
काठमाडौं । लोकगायक बद्री पंगेनीले विष्णु खत्रीलाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल नछोड्न आग्रह गरेका छन् । खत्रीले नयाँ संस्था खोल्ने तयारी गरेपछि प्रतिष्ठानका पूर्वअध्यक्ष समेत रहेका पंगेनीले आफैँ लामो समय बसेको संस्था नछोड्न अनुरोध गरेका हुन् ।
उनले खत्रीलाई आफ्नो ‘भिजन’ लिएर आउन समेत भनेका छन् । “भिजन लिएर आउनुस्, महाधिवेशन हुँदै छ, बन्दसत्रमा छलफल गरौँला । हलले पारित गरेछ भने भिजन कार्यान्वयन हुन्छ,” प्रतिष्ठानको आसन्न महाधिवेशनबारे जानकारी दिन मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “उहाँ मेरो मिल्ने साथी पनि हो । हामीले गीतसंगीतमा सहकार्य पनि गरेका छौँ । यही संस्थाको महासचिव भएर काम पनि गरिसक्नुभएको हो । सबै मिलेर अगाडि बढौँ भन्ने हाम्रो चाहना हो ।”
उनले छलफल गरेर सहमतिमा अगाडि बढ्नुपर्नेमा जोड दिए । योगदान गरेको व्यक्तिलाई संस्था र संस्थाका सदस्यले उचित कदर गर्ने उनले बताए ।
पंगेनीले चुनावी नतिजालाई भने सबैले स्वीकार गर्नुको विकल्प नरहेको स्पष्ट पारे । विगतमा खत्रीले अध्यक्षका लागि पंगेनीसँग प्रतिस्पर्धा गरेका थिए । उनले चन्द्र भण्डारी र रमेश बिजीसँग पनि अध्यक्षका लागि प्रतिस्पर्धा गरेका थिए ।
यता, खत्री नयाँ संस्था खोल्ने अन्तिम तयारीमा जुटिसकेका छन् । अबको एक हप्ताभित्र नयाँ संस्था गठन हुने उनले जानकारी दिएका छन् । आफूहरूको संस्थाले लोकदोहोरीसँगै संगीतका सबै विधालाई समेट्ने उनले बताएका छन् ।
विधान लेखनको तयारी भइरहेको र हप्ता दिनमा तदर्थ समिति घोषणा गरिने खत्रीले बाह्रखरीसँग बताएका छन् । नयाँ संस्थाको अध्यक्ष बमबहादुर कार्की हुने उनले जानकारी दिए ।
लोक तथा दोहोरीगीत प्रतिष्ठानमा केही सीमित व्यक्तिको ‘सिन्डिकेट’ रहेको टिप्पणी गर्दै उनले आफूहरूले गठन गर्ने संस्था पारदर्शी र सबैको साझा हुने बताए ।
यसैबीच, प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले संस्थालाई एकजुट बनाउने अधिकतम प्रयास रहने बताए । बाहिर रहेका भनिएका समूहलाई पनि ल्याएर आफू नेतृत्वबाट बाहिरिने तयारीमा रहेको उनले उल्लेख गरे । “बाहिर रहेको भनिएको समूहलाई पनि भित्र ल्याएर नेतृत्व छाडौँ भन्ने मेरो चाहना हो,” रमेशले स्पष्ट पारे, “संस्थालाई थप सवल र सक्षम बनाउने हाम्रो चाहना हो । यसका लागि म र मेरा अग्रज र यो संस्थाको सधैँ प्रयास रहनेछ ।”
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौँ महाधिवेशन यही फागुन १२ देखि १४ गतेसम्म धादिङबेँसीमा हुँदै छ । प्रतिष्ठानको ५४ जिल्ला, नौ उपत्यका समन्वय समिति, नौ विदेश शाखा गरी कुल ७२ जिल्लास्तरीय समिति र पाँच प्रदेश तथा एक उपत्यका समन्वय समिति गरी ६ प्रदेशस्तरीय समिति छन् ।
प्रतिष्ठानका अध्यक्ष बिजीले २३ हजार ३२२ साधारण सदस्य, दुई हजार ७७३ आजीवन सदस्य र २६ मानार्थ सदस्यसहित कुल २६ हजार ११८ जना प्रतिष्ठानमा आबद्ध रहेको जानकारी दिए ।
महाधिवेशनमा केन्द्रीय समिति, ६ प्रदेशस्तरीय समिति र ७२ जिल्लास्तरीय समितिका एक हजार प्रतिनिधिको सहभागिता रहने अध्यक्ष बिजीले बताए । महाधिवेशन एवं २२औँ वार्षिक साधारणसभाको तयारी पूरा भएको उनले जानकारी दिए ।
अध्यक्ष बिजीले संस्थागततर्फबाट अध्यक्ष पदको आधिकारिक उमेदवार रीता थापा रहने बताए । “आउँदो महाधिवेशनमा अध्यक्षमा हाम्रो संस्थागत उमेदवार रीता थापा हो,” उनले भने, “रोलक्रमले पनि उहाँको पालो हो । त्यसैले हाम्रो उमेदवार उहाँ नै हो ।” यद्यपि, प्रजातान्त्रिक पद्धतिमा प्रतिस्पर्धा गर्ने अधिकार सबैलाई रहेको उनले बताए ।
पदाधिकारीमा सकेसम्म सहमतिको प्रयास हुने भन्दै उनले समझदारी नजुटे निर्वाचन हुने स्पष्ट पारे । सदस्यका लागि धेरै आकांक्षी भएकाले निर्वाचनको विकल्प नरहेको रमेश बताउँछन् ।