
काठमाडौं । राष्ट्रपतिमा नेकपा एमालेका तर्फबाट उमेदवार बनाइएका पूर्वसभामुख सुवास नेम्वाङको उमेदवारी दर्ता भएको छ ।
संसद भवनसँगै रहेको राष्ट्रपति निर्वाचन कार्यालयमा उमेदवारी दर्ता भएको हो ।
अध्यक्ष केपी शर्मा ओलीसहितका पाँच सांसद प्रस्तावक बसेका छन् भने अन्य पाँच सांसद नेम्वाङको उमेदवारीको प्रस्तावमा समर्थक बसेका छन् ।
राष्ट्रपति पदमा नेकपा एमाले उमेदवार नेम्बाङको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन् भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन् ।
आज बिहान १० बजेदेखि अपराह्न ३ बजेभित्र उमेदवारी दर्ताको समय रहेको छ । निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ । मतदानका लागि दुईवटा मतदान केन्द्र रहनेछन् ।
एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् । अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी रहेको निर्वाचन आयोगको निर्वाचन शाखाका ऋषिराम भुसालले जानकारी दिए ।
प्रदेशसभाका सदस्य ५५० र संघीय संसदका ३३२ गरी ८८२ मतदाता रहेका छन् ।