
काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले महाधिवेशनमा भोटका लागि पैसाको चलखेल गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । महाधिवेशनको नाममा मत प्रभावित हुने आशय राखेर कोही कसैसँग आर्थिक लेनदेन गरेको पाइए कारबाही गर्ने प्रतिष्ठानले जनाएको छ ।
“कुनै पनि प्रतिनिधि, उमेदवार अथवा संस्थाले महाधिवेशनको नाममा मत प्रभावित हुने आशय राखेर कोही कसैसँग आर्थिक लेनदेन गरेको अथवा आर्थिक लेनदेन गर्ने आशय सहितको कुरा गरेको प्रमाण फेला परेमा त्यसरी कुरा गर्ने प्रतिनिधि, उमेदवार अथवा संस्था जो कोहीलाई पनि केन्द्रीय समितिले आफ्नो आचारसंहिताको अधिनमा रही कडाभन्दा कडा कारबाही गर्ने व्यहोरा पनि जानकारी गराइन्छ” प्रतिष्ठानका अध्यक्ष रमेश विजी र महासचिव सुवास केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिष्ठान सामाजिक संस्था भएको, नाफाको ब्यापारबाट बाहिर रहेर व्यक्तिगत स्वार्थ भन्दामाथि उठेर कलाकारको हित र कलाको संरक्षणको लागि मात्र सक्रिय रहेकाले यसलाई आर्थिक पाटोमा नजोड्न पनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौं केन्द्रीय महाधिवेशन २०७९ फागुन १२–१४ गते धादिङको सदरमुकाम धादिङ बेसीमा हुँदै छ ।