
काठमाडौं । मध्यपूर्वका देशमा नेपाली चलचित्र रिलिजका लागि चलचित्र विकास बोर्डले सहयोग गर्ने भएको छ । हरेक शुक्रबार मध्यपूर्वमा नेपाली फिल्म रिलिज गर्न बोर्डले आवश्यक प्राविधिक सहयोग गर्ने भएको हो ।
मध्यपूर्वमा निरन्तर ५० भन्दा बढी स्क्रिनमा नेपाली चलचित्र सेन्सर गरी औपचारिक रुपमा प्रदर्शन गर्न मध्यपूर्वमा नेपाली फिल्मको वितरक कम्पनी नेपफिल्म तयार रहेको बोर्डले जनाएको छ । यसका लागि निर्माता र वितरकसँग नेपफिल्मलाई बोर्डले समन्वय गर्ने भएको छ ।
“मध्यपूर्वमा निरन्तर रिलिज हुने नेपाली फिल्मको इन्कोडिङको लागि बोर्डले नेपफिल्मलाई सहयोग गर्नेछ,” बोर्डले भनेको छ, “मध्यपूर्वमा निरन्तर प्रदर्शन हुने नेपाली फिल्मका लागि बोर्डले प्रचारप्रसारमा सहयोग गर्नेछ ।”
बोर्डले यूएई सरकारको सम्बन्धित सरोकारवाला निकाय ‘मिडिया एण्ड फिल्म कमिशन’सँग नेपाली चलचित्र रिलिजका साथै कला, संस्कृति प्रवद्र्धन गर्न सहकार्य गर्ने पनि बोर्डले स्पष्ट पारेको छ ।
मध्यपूर्वमा नेपाली चलचित्र छायांकनका लागि आवश्यक औपचारिक अनुमति, डकुमेन्टेशन र सहजिकरणका लागि बोर्ड र नेपफिल्मले सहकार्य गर्ने जनाएको बोर्डले यूएईका फिल्मकर्मीले नेपालमा फिल्म छायांकन गर्दा चलचित्र विकास बोर्डले आवश्यक सहयोग गर्ने पनि स्पष्ट पारेको छ ।
बोर्डले संयुक्त अरब इमिरेट्सको आर्थिक सहर दुबईमा आयोजना गरेको चारदिने ‘नेपाल सिनेमा फेस्ट–२०२३’ पछि यी निर्णय गरेको हो । यसलाई बोर्डले उक्त फेष्टिभलको उपलब्धी पनि भएको बताएको छ । यो निर्णयसँगै नेपाली चलचित्रले औपचारिक रूपमा अन्तर्राष्ट्रिय बजारको लागि ढोका खुला गरेको दाबी गरेको छ ।