राजनीति दलका कार्यकर्ताले सिक्ने मूलतः आफ्नै नेतालाई हेरेर हो । परन्तु, अहिले राजनीतिमा सक्रिय अधिकांश शीर्ष नेताहरूको वचन र व्यवहार भने अपसंस्कारको पुञ्ज देखिएको छ ।
आफ्नो स्वार्थमा अलिकति तलमाथि हुनेबित्तिकै समकक्षी नेतालाई सार्वजनिकरूपमै छारस्ट गर्छन् । एकैछिन अगाडिका सहयात्रीमाथि आपत्तिजनक आरोप लगाउन सुन्नेले समेत लाज मान्ने गाली गर्न पनि हिचकिचाउँदैनन् ।
नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद ओलीका केही साता यताका अभिव्यक्ति यसको ज्वलन्त उदाहरण हो । अहिले ओली शब्दकोशमा भेटिने जति अपशब्द प्रधानमन्त्री पुष्पकमल दाहालमाथि प्रयोग गर्छन् ।
यिनै ओलीले दाहाललाई हतार हतार बोलाएर प्रधानमन्त्री हुन आवश्यक बहुमत जुटाइदिएका थिए । त्यतिबेला उनले दाहालको ‘हिंसाचार’ र अरू सबै खोट सायद देखेकै रहेनछन् कि?
राष्ट्रपतिको चुनावमा दाहालले ओली नेतृत्वको गठबन्धन त्यागेर नेपाली कांग्रेसका उमेदवारलाई सघाए । अनिमात्र प्रधानमन्त्री दाहालका सबै ऐबहरू सम्झेर पूर्वप्रधानमन्त्री ओलीले पोल खोल्न थाले ।
यसभन्दा पहिले पनि दाहालले अध्यक्ष ओली वा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पटकपटक ‘धोका’ दिएकै हुन् । अहिले पनि उनी ओलीसँग मिल्दैनन् भन्न कसैले सक्छ?
अध्यक्ष ओलीले ‘दसटाउके रावण’ भनेकामध्ये कांग्रेस र नेकपा (एकीकृत समाजवादी)बाहेकका दलहरू एमालेसँगको गठबन्धनमा पनि थिए । एमालेसँग मिले ‘राम’ र नमिले ‘रावण’ भन्नु फुटानीमात्र हो ।
नेताहरूबाट छुद्र वचन र असहिष्णु अभ्यासमात्र देखेका कार्यकर्ताले प्रतिस्पर्धी दलका कार्यकर्तासँग मात्र होइन आफ्नै दलका साथीहरूसँग पनि त्यस्तै व्यवहार गर्छन् । विद्यार्थीको चुनावमा समेत त्यही प्रतिध्वनित हुन्छ ।
अर्को दलका नेताले धोका दिएको र छारस्ट गरेको देखेसुनेर दीक्षित कार्यकर्ताले सिक्ने त त्यही हो । निजी स्वार्थका लागि अरूलाई धोका दिएको देखेपछि आफ्नो पार्टीका नेतालाई किन नदिने ?
फलस्वरूप, अहिले अपशब्द र बेइमानीको अपसंस्कारले नेपालको राजनीतिमा जरो नै गाडेको छ । नेताजस्तै राजनीतिक दलका अधिकांश कार्यकर्ता ‘हाताहाती’ लाभ नपाउनेबित्तिकै कित्ता बदल्न बेरै लगाउँदैनन् ।
राजनीतिलाई बदनाम गराउने मूल कारण अहिलेका कथित नेताहरूको बोली र व्यवहार नै हो । राजनीतिक दलका कार्यकर्ताले अब नेताको सिको नगरी आफ्नै विवेक प्रयोग गरेमात्र देशमा राजनीतिक संस्कारको विकास हुनेछ ।