
काठमाडौं । बाह्रखरीकर्मी नरेश फुयाँलले वर्षको उत्कृष्ट चलचित्र पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । आइतबार प्रजातन्त्र दिवसको अवसर पारेर आयोजित दोस्रो संस्करणको एलआईसी नेपाल मिडिया अवार्ड कार्यक्रममा फुयाँललाई उत्कृष्ट चलचित्र पत्रकारिता पुरस्कार–२०७९ प्रदान गरिएको हो ।
बेस्ट टेलिभिजन जर्नालिस्ट अफ द इयरबाट योहो टेलिभिनका जीवराम भण्डारी, फोटो जर्नालिस्ट अफ द इयरबाट मीन बज्राचार्य, बिजनेस जर्नालिस्ट अफ द इयरबाट केटीएम भ्वाइस डटकमका रोयल आचार्य, रेडियो जर्नालिस्ट अफ द इयरबाट रेडियो कान्तिपुरका अनिल परियार, बेस्ट प्रिन्ट जर्नालिस्ट अफ द इयरबाट नयाँ पत्रिका दैनिकका शिल्पा कर्ण, बेस्ट कार्टुनिस्ट अफ द इयरबाट नागरिक दैनिकका रवीन सायमी, बेस्ट स्पोर्ट्स जर्नालिस्ट अफ द इयरबाट नागरिक दैनिककै अनिल मल्ल ठकुरी, बेस्ट अनलाइन जर्नालिस्ट अफ द इयरबाट साझा पोस्टका बोमलाल गिरी र बेस्ट युट्युब च्यानल अफ द इयरबाट मोहन बस्नेतलाई नगद राशिसहित अवार्ड प्रदान गरियो । पुरस्कृत सबैलाई जनही २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।
टेलिभिजन, छापा, एफएम रेडियो र अनलाइन सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीको पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर सम्मान र पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
ड्रिम हाई नेपालले आयोजना गरेको दोस्रो एलआईसी नेपाल मिडिया अवार्ड–२०७९ को अवसरमा लाइफटाइम अचिभमेन्ट अवार्ड पत्रकार कृष्णा ताम्राकारलाई प्रदान गरियो । उनलाई एक लाख रुपैयाँ नगदसहित लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको हो । पत्रकार भूषण दाहाललाई दशकका पत्रकारका रूपमा ५१ हजार पुरस्कार राशिसहित सम्मान गरियो ।
कार्यक्रममा विकास खतिवडालाई फोटोग्राफी सम्मान, भीमबहादुर मल्ल ठकुरीलाई विशेष सम्मान र कृष्ण कँडेललाई पब्लिक च्वाइस अवार्डबाट सम्मान गरिएको थियो ।