site stats
अर्थ व्यवसाय
त्रासमा बैंक : ‘रिकभरि’का कर्मचारीले माग्दैछन् धमाधम सरुवा 

काठमाडौं । बैंकिङ क्षेत्रमा पछिल्लो समय बढेको अराजकताले त्रासको वातावरण सिर्जना भएको छ । 

केही व्यक्तिले संगठित रुपमा बैंकको ब्याज तथा किस्ता नतिर्ने तथा बैंकका कर्मचारीलाई अभद्र व्यवहार गर्ने क्रमले कर्मचारीमा त्रासको वातावरण देखिएको हो । 

बिहीबार नेपाल बैकर्स संघको टोलीले गृहसचिव र नेपाल प्रहरीका प्रमुखसँग समेत भेटेर सुरक्षा माग गरेको थियो । 

Himalayan Bank
Dabur nepal
Agni Group

नेपाल बैकर्स संघका उपाध्यक्ष सन्तोष कोइराला बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीले असुरक्षित महसुस गरिरहेको बताउँछन् । 

“वित्तीय क्षेत्र संवेदनशील मानिन्छ,” कोइरालाले भने, “कर्मचारीहरु अहिले फिल्डमा जान नै नमान्ने स्थिति उत्पन्न भएको छ ।”

Global bank

झापामा मेडिकल कलेज चलाउने विवादित व्यापारी दुर्गा प्रसाईले ऋण नतिर्ने र बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्ने सार्वजनिक घोषणा गरेका थिए । 

पछिल्लो महिना केही व्यवसायी बैंकको ऋण तिर्न नसकेर आत्महत्या गरेको घटना बाहिरिएपछि बैंकका कर्मचारी झनै त्रसित बनेका हुन् । 

धनगढीमा व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालयमा पुगेर ‘नो डिपोजिट’अभियान सञ्चालन गरेका छन् । 

बैंकरहरुका अनुसार अहिले ‘रिकभरि’का कर्मचारीले बढी दबाब महसुस गरेका छन् ।  व्यवसाय बिग्रेको कारण अहिले बैंक तथा वित्तीय संस्थामा ऋणको किस्ता र ब्याज नियमित छैन । 

नियमित रुपमा ब्याज तथा किस्ता नबुझाउने ऋणीलाई बैंकको रिकभरी विभागका कर्मचारीले फोन गर्ने गर्छन् । 

“समस्यामा पर्ने व्यवसायीभन्दा पनि बढी नियतबस ऋण नतिर्नेको समूहले बजारमा अराजक गतिविधि गर्ने गरेको देखिएको छ,” एक बैंकका रिकभरी विभागमा कार्यरत कर्मचारीले भने, “हाम्रो बैंकमा नै केही साथीहरुले रिकभरी विभागबाट सरुवा मागेका छन्, दबाब बढेमा जागिर नै छाड्नुपर्ने स्थिति छ ।” 

रिकभरी विभागमा कर्मचारी जान नखोज्ने र भएकाले अर्को विभागमा सरुवा माग्नेहरु बढेको बैंकरहरु बताउँछन् ।

यसले बैंकिङ क्षेत्रलाई थप जोखिमा पार्न सक्ने बैंकरहरुको टिप्पणी छ । अझ लघुवित्तका कर्मचारी ऋण उठाउन गाउँमा पुग्नुपर्छ ।

मोबाइलबाट त्रसित हुने गरी भिडियो बनाउने र हातपात गर्नेसम्मका घटना लघुवित्तका कर्मचारीले भोगेका छन् । 

बैंकका उच्च व्यवस्थापनले रिकभरीका कर्मचारीलाई ऋण उठाउन दबाब दिने अर्कोतर्फ ऋणी सम्पर्कमा नआउने कर्मचारीको सुरक्षामा नै खतरा देखिएको भन्दै संघले गृह सचिव र प्रहरी महानिरीक्षक भेट गरेको हो ।

बिहीबार बैकर्स संघसँगको बैठकमा गृहसचिव विनोदप्रकाश सिंह र धिरजप्रताप सिंहले बैंकका कर्मचारीलाई सुरक्षा प्रदान गर्ने कर्मचारीको सुरक्षामा खलक पु¥याउने समूह र व्यक्तिलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

बैंकका कर्मचारी विरुद्ध आन्दोलन हुन थालेपछि बैंक तथा वित्तीय संस्थाका छाता संगठनले सयुक्त विज्ञप्ति निकालेर ऋण तिनुपर्ने कानुनी दायित्व भएको भन्दै वित्तीय क्षेत्रका कर्मचारीलाई त्रासको वातावरण नबनाउन अनुरोध गरेको थियो । 

नेपाल बैकर्स संघका अध्यक्ष सुनील केसी ब्याजदरको विषय सडकबाट समाधान नहुँने बताउँछन् । 

“तथ्यांकले ब्याजदर घट्ने देखाएको छ,” केसीले बाह्रखरीसँग भने, “ब्याजदर घट्ने क्रममा रहेको हुँदा सडकमा हुने आन्दोलन अराजक गतिविधिले वातावरण बिथोल्ने सम्भावना हुन्छ ।”

व्यावसायिक गतिविधि घटेको कारण पुस मसान्तको तथ्यांकले वाणिज्य बैंकको खराब कर्जा अनुपात(एनपीएल) बढेको देखाएको छ । 

पुस मसान्तमा औसतमा बैंकहरुको एनपीएल २.३५ प्रतिशत थियो । गतवर्ष पुस मसान्तमा १.११ प्रतिशत एनपीएल थियो । 

रिकभरीको लागि बैंकका कर्मचारीले काम नै गर्न नसक्ने भएकाले समेत जागिर छाड्ने अवस्थामा पुगेको हुँदा चैत मसान्तको वित्तीय विवरण निकाल्दा एनपीएल अझै बढ्न सक्छ । 

गतवर्षको तुलनामा अहिले व्यवसायिक गतिविधि निकै कमजोर छ । 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ०.८ प्रतिशतमात्र आर्थिक वृद्धिदर भएको तथ्यांक केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको थियो । 

आर्थिक गतिविधि घटेको कारण ५५ वर्षमा राजस्व गतवर्षको तुलनामा घटेको छ ।  यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण उठ्ने सम्भावना छैन । 


“न्यूरोडको समेत जग्गा बिक्री गर्न बैंकले सकेको अवस्था छैन,” एक बैंकका कर्मचारीले भने, “व्यवसाय बिग्रेपछि बैंकलाईसमेत असर गर्छ । यस्तो अवस्थामा बैंकलाई मात्र गाली गरेर समाधान हुने छैन ।”

बैंक तथा वित्तीय संस्थामा ५० हजार संख्यामा कर्मचारी रहेका छन् । 

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १३:५६
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय