
प्रकाशचन्द्र खतिवडा
मसँग
पश्चात्ताप र घृणाका
जुलुसहरू छन्
जिन्दगीका तितामिठा नारा लगाउनलाई
म छड्किरहेछु कसौटीमा
विगत ५९ वर्षदेखि
मेरा बाआमा कथा हाल्नुहुन्छ
०७ साल
०१५ साल
०१७ साल
०२८ साल
०३६ साल
०४५ साल
०४६ साल
०५२ साल
०५८ साल
०६२ साल
०६३ साल
र, ०७२ साल
म सुनी बस्छु एकाग्र भएर
दुःख सुख बाँड्नै नपाई
पात्रो र क्यालेन्डरका
पानाहरू पल्टेर जान्थे
वर्ष वा साल बुढ्यौलीको पदचिह्न छोडेर
मृत्युलाई आत्मसात् गराउँदै
खोसिएर सपनाहरू
नानीहरूको निष्कलंक आखाँहरूबाट
समय अलापविलाप गाइबस्थ्यो अरे !
प्रत्येक साल
शुभकामनाका कथित औपचारिकताहरूमा
मान्छेहरू ङिच्च हाँस्छन् दाँत देखाउँदै
आफ्ना विवशता चपाएर
नयाँ वर्षको थोत्रो क्यालेन्डर पल्टाउँदै
आफ्नै हराएको अनुहार खोज्न ।
उदास अनुहार लिएर बखतबहादुर
बाथले थलिएकी आफ्नै जोईको
कहालीलाग्दो जिन्दगी हेरेर
बिराम निको पार्न नसक्दा
आफैँलाई धिक्र्काछन्
किन हैजा नउठेको ?
किन छेराउटी नचलेको ?
कालले किन बाटो नदेखेको ?
रनमायाहरू पनि कहाँ खुसी छन् र ?
वर्षौं भयो खसमहरू परदेशिएको
छोराछोरी बाटो हेरी बस्छन्
बुढीआमा
दमले थलिएर
दलानमै पसारा परेकी छन्
हरेक साँझ
निर्लज्ज हाँसेर जान्छ
बुढीआमा र छोराछोरीको
हाँसो खोस्दै
सपनाहरू चोरेर ।
म आकुलव्याकुल छु
आमाबाका सपनाहरू पूरा गर्न नसकेर
देश पनि त दुखेर आउँछ
देशलाई कसरी माया गरौँ ?
गरिबी, रोग, भोक र अशिक्षाले पिल्सिएर
मान्छेहरू आक्रान्त छन्
जुगौँदेखि
त्यो गलपासो बनेर अल्झिएको छ
मलाई थाहा छ
मेरो देशका शासकहरू
अधैर्यी र अविवेकी छन्
हाम्रो टाउकोमाथि तरबार झुन्ड्याएर
हामीलाई रैती ठानी
आफ्नै मात्रै दुनो सोझ्याई बस्छन्
सत्तालिप्साको सपना देखेर ।
हामी हरेक साल मारिन्छौँ
शोक पुस्तिकामा नाम उल्लेखै नगरी
न श्रद्धाञ्जली सभा हुन्छ
न समवेदना नै प्रकट गरिन्छ
कति आततायी रहेछ हाम्रो समय ?
बेवारिस
सनाखतहीन लासहरू बटुलेर
म कदापि
नयाँ वर्षको शुभकामना बाँड्न सक्तिनँ
अकालमै मान्छेहरू मारिएको बेला ।
(मोरङ)