site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीले राष्ट्रपतिमा ‘माधव कार्ड’ खेलेपछि...
Sarbottam CementSarbottam Cement

काठमाडौं । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आगामी १३ गते उमेदवारी दर्ता हुँदैछ । तर, अहिलेसम्म दलहरुले उमेदवारको टुंगो लगाउन सकेका छैनन् । सरकारको नेतृत्व गरिरहेका माओवादी अध्यक्ष प्रचण्डले नै राष्ट्रपतिमा ‘राष्ट्रिय सहमति’ भनेपछि सत्ता गठबन्धनबाट आफ्नो राष्ट्रपति चुनिनेमा एमाले ढुक्क हुन सकेको छैन । 

केही दिन अघिसम्म कांग्रेस आफ्नो राष्ट्रपति चुनिनेमा ढुक्क जस्तै देखिन्थ्यो । 

तर, ओलीले ‘पार्टीको मान्यता नै नदिने घोषणा गरेका’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नै उमेदवार बनाउने नयाँ कार्ड खेलेपछि राष्ट्रपतिको विषय पेचिलो बन्दै गएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस राष्ट्रपति आफ्नो दलको उमेदवार जिताउने प्रयास रणनीतिक रूपमै लागेको छ । 

उसले सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रसँग सहकार्यमा आफ्नो उमेदवार जिताउने ‘महत्वकांक्षी प्रयास’ गरिरहेको छ । जसको काउन्टरमा नेकपा(एमाले)ले पनि गतिविधि अघि बढाइसकेको छ । 

Global Ime bank

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा(एकीकृत समाजवादी) अध्यक्ष माधव कुमार नेपाल ‘तिक्तता बिर्सिएर संवाद’मा जुटेका छन् । 

आइतबार केही घण्टा ओली–नेपाल  ‘वान अन वान’ गोप्य संवाद भएको सो पार्टीका नेताहरुले दाबी गरेका छन् ।

त्यसअघि नै एमालेले संकेत गरेपछि नेकपा एस र एमाले नेताहरुबीच संवाद चलेको थियो । 

राष्ट्रपति निर्वाचित हुन २६ हजार ३१५ मत चाहिन्छ । प्रदेश र संघीय सांसदको मतभार हिसाब गर्दा कांग्रेससँग १६ हजार २२१ मत मात्र छ ।

एमालेसँग १५ हजार २८१ र माओवादीसँग ७ हजार ७२८ मत छ । कांग्रेसले सत्ताबाहिर रहेका दलहरूको मतले मात्र चुनाव जित्न सक्दैन । 

सत्तामा रहेको माओवादीबाट मत चोर्नैपर्ने बाध्यता उसलाई छ । त्यसैको रणनीतिस्वरूप कांग्रेसले माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिनेमात्र होइन प्रदेशतर्फ पनि माओवादीले उमेदवारी दिएका पदहरूमा कांग्रेसले उमेदवार उठाएको छैन । 

तर, कांग्रसलाई माओवादीको साथले मात्र पुग्दैन । माओवादीसँगै नेकपा (एकीकृत समाजवादी)को मत एकीकृत गर्न सकेमा कांग्रेसलाइ बहुमत पुग्छ । 

तर, उसले जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीसँग पनि विश्वास लिने प्रयास जारी राखेको छ । 

पार्टीको तयारी, दौडधुप र योजनालाई काउन्टर दिनेगरी केपी ओलीले माधव नेपाल कार्ड फालेपछि कांग्रेस केही अन्योलमा देखिएको छ । 

पार्टी प्रवक्ता प्रकाशशरण महत आफूहरू जस्तोसुकै परिस्थितिमा पनि राष्ट्रपति उमेदवार बनाउने र जित्ने तयारीमा लागि परेको तर्क गर्छन् । 

ओली–नेपाल संवाद भए पनि आफूहरुले अघि सार्ने उमेदवार विजयी हुनेमा आफूहरु ढुक्क भएको उनको भनाइ छ ।

“हामीले भनिसकेका छौं, सबैसँग छलफल पनि गरिसकेका छौं कि हामी राष्ट्रपतिमा उमेदवारी दिन्छौं । हामीलाई सहयोग गर्नुहोस् भनेर पटक–पटक कुरा अघि सारेका छौं । सबै ढुक्क हुनुहोस् कांग्रेसले उमेदवारी दिन्छ,” महतले बाह्रखरीसँग भने । 

महतकै जस्तो अभिव्यक्ति पार्टीभित्र इतर समूहका नेता डा. शेखर कोइरालाले पनि दिएका छन् । 

मंगलबार सिन्धुलीमा बोल्दै उनले एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटघाट भएका विषय बाहिर आउँदैमा कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी नदिई बस्ने भन्ने कुरा नआउने स्पष्ट पारे । 

“नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ र त्यो उम्मेदवारले जित्छ । ढुक्क हुनुस्,” उनले भने, “माधव नेपालजी वा अरूको कुरा, ओलीले भेट्नुभयो भन्दैमा हामीले उमेदवार नदिने भन्ने सोच राख्या पनि छैन राख्दा पनि राख्दैनौं ।”

एकल अधिकार लिएका प्रचण्डमा अधिक विश्वास 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि राष्ट्रपतिमा राष्ट्रिय सहमति भनिरहेका छन् । 

सरकार बनाउँदा एमालेलाई राष्ट्रपति दिने सहमति गरेका दाहाल किन राष्ट्रिय सहमतिको पक्षमा उभिए भन्ने सवाल अहिले उठिरहेको छ ।

यसको अर्थ कांग्रेसलाई ‘फेभर’ गर्न खोजेको भन्ने बुझाई कांग्रेस नेतृत्वमा छ । प्रवक्ता महत अहिले प्रचण्डको निर्णय आफूहरु पर्खिएर बसेको बताउँछन् । 

आइतबारको बैठक पश्चात् समीकरण कसरी अघि बढिरहेको छ भन्ने बाह्रखरीको प्रश्नमा उनले आफूहरू माओवादीले निर्णय गरेपछि मात्र उमेदवार छनोटमा जुट्ने योजनामा रहेको सुनाए । 

“उहाँहरुको मिटिङको निर्णय पर्खिरहेका छौं । उताबाट निर्णय जसरी आउँछ उमेदवार त्यसरी नै छनोट हुन्छ,” महतले भने । 

सोमबार बसेको माओवादी बैठकले राष्ट्रपतिको विषयमा निर्णय एकल अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।

प्रचण्डले भन्दै आएको सहमतिको राष्ट्रपतिको आसय के हो त ? भन्नेमा कांग्रेस नेताहरु नै स्पष्ट छैनन् । कांग्रेस नेता डा. शेखर कोइराला माओवादीको भूमिकामा कांग्रेसको हार–जित टिकेको स्वीकार गर्छन् । 

“राष्ट्रपतिको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को प्रमुख भूमिका रहन्छ, हामीले माओवादीका नेताहरूसँग सल्लाह र घनिभूत छलफल गरिरहेका छौँ,” सिन्धुली पुगेर सोमबार शेखरले भने । 

पार्टी प्रमुख सचेतक रमेश लेखक आइतबारको छलफल र सोमबारको माओवादी बैठक पश्चात् वातावरण सकारात्मक रूपमै अघि बढिरहेको बताए । 

माओवादीले राष्ट्रपतिको विषयमा निर्णय गर्ने एकल अधिकार दाहाललाई दिएको भन्दै कांग्रेस त्यसैको प्रतिक्षामा रहेको र संवाद सकारात्मक ढंगबाट अघि बढाइरहेको बताउँछन् ।

“निर्णय गर्ने एकल अधिकार प्रचण्डजीले लिनुभएको छ । संवाद सकारात्मक रूपमा अघि बढिरहेको छ । कुराकानी भइरहेको छन्,” उनले भने ।

कांग्रेसको उमेदवार को ? 

राष्ट्रपतिमा पार्टीबाट बढी चर्चामा नेता रामचन्द्र पौडेलको नाम छ । पौडेल यसका लागि मेहनत पनि गरिरहेका छन् ।

दलका नेताहरुसँगको संवाददेखि प्रधानमन्त्रीसँग पनि उनको निरन्तर संवाद चलिरहेको छ । उत्तिकै मात्रामा उनले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग संवाद गरिरहेका छन् । 

उनलाई राष्ट्रपति बनाउने बचन शेरबहादुर देउवाले दिएका छन् । केही समय अघिसम्म पौडेल कांग्रेसका सर्वसम्मत उमेदवारकैरुपमा देखिस्एका थिए । 

तर, पछिल्लो समय उमेदवार बन्ने दौडमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि देखिएका छन् । 

दुई नेताको चर्चा बढी भए पनि उमेदवार बन्न पार्टीबाटै देउवालाई पनि दबाब जारी छ । युवा महामन्त्रीहरुले प्रधानमन्त्री दाहालले भनेको राष्ट्रिय सहमति देउवाको नाममा हुनसक्ने र त्यसो हुनु उपयुक्त हुने धारणा राख्दै देउवासमक्ष प्रस्ताव समेत गरिसकेका छन् । 

देउवा अन्तिम कार्यकालका लागि सभापति बहाल रहेकाले राष्ट्रप्रमुख जस्तो सम्मानित पदमा गएर पार्टी राजनीतिबाट बिदा लिनु उनका लागि ‘ग्रेसफूल एक्जिट’ हुने उनीहरुको भनाई छ । 

पार्टी महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको औपचारिक तथा अनौपचारिक बैठकमा देउवालाई प्रस्ताव राखिसकेको सार्वजनिक रुपमै बताइरहेका छन् । 

यस्तो परिस्थितिमा देउवाले आफैँ उमेदवार बन्ने विषयमा भने कुनै धारणा सार्वजनिक गरेका छैनन् । 

देउवा,  पौडेल र सिटौलाको चर्चा उमेदवारको रुपमा भए पनि कांग्रेसले राष्ट्रपति पाउने सुनिश्चितता नै नहुँदा कांग्रेस अन्योलमै अघि बढिरहेको छ । 

मंगलबार सुुर्खेत रहेका पार्टी उपसभापति पूर्णबहादुर खड्काले १–२ दिनभित्र बैठक बसेर उमेदवारको टुंगो लगाउने बाह्रखरीलाई जानकारी दिए । 

“राष्ट्रपतिको विषयमा दलहरूसँग हामीले छलफल गरिरहेका छौं । सकारात्मक ढंगबाट कुराकानी भइरहेको छ,” खड्काले बाह्रखरीसँग भने, “हामी १–२ दिनभित्र पार्टीको बैठक बस्दैछौं । सोही बैठकले उमेदवारको नाम फाइनल गर्छौं । सोही बैठकबाट थप रणनीति तय गर्छौं ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC