site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

विषादी मिसिएका खानेकुरा रोगको प्रमुख कारण भए पनि नेपाल सरकार खाद्य पदार्थको नियमनप्रति उदासीन रहिआएको छ । चाडबाडका बेला पसलहरूमा गरिने छड्के जाँचबाहेक बजार अनुगमन हुँदैन भने उत्पादन र आयातमा पनि निगरानी राखिँदैन ।

भारतबाट आयात गरिने तरकारीमा विषादी परीक्षण गर्न सरकारले देखाएको अनिच्छा यसको पछिल्लो उदाहरण हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारीको मापदण्ड तोकी भन्सारमै परिक्षण गर्न गरेको प्रस्ताव मन्त्रिपरिषद्मा अलपत्र पर्नुले सरकारी अनिच्छाको पुष्टि  भएको छ । 

विषादीको परीक्षण नगरिँदा भारतबाट विषादी युक्त तरकारी निर्बाध नेपालको बजारमा भित्रिएको छ । विडम्बना, अर्कातिर नेपाली किसानले उत्पादन गरेको तरकारी उचित मूल्यमा विक्री नहुँदा सडकमा फालेर नष्ट गर्नुपर्ने अवस्था उत्पन्न भएको छ । 

जनस्वास्थ्यका दृष्टिबाट हेर्दा सरकारले बजारमा कडा निगरानी गरेर विषाक्त खानेकुरा विक्री वितरण हुन दिनु हुँदैन । स्थानीय उत्पादनमा समेत निगरानी र नियमन गर्नुपर्नेमा आयात हुने तरकारीको परीक्षण गर्नसमेत आलटाल गर्नु जनस्वास्थ्यमा गरिएको खेलाँची हो ।

भारतसँग सम्बन्ध बिग्रन्छ भन्ने ‘डेड अक्कली’ तर्क मानेर भारतबाट आयात गरिने तरकारीमा विषादी परीक्षण गर्न सरकार हच्केको देखियो । परन्तु, खाद्य पदार्थमा विषादीको मात्रा परीक्षण गर्दा भारत सरकारलाई आपत्ति हुनुपर्ने कुनै कारण देखिँदैन । 

नेपालमा आयात गरिने तरकारीलगायत खाद्य पदार्थ मानव स्वास्थ्यका लागि हानिकारक हुनु हुँदैन । भारत सरकारका कुनै अधिकारीले पनि सम्भवतः यसमा आपत्ति गर्दैनन् । गर्न पनि मिल्दैन । यसैले नेपाल सरकारका अधिकारीहरू नै ‘मनको बाघ’सँग तर्सेको हुनसक्छ ।

भारतसँग सम्बन्ध बिग्रन दिनु हुँदैन । भारतकै बजारमा पनि विषाक्त तरकारी बेच्ने अनुमति सरकारले दिँदैन । यसैले पनि नेपाल आयात गरिने तरकारीमा भन्सार विन्दुमै विषादी परीक्षण गर्नु अर्घेल्याइँ मानिन सक्तैन ।

नेपाल सरकारले कूटनीतिक माध्यमबाट भारत सरकारलाई यसको जानकारी दिएर तरकारीको विषादी परीक्षणका लागि सहयोग माग्नु उचित र जनस्वास्थ्य रक्षाका दृष्टिले पनि सही कदम हुनेछ । नेपालमा पूर्वाधार तयार नभए त्यतिन्जेलसम्म भारतमै गरिएको परीक्षण र मापदण्डलाई मान्यता दिए हुन्छ ।  

बजारमा विक्रीका लागि राख्नु पूर्व भारतीयमात्र होइन नेपाली उत्पादनको पनि विषादी परीक्षण अनिवार्य हुनुपर्छ । त्यस अवस्थामा भारतीय पक्षले पनि अन्यथा ठान्न मिल्दैन । स्थानीय दूतावास वा तल्लो तहबाट गुनासो गरिएका उच्चस्तरमै उठाएर पनि भारतीय पक्षलाई आश्वस्त बनाउन सक्नुपर्छ । जनस्वास्थ्यका विषयमा यसरी आलटाल गर्नु जनताविरुद्धको अपराध हो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro