
काठमाडौं । नेपाली कथानक चलचित्र ‘ह्यारी कि प्यारी’ले राम्रो वर्ड अफ माउथ पाएको यसका मुख्य कलाकार जितु नेपाल बताउँछन् । रिलिजको दोस्रो हप्तामा पनि दर्शकको उल्लेख्य साथ पाएको जितुको दाबी छ ।
“हामीले विभिन्न कारणले अपेक्षित संख्यामा शोज पाएनौँ । त्यसको कारण के र किन धेरैलाई थाहा छ,” जितु भन्छन्, “तर, हामीले जति पनि हल पाएका छौँ । हामीले पाएका शोज हाउसफुल छन् ।”
सुरुमा दिनमा उल्लेख्य साथ नमिले पनि विस्तारै वर्ड अर्फ माउथ राम्रो हुँदा दर्शकले चलचित्रलाई साथ दिएको उनको भनाइ छ । “नेपालमा प्राय चलचित्र हाउसफुल हुने भनेको बिदाको दिन हो । बिदाको दिन काठमाडौंका अधिकांश हलमा सिनेमा हाउसफुल थियो,” जितु बाह्रखरीसँग भन्छन्, “शनिबार लाबिम महलबान सिनेमा, केएल टावरलगायत हलमा साँझका शोज हाउसफुल भए । अफ टाइमका शोजमा पनि ६० प्रतिशतभन्दा माथि अकुपेन्सी थियो ।”
आज पनि सार्वजनिक बिदा परेकाले दर्शकको साथ मिल्ने उनको अपेक्षा छ । आज जनयुद्ध दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । हलले भने ‘ह्यारी कि प्यारी’को शोज घटाइसकेका छन् । आज काठमाडौंमा अधिकांश हललले दुई÷दुई शोज मात्रै उपलब्ध गराएका छन् ।
जितु नेपाल मुख्य भूमिकामा रहेको चलचित्रमा उनको अपोजिटमा साम्राज्ञी आरएल शाह छिन् । डा. कपिल रिजालले चलचित्रलाई निर्देशन गरेका हुन् ।