site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विवेकशील साझाको महाधिवेशन : अध्यक्षमा बास्कोटा, पाण्डे र परियारको चर्चा 
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनको तयारी गरिएको छ । यही माघ २७ र २८ काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा महाधिवेशन गर्ने तयारी छ ।

महाधिवेशनमा सहभागिताका लागि जिल्ला–जिल्लाबाट सदस्यता नवीकरण गर्ने कार्य भइरहेको पार्टीका प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिए । हालसम्म करिब ४० जिल्लामा सदस्यता नवीकरण कार्य सम्पन्न भएको उनले बताए ।

सदस्यता नवीकरण गराएका सबैलाई महाधिवेशनमा भाग लिन पाउने व्यवस्था गरिएको छ । “हाम्रो महाधिवेशन प्रतिनिधि भन्ने हुँदैन । सदस्यता नवीकरण गरेकाहरू सबैले महाधिवेशन प्रक्रियामा भाग लिन पाउनुहुन्छ र आफ्नो नेतृत्व चयन गर्ने अधिकार उहाँहरूलाई छ,” उनले बाह्रखरीसित भने, “लगभग ४० जिल्लामा नवीकरण कार्य सम्पन्न भइसकेको छ । २२ गतेसम्म ७७ जिल्लाबाटै सदस्यता नवीकरण कार्य सम्पन्न हुन्छ र कति सदस्यले भाग लिन पाउनुहुन्छ भन्ने यकिन हुन्छ ।”

Agni Group

पाँच वर्षअघि स्थापित पार्टीको हालसम्म कुनै महाधिवेशन गरिएको छैन । संवैधानिक बाध्यताका कारण अहिले महाधिवेशन गर्नैपर्ने अवस्था छ । यो पार्टीका कतिपय नेता–कार्यकर्ता नयाँ खुलेका र पुराना दलहरूमा समेत प्रवेश गरेका छन् । सोही कारण अहिले कति सदस्य एकीकृत छन् भन्ने रेकर्ड राख्ने कार्यमा पार्टी जुटेको हो ।

अध्यक्षमा बास्कोटा, परियार र पाण्डेको चर्चा 
महाधिवेशनको मिति नजिकिएसँगै पार्टीबाट अध्यक्ष बन्ने व्यक्तिका विषयमा चर्चा पनि चुलिएको छ । सहमति भए सहमतिमा र नभए चुनावी प्रक्रियाबाट अध्यक्ष चयन गर्ने तयारी गरिएको छ ।

Global Ime bank

अध्यक्ष पदमा वर्तमान अध्यक्ष समीक्षा बास्कोटा, मिलन पाण्डे र प्रकाशचन्द्र परियारको चर्चा छ । पाण्डे रवीन्द्र मिश्रसँग दोस्रोपटक पार्टी एकता गर्दा सहसंयोजक बनेका थिए । पार्टी स्थापनाकालदेखि नै विभिन्न भूमिकामा रहेर काम गरिरहेका परियार पनि अध्यक्षका आकांक्षी हुन् । उनी अहिले पार्टी प्रवक्ता छन् ।

“अहिले हामी महाधिवेशन मात्र सोचेर हिँडेका छौँ । एकीकरण, ध्रुवीकरण र सहकार्यका लागि यो महाधिवेशन आवश्यक छ,” प्रवक्ता परियारले भने, “धेरै योग्य साथीहरू हुनुहुन्छ । यो पार्टी हाँक्न र वैकल्पिक राजनीतिलाई अघि बढाएर राजनीतिक उद्देश्य पूरा गर्ने सक्षम साथीहरू हुनुहुन्छ । त्यसकारण अहिले अध्यक्षको चर्चा चलिसकेको छैन । तपाईंहरूले बाहिर सुनेको नाममा प्रतिक्रिया जनाउने बेला भइसकेको छैन ।”

रवीन्द्रबाट ‘लखेटिएका’हरू फर्किए
तत्कालीन संयोजक रवीन्द्र मिश्रको राजनीतिक एजेन्डाका कारण छोडेर गएकाहरू पुनः पार्टीमै फर्किएका छन् । ‘विचारभन्दा माथि देश’को नाममा मिश्रले विवेकशील साझालाई राजतन्त्रको पक्षधर, प्रदेश खारेजी र हिन्दुराज्यको एजेन्डा बोेकेको पार्टी बनाएको आरोप लगाइने गरिन्छ ।

त्यति बेला सहसंयोजक मिलन पाण्डेसहितका नेताहरू मिश्रको विपक्षमा उभिएका थिए । वैकल्पिक राजनीति भनेर सुरु गरिएको पार्टीमा पुरातनवादी सोच र संविधानभन्दा फरक मत राखिएको उनीहरूको आरोप थियो । संयोजक मिश्रको विपक्षमा उभिँदा उनीहरूलाई पार्टीबाट कारबाही गरिएको थियो ।

तर, मिश्रको एजेन्डाले सफलता हासिल गर्न सकेन । गएको वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन पार्टीले राम्रो मत ल्याउन सकेन । मिश्रले हारको नैतिक जिम्मेवारी लिँदै संयोजक पदबाट राजीनामा दिए । त्यसपछि उनी पार्टी नै छोडेर राप्रपातिर लागे ।

मिश्र हिँडेपछि बास्कोटा अध्यक्ष भइन् । तर, मिश्रका कारण ‘लखेटिएका’ नेताहरू पार्टीमा फर्किएनन् । उनीहरूमध्ये कतिपय नेताले गएको मंसिर ४ गते भएको आम निर्वाचनमा स्वतन्त्र रूपमा प्रतिस्पर्धा गरे ।

प्रवक्ता परियारका अनुसार पार्टी छोडेर गएका मिलन पाण्डे अहिले विवेकशील साझामा फर्किइसकेका छन् । रमेश पौडेल, रञ्जु दर्शना, केशव दाहाललगायत धेरै नेता–कार्यकर्ताहरू समेत पार्टीमा फर्किएको उनले बताए ।

“हामीले बन्दीपुर छलफलपश्चात् वैचारिक विमति राख्ने र पार्टीबाट बाहिरिनुभएका साथीहरूलाई पार्टीमा फर्किन अनुरोध गर्दै मार्गप्रशस्त गरेका थियौँ । सोहीअनुसार उहाँहरू पार्टीमा फर्किनुभएको हो,” उनले भने ।

महाधिवेशनका लागि ६ समिति
महाविधेशन सम्पन्न गर्न पार्टीभित्र ६ समिति बनाइएको छ । केन्द्रीय सदस्य केशव दाहालको नेतृत्वमा दस्तावेज लेखन समिति गठन गरिएको छ । प्रवक्ता परियारको नेतृत्वमा राजनीतिक संवाद समिति बनाइएको छ ।

“राजनीतिक संवाद समितिले वैकल्पिक दलको रूपमा उदाएका पार्टी तथा समूह र स्वतन्त्र व्यक्तिहरूसँग छलफल गर्दै छ,” परियारले भने, “ध्रुवीकृत भएका साथीहरू र सहकार्य गर्न सकिने साथीहरूलाई एकीकृत गरेर यो महाधिवेशनबाट अघि बढ्ने तयारी छ । यो महाधिवशेनपछि पनि यो निरन्तर भएर अघि बढ्छ ।”

परियारका अनुसार सुरज प्रधानको नेतृत्वमा महाधिवेशन व्यवस्थापन समिति, रमेश पौडेलको नेतृत्वमा विधान समिति र नवराज थापाको नेतृत्वमा सदस्यता व्यवस्थापन समिति गठन गरिएको छ । नेता हरिश भट्टको नेतृत्वमा प्रचारप्रसार समिति गठन गरिएको उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १५:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC