site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
हङकङमा वर्किङ भिसा खुला गर्न सरकारले कूटनीतिक पहल गर्छ

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत् सिंह  भण्डारीले हङकङले सन् २००५ देखि रोक लगाएको वर्किङ र घरेलु कामदार भिसा पुनः खुलाउन सरकारीस्तरबाटै कूटनीतिक पहल गर्ने बताएका छन् । 

मन्त्री भण्डारीले सरकारले नयाँ–नयाँ श्रम गन्तव्यको खोजी गरिरहेको बेला हङकङ पनि एक आकर्षक गन्तव्य हुने भएकाले सरकारीस्तरबाटै कूटनीतिक पहल अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

Argakhachi Cement Island Ad

“यसअघि हामीले लगातार पहल गरेकै कारण सीपमा आधारित भिसा खुला भएको छ । वर्किङ र घरेलु महिला कामदारका लागि पनि भिसा खोल्ने भन्ने विषयमा हङकङसँग मात्रै कुरा गरेर हुँदै,” सिंहदरबारस्थित मन्त्रालयमा  गैरआवासीय नेपाली संघकी महिला सचिव राधिका गुरुङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग उनले भने, “बेइजिङसँग पनि कूटनीतिक पहल अघि बढाउनु आवश्यक छ, त्यसका लागि सरकार पनि सचेत छ ।”

यसअघि सन् २०२४ को जुलाईबाट हङकङले दक्ष कामदारलाई सीपमा आधारित भिसा खुला गरेको थियो ।  

भेटमा  महिला सचिव गुरुङले भनिन्, “हाल हङकङमा हाल ३० हजारको हाराहारीमा नेपाली छन्, हावापानीदेखि सुरक्षा र तलवको हिसाबले पनि नेपालीका लागि हङकङ रोजगारीको आकर्षक गन्तव्य मुलुक भएकाले त्यहाँ भिसा खुलाउन तत्काल कूटनीतिक पहल गर्नुपर्छ ।”

हङकङमा घरेलु महिला कामदारको माग अत्याधिक रहे पनि भिसा नपाउँदा गैरकानूनी र अवैधानिक  बाटोबाट महिलाहरू जाने गरेको सचिव गुरुङले बताइन् । 

प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  ०९:४४
प्रतिक्रिया दिनुहोस्