
काठमाडौं । नाट्यकर्मी महासंघ नेपालको आयोजनामा बालबालिकाहरुको नाट्यचेतना बृद्धि गर्न राष्ट्रिय बाल नाटक मेला २०७९ सुरु भएको छ । मेलाको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मेला आयोजना गरेर महासंघले नेपाली नाट्य क्षेत्रको विकासका लागि उल्लेखनीय कार्य गरेको बताएका छन् । उनले महासंघको आगामी दिनमा आफ सँगै रहने बताए ।
महासंघका अध्यक्ष राजेन्द्र रिमालले बाल नाटकको माध्यमबाट नाट्य गतिविधिलाई चलायमान बनाउने प्रयास भएको बताए । उनले बाल सिकाइको प्रभावकारिता एवम् बाल व्यक्तित्व विकासमा सहयोग पुग्ने बताए । विद्यालयस्तरमा नै बाल नाटकको गतिविधिरुले भविष्यमा कुशल कलाकार र असल र रुचिसम्पन्न दर्शकको पनि निर्माण हुने बताए ।
राष्ट्रिय नाचघरमा एक सातासम्म चल्ने मेलामा ११ वटा नाटक प्रतियोगितात्मक रुपमा मञ्चन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट नाटकलाई नगद एक लाखसहित विभिन्न २० वटा विधामा पुरस्कार दिइनेछ ।
नाटक मेलाको मुख्य निर्णायकका रुपमा वरिष्ठ रंगकर्मी, कवि तथा चलचित्र निर्देशक राजेन्द्र शलभ र निर्णायकहरूमा प्रथम नायिका भुवन चन्द र रंगकर्मी शेखर चापागाईँ छन् ।
कार्यक्रममा चीनको संस्कृति मन्त्रालयको पहलमा स्थापित सिल्क रोड ईन्टरनेशनल लिग अफ थिएटरका संस्थापक सदस्य तथा युनेस्कोकर्मी दीपक सरकारले कार्यक्रम आयोजना गर्नु आफैमा गाह्रो काम भएको बताउँदै बालबालिकाको क्षेत्रमा यस्तो काम हुनु महत्वपूर्ण रहेको बताए । उनले विद्यालयले नाटकलगायत अभौतिक संस्कृति संरक्षणको क्षेत्रमा महत्वपूर्ण काम गर्न सक्ने भन्दै आफूहरू विद्यालयहरुसँग सहकार्य गर्न उत्साहित रहेको बताए ।