राजनीतिमा अहिले प्रमुख चर्चामा नेपाली कांग्रेस छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारसँग सत्ता पक्षकै बहुमत हुँदाहुदै पनि प्रतिपक्षमा रहेको कांग्रेसले विश्वासको मत दिएपछि देशको राजनीति यसैको वरिपरि घुमिरहेको छ । नेपाली कांग्रेसको यो रणनीति भने आफैँमा जोखिमपूर्ण देखिन्छ । जोखिम यस अर्थमा कि जुन उद्देश्य र लक्ष्य लिएर यो रणनीति अवलम्बन गरिएको छ त्यो प्राप्त हुन्छ त ?
राजनीतिमा यसै भन्न सकिँदैन । विशेषगरी कांग्रेसले राष्ट्रपति पदकै निम्ति यो रणनीति अवलम्बन गरेको देखिन्छ । माओवादी का दाहाल प्रधानमन्त्री, एमालेका सभामुख र एमालेलाई नै राष्ट्रपति पनि भन्ने सातदलीय गठबन्धनको सहमतिबाट कांग्रेस तर्सेको हुनुपर्छ । नेपालमा लोकतन्त्रको मानिने कांग्रेस पछिल्लो समय प्रतिगामीको आरोप लागेका केपी ओलीको अधिनायकवादी राजनीतिक शैलीबाट पनि यसरी झस्केको हुनसक्छ ।
अहिले कम्युनिस्ट पार्टीमध्येका माओवादी र एमाले नै सरकार छन् । अन्य संवैधानिक अङ्ग, राष्ट्रपति र न्यायालयमा समेत कम्युनिस्टको पहुँच र प्रभाव बढ्न सक्ने सम्भावना कांग्रेसले देख्नु पनि आश्चर्य होइन । यस्तो अवस्थामा भोलि लोकतन्त्र नै खतरामा पर्न सक्छ । यो खतरा, नेपालमा कम्युनिस्ट प्रभाव रोक्न नै नेपाली कांग्रेसले दाहालको सरकारलाई विश्वासको मत दिएर पार्टीलाई दाउमा राख्यो । अर्थात्, नेपाली कांग्रेसले जुवा खेल्यो आफैँलाई दाउमा राख्यो ।
जुवाजस्तै राजनीतिमा पनि जालझेल त हुन्छ नै । एमालेका अध्यक्ष केपी ओलीले भनेजस्तै यो ‘ढोक्सा’ भने हैन । ढोक्सामा केही नपरे पनि नोक्सान हुँदैन अलिकति श्रम र केही ऊर्जा खर्च हुनेमात्र हो । तर, कांग्रेसको यो दाउ असफल भए पार्टीको प्रतिष्ठा र गरिमा तथा कांग्रेसको इतिहासमै प्रश्नका रूपमा सधैँ उपस्थित रहनेछ । अझ कांग्रेसले कम्युनिस्टमाथि विश्वास गरेर आफूलाई दाउमा राख्नु कति उचित छ ? इतिहासमा पटकपटक कम्युनिस्टबाट घात बेहोरेको कांग्रेसले यसपटक फेरि घात सहनुपर्दैन भन्न सकिन्छ र?
संसद्का प्रायः सबै दलको विश्वास प्राप्त दाहाल सरकारको राष्ट्रिय सहमतिमै राष्ट्रपति बनाउने विचार पनि संदेहास्पद हुँदैगएको छ । यस्तो अवस्थामा एमालेभित्रका नेतामा कांग्रेसले राष्ट्रपतिमा सहमति नजनाउने र कांग्रेसको उम्मेदवार सत्ता गठबन्धनको सहमतिविपरीत भनेर एमालेले नमान्ने अवस्थामा दाहालले सहमतिको नाममा तेस्रो विकल्प दिए यी दुवै राजनीतिक दल सहमतहुन सक्छन् त ?
कांग्रेसले नदेखेको खतरा यहाँबाट सुरु हुन्छ। दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएर आफैँलाई दाउमा राख्नु अन्य राजनीतिक घटना हेर्दा पनि कांग्रेसका लागि अनुकूल देखिँदैन । प्रधानमन्त्री दाहालको राष्ट्रिय सहमतिको राग सुन्दा राम्रो लाग्छ तर त्यो त्यति नै खतरनाक पनि हुनसक्छ जुन अहिले राजावादीले " मेची महाकाली " अभियानका नाममा सुरु गरेका छन् । त्यसमा तत्कालीन राजा ज्ञानेन्द्रसहित परिवारको उपस्थितिमा "राजा आऊ देश बचाऊ "को नारा घन्काए फागुन ७ को अवसर पारेर । “राजनीतिक दलहरूसँग सहकार्य गर्ने" ज्ञानेन्द्रको अभिव्यक्ति र दाहालको राष्ट्रिय सहमति संयोगमात्रै हो कि नेपालको राजनीतिमा यसले केही अर्थ राख्छ ?
महाभारतमा पाण्डवले द्रौपदीलाई नै जुवामा राखेर पाण्डवको वनवास भएजस्तै यहाँ पनि शकुनी जालमा परेर विश्वासको मत दिएर आफैँलाई दाउमा राख्ने कांग्रेस हारेर भोलि पाण्डवको नियतिमा पुग्न सक्दैन र ?