site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
महत्त्वपूर्ण मोडमा उत्साहित नेपाली क्रिकेट टिम 

काठमाडौं । नेपाली क्रिकेट टिम यतिबेला एकदमै महत्त्वपूर्ण मोडमा उभिएको छ । साढे चार वर्षअघि प्राप्त गरेको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनका लागि महत्त्वपूर्ण मानिएको आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले मंगलबारबाट त्रिदेशीय शृंखला खेल्नेछ ।

‘स्पट फिक्सिङ’जस्तो गम्भीर विषयमा मुद्दा हुने अवस्थामा नेपालले यो प्रतियोगिता आयोजना गर्दैछ । साथै, बलात्कारजस्तो संवेदनशील आरोपमा पूर्वकप्तान सन्दीप लामिछानेले मुद्दा खेपिरहेका छन् । र उनी भोलि त्रिवि क्रिकेट मैदानमा राष्ट्रिय टिमको जर्सीमा देखिने सम्भावना प्रबल छ । 

यस्तो जटिल परिस्थितिमा नेपाली राष्ट्रिय क्रिकेट टिमले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बलियो प्रतिद्वन्द्वी स्कटल्यान्ड र नामिबियाविरुद्ध त्रिदेशीय शृंखला खेल्दै छ । त्यसका लागि स्कटल्यान्ड र नामिबियाको टिम काठमाडौं आएर यहाँको वातावरणमा अभ्यस्त भइसकेका छन् ।  

Dabur Nepal
NIC Asia

नेपाली क्रिकेटले निकट भविष्यमा कस्तो बाटो तय गर्नेछ भनेर यस त्रिदेशीय शृंखला केही हदसम्म दिशानिर्देश गर्ने छ । र यस महत्त्वपूर्ण मोडमा नेपाली टिम भने उत्साहित छ । उत्साहित यस अर्थमा की नेपाली टिमले तीन वर्षपछि त्रिवि क्रिकेट मैदानमा लिग–२ को खेल खेल्दै छ ।

हुन त यसबीचमा नेपाली क्रिकेट टिमले घरेलु मैदानमा घरेलु दर्शकमाझ नखेलेको भने होइन । तर, आईसीसी क्रिकेट विश्वकप लिग–२ मा भने नेपालले फेब्रुअरी २०२० पछि पहिलोपटक त्रिवि क्रिकेट मैदानमा खेल्न लागेको हो । 

त्यसकारण पनि नेपाली टिम उत्साहित छ । त्यसमा पनि नयाँ प्रशिक्षक मोन्टी देसाईले थप उत्साह थपिदिएका छन् । नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल र सोमपाल कामीले एक स्वरमा भनेका छन्, “घरेलु मैदानमा हुने यस शृंखलाका लागि हामी एकदम उत्साहित छौं ।”

शृंखला सुरु हुनुअघि सोमबार सम्पन्न पत्रकार सम्मेलनमा कप्तान रोहितले भनेका छन्, “घरेलु मैदान हो । मैदानको कन्डिसन हामीलाई राम्रो थाहा छ । कसरी खेल्ने भनेर आफूलाई कन्डिसनअनुरुप ढाल्नेमात्र हो । यहाँको पिचमा हामी अभ्यस्त छौं । यहाँको वातावरण, घरेलु दर्शक सबै कुराले हामीलाई साथ दिन्छ ।”

देसाईको आगमनले उत्साहित टिम 
भारतीय प्रशिक्षक देसाईले माघ १५ गतेबाट अनौपचारिक रुपमा नेपाली टोलीको प्रशिक्षण थालेका थिए । उनले औपचारिक रुपमा भने माघ २३ गतेबाट नेपाली टिमको प्रशिक्षण सम्हालेका थिए ।

देसाई २०१२ देखि नै नेपाली क्रिकेटसँग नजिक छन् । २०१७ मा त उनले नेपाली यू–१९ टिममा ब्याटिङ सल्लाहकारको रुपमा काम नै गरेका थिए । त्यसकारण उनलाई नेपाली खेलाडीको बारेमा पनि राम्रो जानकारी छ । उनको आगमनबाट यतिबेला नेपाली टिम उत्साहित छ । 

“पछिल्लो १० दिनमा मोन्टी सर आएर टिममा जुन माहोल बनाउनु भएको छ । त्यसले टिमको मनोबल बढेको छ,” नेपालका कप्तान रोहितले भने, “हामीले मोन्टी सरलाई यू–१९ देखि नै चिनेका हौं । नयाँ प्रशिक्षक भनेर हामीलाई केहि पनि दबाब महसुस भएको छैन । मोन्टी सरले जुन माहोल टिममा बनाउनु भएको छ । त्यसले धेरै सजिलो भएको छ ।”

Sandeep (7)1675433500.jpg

एकदिवसीय मान्यता जोगाउने दबाब
सात टिम सम्मिलित आईसीसी क्रिकेट विश्वकप लिग–२ मा स्कटल्यान्ड शीर्ष स्थानमा छ । यस प्रतियोगितामा उसले अब चार खेल खेल्न बाँकी छ । अर्थात नेपाल भ्रमण टुंगिएसँगै स्कटल्यान्डले लिग–२ का सबै ३६ खेल खेल्नेछ । 

स्कटल्यान्डले ३२ खेलबाट ४६ अंक जोडेको छ । सबै ३६ खेल खेलेर ४४ अंक जोडेको ओमान दोस्रो स्थानमा छ । ३० खेलबाट ३७ अंक जोड्दै नामिबिया तेस्रो स्थानमा छ । ३६ खेल खेलेको अमेरिका ३५ अंक जोडेर तालिकाको चौथो स्थानमा छ । २६ खेलबाट २७ अंक जोडेको युनाइटेड अरब इमिरेट्स (यूएई) पाँचौँ स्थानमा छ ।

नेपालले २४ खेलबाट १८ अंक जोडेको छ । छैटौँ स्थानमा रहेको नेपालले २४ मध्ये आठ खेलमा मात्र जित निकाल्न सफल भएको छ । त्यसकारण प्रतियोगितामा १२ खेल बाँकी हुँदा नेपाललाई शीर्ष तीनभित्र पर्न कठिन छ । २८ खेलबाट ५ अंक जोडेको पपुवा न्यूगिनी (पीएनजी) पुछारमा छ । 

“यस शृंखलामा आउने नतिजाले अब आगामी शृंखला कस्तो हुन्छ भनेर निर्धारण गर्नेछ । बाँकी १२ मध्ये ९ खेल जित्नैपर्ने हुन्छ,” नेपाली टिमको निकट भविष्यबारे कप्तान रोहितले भने ।

लिग–२ का शीर्ष तीन टोलीले जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन् । शीर्ष पाँच स्थानमा रहने टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने छ । साथै अंकतालिकाको बाँकी चार टिमले क्वालिफायर प्लेअफ खेल्ने छ ।

नेपालको अब शीर्ष तीनमा रहने सम्भावना कमजोर छ । त्यस हिसाबमा नेपालको लक्ष्य शीर्ष पाँचभित्र पर्नु रहने छ । शीर्ष पाँचभित्र सुरक्षित रहन नेपालले १२ खेलमध्ये ९ मा जित हात पार्नुपर्नेछ । नेपालले नामिबिया र स्कटल्यान्डसँग समान दुई तथा यूएई र पपुवा न्युगिनीसँग समान चार खेल खेल्न बाँकी छ ।

त्यसकारण नेपाली क्रिकेट यतिबेला कठिन र महत्त्वपूर्ण मोडमा उभिएको छ । र यस परिस्थितिमा नेपाली टिमलाई डोहोर्‍याउन भारतीय प्रशिक्षक देसाई आइपुगेका छन् । देसाईको काँधमा ठूलो जिम्मेवारी आएको छ । त्यस जिम्मेवारीलाई देसाईले पनि राम्रैसँग बुझेका छन् । महसुस गरेका छन् ।

“मेरा लागि अब ठूलो परीक्षा छ । नेपाली टिमको प्रशिक्षण यात्रामा भर्खरै दुई हप्तामात्र भएको छ । क्रिकेटले जित र हार दुवैको बारेमा सिकाउँछ,” देसाईले सोमबार पत्रकार सम्मेलनमा भने, “यस अवधिमा मैले धेरै प्रतिभाहरु देख्ने अवसर पाएको छु । उनीहरूलाई आफू के गर्न सक्छु भन्नेबारे राम्रोसँग थाहा छ । यसबारे उनीहरूले बुझ्नेछन् र खेलमा उनीहरुले आफ्नो प्रतिभा देखाउन सक्छन् भन्ने विश्वास छ ।”

ह्याप्पी ड्रेसिङ रुम
आईसीसी क्रिकेट विश्वकप लिग–२ कै दौरानमा नेपाली क्रिकेट टिममा धेरै उचार चढाव आए । यसबीचमा धेरै कप्तानहरू परिवर्तन भए । कप्तानमात्र नभई प्रशिक्षक पनि धेरै परिवर्तन भए ।

विशेषगरी नेपाल क्रिकेट संघ (क्यान)ले पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई कारबाही गरेर सन्दीपलाई कप्तानीको जिम्मेवारी दिएपछि टिमभित्र देखिनेगरी मनमुटाव सुरु भएको थियो । टिमको आन्तरिक द्वन्द्व मैदानमा पनि स्पष्ट देखिन थालेको थियो । 

तर, यसबीचमा पनि परिस्थिति परिवर्तन भएको छ । सन्दीपमाथि नाबालिक किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । उनलाई क्यानले निलम्बन गरेर पनि फुकुवा गरिसकेको छ ।

Sandeep (17)1675433598.jpg

अहिले उनी पुनः राष्ट्रिय टिममा फर्किएका छन् । तर, क्यानले कप्तानीको जिम्मेवारीमा भने रोहितलाई यथावत् राखेको छ । यतिबेला कप्तान र मुख्य प्रशिक्षकको दाबी छ, नेपाली टिमको ड्रेसिङ रुममा राम्रो वातावरण छ ।

“अहिले टिमको सबै कुरा एकदमै राम्रो छ । टिम युनिटीदेखि सबै कुरा आफैँलाई पनि फिल हुन्छ । सबैको मनोबल राम्रो छ,” कप्तान रोहितले टिमको माहोलबारे भने । 

 कप्तानले जस्तै मुख्य प्रशिक्षक देसाईले पनि 'ड्रेसिङ रुम' खुसी भएको बताए । 

“ड्रेसिङ रुममा धेरै कुराहरु बाढ्न पाउँदा म निकै खुसी छु,” देसाईले ड्रेसिङ रुमलाई खुसी बनाउन के गर्दै हुनुहुन्छ भन्ने प्रश्नमा उनको जवाफ यस्तो थियो, “यो एक प्रकृया हो । र टिमले यसमा दिनप्रतिदिन राम्रो गर्दै गइरहेको छ । ह्यापी ड्रेसिङ रुम त्यसबेला ह्यापी हुन्छ, जतिबेला आशाअनुरुपको नतिजा आउँछ । अहिले टिमका सबै सदस्यले राम्रो ड्रेसिङ रुमका लागि प्रयास गरिरहेका छन् । र, पछिल्लो समय यसमा दिनप्रतिदिन राम्रो हुँदै गइरहेको छ ।”

सन्दीपको पुनरागमन टिममा 
नाबालिक किशोरीमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई क्यानले २०७९ भदौं २३ गते निलम्बन गरेको थियो । त्यतिबेला सन्दीप क्यारेबियन प्रिमियर लिगका वेष्ट इन्डिजमा थिए । २०७९ असोज २० गते नेपाल फर्किएका सन्दीपलाई नेपाल पुलिसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो । 

पाटन उच्च अदालतले पुस २८ गते  फौजदारी अभियोग लागेका सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश उल्टाइदिएको थियो । उच्च अदालतले सन्दीपलाई २० लाख धरौटी राखी सर्तसहित तारेखमा छाड्न आदेश दिएकोे थियो । त्यसपछि गत माघ १७ गते पोखरामा सम्पन्न क्यान बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा गरेको थियो । लगत्तै क्यानले सन्दीपलाई राष्ट्रिय टोलीमा समावेश गरेको थियो । सन्दीप माघ १९ गतेबाट टिमसँगै होटेलमा बस्न थालेका थिए ।

सन्दीपलाई टिममा समावेश गर्ने क्यान निर्णयको चौतर्फी विरोध भएको थियो । तर, पनि क्यान नेतृत्वले जबरजस्त सन्दीपलाई खेलाउने निर्णय गरेको छ । यसले महिला हिंसा तथा बलात्कारजस्तो संवेदनशील विषयमा क्यान नेतृत्वको बुझाई प्रष्ट पारिदिएको छ । र पीडित किशोरीले न्यायका लागि लडिरहँदा सन्दीप भने मंगलबार राष्ट्रिय जर्सी लगाएर त्रिवि क्रिकेट मैदानमा नामिबियाविरुद्ध खेल्ने निश्चित जस्तै छ ।

स्पट फिक्सिङको दाग
नेपाली क्रिकेटको छविमा यतिबेला स्पट फिक्सिङको नमेटिनेगरी नराम्रोसँग दाग लगेको छ । क्यान नेतृत्वको महत्त्वकांक्षी योजना नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको गम्भीर आरोपमा नेपाल पुलिसले राष्ट्रिय टोलीबाट खेलिसकेका मेहबुब आलम र आदील अन्सारीलाई पक्राउ गरिसकेको छ ।

नेपाल पुलिसको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ‘स्पट फिक्सिङ’को अनुसन्धान सकिएको जनाएको छ । र पुलिसले आदीलसहित ११ जनाविरुद्ध अदालतमा मुद्दा दायर गर्ने तयारी गरिरहेको छ । 

क्यान आफैले आयोजना गरेको उक्त प्रतियोगिता स्पष्ट फिक्सिङमा मुछिँदा यो त्रिदेशीय शृंखला नै के हुने भन्ने अन्योलमा थियो । यद्यपि आईसीसीको आफ्नै एन्टी करप्सन युनिटले अनुसन्धान गरिरहेको र त्यसको निचोड आइनसकेका कारण यस प्रतियोगिता धेरै असर गरेको छैन । 

Sandeep (19)1675433600.jpg

क्यानले व्यावसायिक तथा रणनीतिक साझेदार बनाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स पनि फिक्सिङमा मुछिएको बताइएको छ । सेभेन थ्री स्पोर्ट्सले आठ वर्षका लागि सम्झौता गरेको थियो । तर, पहिलो संस्करण नै विवादमा मुछिएपछि भारतीय कम्पनीले एकतर्फी रुपमा सम्झौता भङ्ग गरेको छ । र क्यानले पनि सम्झौता रद्द गर्नका लागि साधारणसभामा प्रस्ताव लाने निर्णय गरेको छ । 

यसबीचमा नेपाल टी–२० लिगको गभर्निङ बडीका संयोजक प्रशान्तविक्रम मल्लले कार्यबाहक सचिवबाट राजीनामा दिएका छन् । क्यान नेतृत्वले आफैले भारतीय कम्पनीसँगको सम्झैतामा त्रुटी भएको स्वीकार गरिसकेको छ । तर, उनी कार्यवाहक सचिवलाई राजीनामा गर्न लगाएर जोगिने दाउमा लागेका छन् । क्यानभित्रको आन्तरिक राजनीति जे भए पनि नेपाली क्रिकेटमा नराम्रो दाग लागेको छ । 

त्यसको मनोवैज्ञानिक असर खेलाडीमा पर्ने सम्भावना छ । तथापि, प्रशिक्षक देसाईले त्यस त्रासबाट खेलाडीलाई मुक्त राखेको कप्तानले बताएका छन् । उनले भनेका छन्, “उहाँले क्रिकेट मैदान भित्र र बाहिर दुवैको वातावरण राम्रो राख्नु भएको छ । टिममा मेन्टल पार्ट अलि मिसिङजस्तो थियो । त्यो पनि अहिले राम्रो भएको छ ।”

खेल तालिका
फागुन २ गते नेपाल भर्सेस नामिबिया
फागुन ३ गते नामिबिया भर्सेस स्कटल्याण्ड
फागुन ५ गते नेपाल भर्सेस स्कटल्याण्ड
फागुन ६ गते नेपाल भर्सेस नामिबिया
फागुन ८ गते नामिबिया भर्सेस स्कटल्याण्ड
फागुन ९ गते नेपाल भर्सेस स्कटल्याण्ड

नेपाली टिम : रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, गुल्सन झा, भीम सार्की, सूर्य तामाङ । 


रिजर्भ खेलाडी : आरिफ शेख, अर्जुन साउद, प्रतिश जिसी र श्याम ढकाल । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro