
शशी शेखर
शनैः शनै
ॐ श्री श्री श्री एक कोटी नौ
कल्की अवताराय नमः !
कल्किराजो उवाचः
यावज्जीवेत्सुखं जीवेत् ऋणं कृत्वा घृतं पिबेत्
भस्मीभूतस्य देहस्य पुनरागमनं कुतः
त्रयोवेदस्य कर्तारौ भण्डधूर्तनिशाचराः ।
धरोधर्म ! यो कुरा उसले बुझ्दै बुझ्दैन ।
हजारौँ न्युरोनले बनेको मगज र
खरबौँ एटम्सले बनेको
ब्रह्माण्डको गतिवाद नै नबुझी
हेर ऊ बर्बराएको... बौलाएको ! ।१।
यहाँ,
‘लोकाः समस्ताः सुखिनो भवन्तु’
मन्त्रज्ञको कन्चटमा गोली हाने,
अहँ ! कसैले देखेन, कोही बोलेन ।
यहाँ,
‘असतो मा सद्गमय, तमसो मा ज्योतिर्गमय’
शास्त्रज्ञको घाँटी रेटे,
अहँ ! कसैले देखेन, कोही बोलेन ।
यहाँ,
श्वास बेचेर लास किने
अहँ ! कसैले देखेन, कोही बोलेन ।
तर, हेर ऊ एक्लो बर्बराएको... बौलाएको ! ।२।
यहाँ,
राष्ट्रिय अस्मिताको के कुरा गरौँ ?
कतिले
देश बेचेर परदेश किने
मान्छे बेचेर शासन किने
राष्ट्रस्रोत बेचे, साधन बेचे
अहँ ! कसैले देखेन, कोही बोलेन ।
आफू बस्ने धरातलको त झन् कुरै छोडौँ
कहिले चुच्चे पारे, कहिले बुच्चे पारे
कतिले केक बनाएर
होली वाइन नामको
सोमरससँगै रंगीन प्याकको माद लागे !
अनेकौँ विधि मिचिए, विधान भत्काए
राष्ट्रिय मर्यादादेखि व्यक्तिको अस्मिता
सब लुटिए/भत्काइए ।
अहँ !
कसैले देखेन, कोही बोलेन ।
तर, हेर ऊ एक्लो बर्बराएको... बौलाएको ! ।३।
यहाँ,
क्रान्ति, विकास र निकासको
पत्रैपत्रभित्र निसास्सिए
अनेकौँ भुईँफुट्टाहरू
आफ्नै अवसान/मृत्यु बिर्सिएर
अस्तित्वविहीनता नै अस्तित्व भएको
अजम्बरी फूलजस्तो
आर्यघाटको कुनै कुनामा
यत्रतत्र÷सर्वत्र सुगन्धहीन हुँदा पनि
अहँ,
धरोधर्म ! कसैले देखेन, कोही बोलेन ।
तर, हेर ऊ एक्लो बर्बराएको... बौलाएको ! ।४।
यहाँ,
न्यायको ढोका बन्द गरिन्छ
दलालको ढोका खोलिन्छ ।
यहाँ,
साधुलाई चोर बनाइन्छ
धुरन्धर चोरलाई महात्मा !
यहाँ,
धर्मलाई अफिम बनाइन्छ
अफिमलाई धर्म ।
यहाँ,
देशलाई परदेश बनाइन्छ
र, परदेशमा देश खोजिन्छ ।
धरोधर्म !
कसैले देखेन, कोही बोलेन ।
तर, हेर ऊ एक्लो बर्बराएको... बौलाएको ! ।५।
आज गोधूलि साँझमा
यी सब तमासाबीच
बौलाएको त्यही
एक भुईँफुट्टा
मनुवाले
देशको शासन गर्ने थलोअगाडि
आत्मदाह गरेछ ।
संकल्पत्याग इत्याह संकल्पेति ।
शनैः शनैरिति ।
मनसैव न व्यापारोपरमेण ।
किंचिदपि विषयाणां त्यागग्रहणादिकं न चिन्तयेत् ।
इतिश्री अस्तु शून्यवादप्रसंगात् ।