site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मन बिझाएपछि जन्मिएको ‘आतोओडा’
Tiktok banner adTiktok banner ad

उपन्यासकार जानुका खतिवडाको पछिल्लो उपन्यास ‘आतोओडा’ केही समयअघि बजारमा आएको छ । यसको चर्चा साहित्यिकवृत्तमा चल्दो छ । अलिक फरक नामको खतिवडाको यो पाँचौँ साहित्यिक कृति हो । उपन्यासकै रूपमा भने यो तेस्रो पुस्तक भएको छ, जानुकाको । यस उपन्यासबाट आफूले सकारात्मक पाठकीय सद्भाव पाइरहेको उनी बताउँछिन् ।

जानुकाको यस उपन्यासले सन्थाल जातिको सांस्कृतिक, आर्थिक, सामाजिक पृष्ठभूमिलाई समेटेको छ । र, यही विषयले आम पाठकको ध्यान खिचेको उनको भनाइ छ ।

उनका अनुसार ‘आतोओडा’ले देशको ग्रामीण परिवेश, राजनीतिक परिवर्तन र त्यसले पारेको प्रभावलाई समेट्ने कोसिस गरेको छ । यसअर्थमा यसले नेपालको पूर्वी तराईको कथा बोलेको छ भन्दा हुन्छ । मान्छेको जीवनका अनेक आयामलाई समेटेर यसको कथानकमा जीवन्तता भर्ने प्रयास गरिएको जानुका बताउँछिन् ।

“एउटा पिछडावर्ग र सीमान्तकृत जातिको आवाज बोल्न सकेकोमा सन्तोषको अनुभूति भएको छ,” उनी भन्छिन्, “उपन्यासको विषयवस्तुले पाठकवर्गलाई नेपालरूपी फूलबारीको एउटा सुन्दर फूलका बारेमा जानकारी दिने प्रयास गरेको छ । जो उचित मलजल र हेरचाहको अभावमा ओइलाउने अवस्थामा पुगेको छ ।”

उनका अनुसार ‘आतोओडा’ लेखनमा सन्थाल जातिको अवस्था नै प्रेरणाको स्रोत बन्यो । यो जातिको पीडा, बाध्यता र आँसुलाई कसैले देखेनन् भन्ने तीतो अनुभूतिले लेखकको मन बिझाएपछि नै उपन्यासको कथावस्तु जन्मिएको हो ।

जानुका भन्छिन्, “त्यही सामाजिक यथार्थ छर्लंग देखाउनु नै यो उपन्यासको अभीष्ट हो । यो अवस्थासँग म सानैदेखि परिचित भए पनि यसको अन्तर्वस्तुभित्रै पसेर बुझ्ने मौका मैले ठाकुर खतिवडा दाजुको एमएको शोधपत्रमा पाएँ । जसले मलाई यो उपन्यासको लेखन, यसमा प्रयुक्त विषयवस्तु र पात्रहरूसँग प्रत्यक्ष रूपमा भिज्न सहयोग गर्यो ।”

कृति अल्पसंख्यक र सीमान्तकृत जातिका बारेमा लेखिएकोले यथार्थसँग परिचित हुन र तिनका वास्तविकतालाई भित्रै पसेर पर्गेल्न धेरै कठिन भएको उपन्यासकार सुनाउँछिन् । एकपटक भेटेको पात्र अर्कोपटक नभेटिने, भेटिएकाहरूले पनि आफ्ना वास्तविकता लुकाउने र कतिपय विषयमा बोल्नै नचाहने अवस्थाले कठिनाइ भएको थियो ।

यो उपन्यास नेपालको सांस्कृतिक विविधताको सुन्दरतालाई जोगाउने एउटा प्रयास पनि भएको जानुका बताउँछिन् । ‘आतोओडा’मा पाठकले माटोको सुवासका साथै मान्छेको जीवनका विविध रङहरूलाई नजिकबाट अनुभव गर्न पाउने उनको कथन छ ।

सीमित परिवेश र भूगोलमा रहेको एउटा जाति, भाषा र संस्कृतिलाई यस कृतिले बृहत् रूपमा प्रस्तुत गरेको छ । जानुका भन्छिन्, “उपन्यास लहडमा लेखिने विषय होइन जस्तो लाग्छ, मलाई । उपन्यासले यसमा चित्रण गरिएको समाज र अवस्थाका बारेमा यथार्थ बोल्नुपर्छ । यो लहड वा रहरले मात्र लेखिएको होइन । यस उपन्यासले बोकेको विषयले पनि यसलाई भीडभन्दा पर अलग स्थानमा राख्छ जस्तो लाग्छ, मलाई ।”
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १२:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro