मिलेर अघि बढाउन आवश्यक रहेको बताए ।
बैठकमा संसद्लाई बढीभन्दा बढी बिजनेस दिनुपर्ने कुरामा छलफल भएको बताउँदै उनले आइतबार बस्ने संसद्को बैठकमा बेपत्ता, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक, संवैधानिक परिषद्को कार्यविधिसम्बन्धी विधेयक प्रश्तुत हुने बताए ।
“संसद्लाई बढीभन्दा बढी बिजनेस दिनुपर्यो भन्ने कुरा भएको छ । भोलिको संसद्मा केही महत्वपूर्ण विधेयक आउँछन्, त्यसलाई अघि बढाउनुपर्छ । व्यक्ति बेपत्ता, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक अघि बढ्दै छ,” उनले भने, “संवैधानिक परिषद्को कार्यविधिसम्बन्धी विधेयक अघि बढ्दै छ, प्रतिनिधिसभा नियमावलीलाई सैद्धान्तिक छलफल गरी संशोधन आह्वान गर्नेकुरा भएको छ ।”
प्रमुख सचेतक लेखकले संविधानले नै गठबन्धनको संस्कृतिलाई नै अघि बढाउनुपर्ने कुरामा जोड दिएकाले सोहीअनुसार गठबन्धन अघि बढ्ने बताए । उनले गठबन्धनको अर्को कुनै विकल्प नरहेको जिकिर गरे ।