काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आर्टेमिस मिसनअन्तर्गत चन्द्रमामा जाने अन्तरिक्ष यात्रीका लागि स्पेससुट सार्वजनिक गरेको छ । कालो, सुन्तला र निलो रंग समेटिएको नयाँ स्पेससुट सार्वजनिक गरेको हो ।
अन्तरिक्ष यात्रीको यो नयाँ ड्रेससले अपोलो मिसनअन्तर्गत चन्द्रमामा गएका नील आर्मस्ट्रङ र अन्य अन्तरिक्ष यात्रीले लगाएको ठूलो ड्रेस अथवा स्पेससुटलाई प्रतिस्थापन गर्नेछ ।
टेक्सासको ह्युस्टनस्थित एक्जिओम स्पेसले एक्जिओम एक्सट्राभेहिकुलर मोबिलिटी युनिट अथवा एएक्सईएमूको रुपमा ब्रान्डिङ गर्दै यो नयाँ प्रोटोटाइप सार्वजनिक गरेको हो ।
यो स्पेससुट एप्पल टिभी प्लसको चन्द्रमासम्बन्धी सिरिज फर अल म्यानकाइन्डका पोशाक डिजाइनर एस्टर मार्किससँगको सहकार्यमा बनाइएको एक्जिओमले जनाएको छ ।
यो नयाँ ड्रेस अन्तरिक्षयात्रीहरूलाई थप सहजता प्रदान गर्ने इन्जिनियरहरूको भनाइ छ । यस्तै, खुकुलो घाँटी चन्द्रमाको अध्याँरो, छाया भएको क्रेटरहरूमा भिजिबिलीटीमा मद्दत पुर्याउने विश्वास गरिएको छ ।

अन्तरिक्ष यात्रीले लगाउने यो ड्रेस ९० प्रतिशत अमेरिकी महिला र पुरुषले प्रयोेग गर्न मिल्ने नासाले जनाएको छ, पुरानो स्पेससुट यो किसिमको थिएन । सम्पूर्ण डिजाइन र क्षमतासहित यो सुटको अन्तिम स्वरुप भने अहिले सार्वजनिक नगरिएको एक्जिओमले जनाएको छ ।
आर्टेमिस मिसन अन्तर्गतको मानवरहित मिसन आर्टेमिस–१ गत नोभेम्बरमा सफलतापूर्वक प्रक्षेपण भइसकेको छ ।सन् १९६९ को जुलाइ २० मा अपोलो ११ मिसनमार्फत् पहिलो पटक बज अल्ड्रिन र नील आर्मस्ट्रङले चन्द्रमामा पाइला टेकेको करिब ५० वर्षपछि आर्टेमिसन मिसन फेरि मानिसलाई चन्द्रमामा उतार्न नासाले अघि सारेको हो ।
ग्रीक म्याथोलोजीमा अपोलो र आर्टेमिस जुम्ल्याहा भगवान मानिने बहिनी हुन् । सन् १९६९ देखि सन् १९७२ सम्म ६ वटा अपोलो मिसनअन्तर्गत १२ अन्तरिक्ष यात्री चन्द्रमामा पुगेका थिए ।
सन् १९६० र ७० को दशकमा मानिसलाई अन्तरिक्षमा प्रक्षेपण गर्ने प्रक्षेपण प्रणाली स्यार्टन भीपछि नासाले अर्काे ठूलो एसएलएस प्रक्षेपण प्रणाली निर्माण गरेको छ ।
अन्तरिक्ष यात्री बस्ने ओरियन स्पेसक्राफ्ट र त्यसलाई अन्तरिक्षमा प्रक्षेपण गर्ने एसएलएसको निमार्णमा नासाले करिब ३७ अर्ब अमेरिकी डलर खर्चेको छ भने यो बनाउन १० वर्ष भन्दा बढी समय लागेको थियो ।
आर्टेमिस मिसनको दोस्रोे चरणअन्तर्गत चार अन्तरिक्ष यात्रीलाई चन्द्रमामा फन्को लगाएर पृथ्वीमा फिर्ता ल्याउने आर्टेमिस–२ मिसन सन् २०२४ को नाभेम्बरका लागि तोकिएको छ । आउँदो महिना नासाले ती चार अन्तरिक्षयात्रीको नाम सार्वजनिक गर्ने सम्भावना छ ।