site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
‘पस्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति’ सार्वजनिक

काठमाडौं । सरकारले सन् २०२६ सम्म पस्मिनाको निर्यात सात करोड ५० लाख अमेरिकी डलरबराबरको पुर्‍याउने लक्ष्यसहित ‘पस्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति’ सार्वजनिक गरेको छ ।

मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सन् २०२६ सम्म पश्मिनाको निर्यात सात करोड ५० लाख डलरबराबरको पुर्‍याउने लक्ष्यसहित उक्त योजना सार्वजनिक गरेका हुन् ।

निजी क्षेत्रको आपूर्ति क्षमता अभिवृद्धि गर्ने तथा हिमाली च्यांग्रा पस्मिनाको निर्यात बढाउन र पस्मिनाको उत्पादनलाई विश्व बजारमा पुर्‍याउने सरकारको उद्देश्य छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उद्योगमन्त्री भण्डारीले पस्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीतिले यस उद्योगको विकास र विस्तारमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे । नेपालमा पहिलोपटक नेपाली च्यांग्राको उनलाई प्रशोधन गरी पस्मिनाको धागो उत्पादन गर्ने कारखाना बनाउन लागेको भन्दै उनले त्यसले उचित मूल्य पाउने विश्वास समेत व्यक्त गरे ।

मन्त्री भण्डारीले नेपालमा नै च्यांग्राको उनलाई प्रशोधन गर्न सकिने भएकाले स्वदेशमा उचित मूल्य, बजार सुनिश्चितता हुने र उत्पादन बढ्ने जिकिर गरे । उक्त रणनीतिले पस्मिना क्षेत्रले भोगिरहेको समस्या र चुनौतीको समाधान गरी पाँच वर्षभित्र लक्ष्यानुसार निर्यात गर्न सकिने बताए ।

“नेपाली च्यांग्राको उनलाई प्रशोधन गरी पस्मिना धागो उत्पादन गर्ने पहिलो कारखाना बन्ने भएको छ । यसबाट नेपालको हिमाली क्षेत्रका च्यांग्रापालक किसानले उत्पादन गरेको उनलाई स्वदेशभित्र नै उचित मूल्यमा बिक्रीको सुनिश्चिता भई उनको उत्पादन बढ्न जाने र नेपालभित्र पस्मिनाको धागो उपलब्ध भई पश्मिनाजन्य वस्तुको उत्पादन तथा गुुणस्तर बढ्न जान्छ,” उनले भने, “उद्योग मन्त्रालयले युरोपियन युनियनको आर्थिक सहयोग तथा अन्तर्राष्ट्रिय व्यापार केन्द्रको प्राविधिक सहयोगमा सञ्चालन गरिरहेको व्यापार तथा लगानी कार्यक्रमअन्तर्गत राष्ट्रिय पस्मिना निर्यात रणनीति तर्जुमा गरिएको छ । यो रणनीतिले पस्मिना क्षेत्रले भोगिरहेको समस्या र चुनौतीलाई सूक्ष्म रूपमा विश्लेषण गरी पस्मिना क्षेत्रको समग्र विकास पाँच वर्षभित्र निर्यात गर्न सक्ने लक्ष्य निर्धारण गरेको छ ।”

उद्योगसचिव मधुकुमार मरासिनीले च्यांग्राको उन उत्पादन बढाउन हिमाली जिल्लाहरूमा च्यांग्रापालनमा किसानलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताए । । उनले च्यांग्रापालनमा किसानलाई प्रोत्साहन गर्दा स्थानीयस्तरमा रोजगारीको सिर्जना हुने र किसानले उचित मूल्य पाउने उल्लेख गरे । 

यस्तै, नेपाल पस्मिना उद्योग संघका अध्यक्ष विजय दुगडले पस्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति योजना निजी क्षेत्रका लागि प्रभावकारी हुने बताए ।  यो रणनीतिले पस्मिना उत्पादनमा बढी प्राथमिकता दिने उनको भनाइ छ ।

अहिले पस्मिनाको धागो पूर्ण रूपमा विदेशबाट आयात हुने गरेको उनले बताए । अब नेपालमा नै च्यांग्राको उन प्रशोधन गरेर पस्मिनाको धागो यहीँ बन्नु सकारात्मक पक्ष भएको पनि उनले बताए । 

मंगलबार नै पस्मिना प्रशोधनका लागि पस्मिना फाइबर प्रशोधन केन्द्र ललितपुरको हरिसिद्धिमा शिलान्यास गरिएको छ ।

नेपालबाट सन् २०२१ मा दुई अर्ब ५३ करोड रुपैयाँ (करिब एक करोड ९३ लाख अमेरिकी डलरबराबर)बराबरको पस्मिना सल निर्यात गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १६:१२
प्रतिक्रिया दिनुहोस्