site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पूर्वराष्ट्रपति मुसर्रफको अन्त्येष्टि सम्पन्न

इस्लामावाद । पकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफको अन्त्येष्टि प्रार्थनासभामा हजारौँ व्यक्तिले सहभागिता जनाएका छन् ।

पूर्वसैनिक शासक तथा सन् २००१ देखि २००८ सम्म राष्ट्रपति रहेका मुसर्रफको लामो अस्वस्थतापछि आइतबार दुबईमा निधन भएको हो । उनको पार्थिव शवलाई पाकिस्तानसमक्ष सुपुर्दगी गरिएको बीबीसीले लेखेको छ ।

कराँची सहरको एक सैनिक परिसरमा प्रार्थनासभाको आयोजना गरिएको हो । तर, यस कार्यक्रममा पाकिस्तानका वर्तमान राष्ट्रपति, सेना प्रमुखलगायत अन्य वरिष्ठ व्यक्तित्वहरु अनुपस्थित रहेका छन् ।

पाकिस्तानको “आतंकवादविरुद्धको युद्ध”को दौरान उनी संयुक्त राज्य अमेरिकाको प्रमुख सहयोगीको भूमिकामा देखिएका थिए । 

एएफपी समाचार निकायका अनुसार मंगलबारको करिब १० हजार मानिसको उपस्थिति रहेको प्रार्थनासभामा मुख्यतया अवकाश प्राप्त र बहालवाला सैनिक अधिकारीहरुको बाक्लो सहभागिता रहेको थियो । 

स्थानीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्रीको पनि अनुपस्थिति रहेको यस कार्यक्रममा केही राजनीतिज्ञ र पूर्वप्रधान सेनापतिहरुको भने सहभागिता रहेको थियो ।

प्रार्थनापछि मुसर्रफको शव सवारी साधनमा हालेर नजिकैको सैनिक चिहानमा लगिएको थियो । कडा सुरक्षा प्रबन्धबीच सयौँ व्यक्तिको उपस्थितिमा राष्ट्रिय झण्डा ओढाइएको कफिन त्यहाँ समाधिस्थ गरिएको थियो ।

पाकिस्तानको शक्तिशाली सेनाले एक विज्ञप्तिमार्फत उनीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेको छ । त्यसैगरी राष्ट्रपति आरिफ अल्भीले पनि उनको आत्माको चिरशान्तिको कामना गरेका छन् ।

जनरल मुसर्रफको जन्म सन् १९४३ को अगष्टमा दिल्लीमा भएको थियो । तर, सन् १९४७ मा भारतमा बेलायती शासनको अन्त्यसँगै नयाँ जन्मिएको पाकिस्तानमा उनको परिवार आवद्ध हुन पुगेको थियो । 

सन् १९६२ मा पाकिस्तानको सैनिक प्रतिष्ठानमा प्रवेश गरेका मुसर्रफले सन् १९६५ को भारत– पाक युद्धमा भाग लिएका थिए ।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  २१:४०