site stats
बाह्रखरी :: Baahrakhari
देश
कहाँ पुग्यो डडेलधुरा मेडिकल कलेज सञ्चालनको तयारी ?

डडेलधुरा । डडेलधुरा मेडिकल कलेजलाई आउँदो शैक्षिक सत्रदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । त्यसका लागि अहिले आवश्यक पर्ने विभिन्न कामहरू भइरहेका छन् ।

०७८ साल माघ १० गते बसेको संघीय सरकारको मन्त्रिपरिषद् बैठकले डडेल्धुरा अस्पताललाई मेडिकल कलेजका रूपमा अगाडि बढाउने निर्णय गरेको थियो । स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबीच डडेलधुरामा मेडिकल कलेज सञ्चालनका लागि त्रिपक्षीय सम्झौता भएको थियो ।

सोही सम्झौताअनुसार अर्थ मन्त्रालयले पनि आवश्यक बजेट उपलब्ध गराउने सहमति भएको विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठकले जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“आगामी जेठसम्म पाठ्यक्रम निर्माणको काम सक्छौँ । त्यसपछि कक्षा सञ्चालनका लागि हामी योग्य भएको सम्झन्छौँ । आगामी शैक्षिक सत्रदेखि कुनै न कुनै एउटा सञ्चालन गर्ने हाम्रो तयारी छ,” पाठकले भने ।

उनका अनुसार चिकित्सा शिक्षा अध्यापनका लागि कम्तीमा ५३ जना स्नातकोत्तर गरेका शिक्षण कर्मचारी मात्रै आवश्यक पर्ने देखिएको छ ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. अम्मराज जोशीले पनि आवश्यक विज्ञ जनशक्ति र अन्य केही पूर्वाधार व्यवस्थापन गरेर आगामी शैक्षिक सत्रदेखि नै पोस्ट ग्राजुएट तहको पढाइ सञ्चालन गर्न तयारी भइरहेको बताए । उनका अनुसार डडेलधुरामा मेडिकल कलेज सञ्चालनका लागि सरकारले चालु आर्थिक वर्षमा ४१ करोड बजेट विनियोजन गरेको छ । जसमध्ये अहिलेसम्म एक करोड विश्वविद्यालय अनुमदान आयोगलाई हस्तान्तरण भएको छ ।

बाँकी ४० करोड निकासा हुन बाँकी रहेको बताउँदै उनले भने, “डीपीआर निर्माणको प्रक्रियामा हामी अगाडि बढेका छौँ । बजेट निकासा भएको केही समयमै भवन निर्माणका लागि बोलपत्र आह्वान गर्छाैं ।”

मेडिकल कलेज सञ्चालनका लागि ३०० शय्याको अस्पताल आवश्यक पर्छ । अहिले सञ्चालनमा रहेको डडेलधुरा अस्पताललाई नै मेडिकल कलेजका रूपमा सञ्चालन गर्ने सरकारी निर्णयमा भनिएको छ । डडेलधुरा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चेतराज भट्टका अनुसार अहिले अस्पताल एक सय शय्यामा सञ्चालन छ । 

“निर्माणाधीन भवनको काम सम्पन्न भए थप १२५ शय्या सञ्चालन गर्न सकिन्छ,” उनले भने । 

Dean office Dadeldhura Medical1675101509.jpg

मेडिकल कलेज स्थापनाका लागि सरकारले तीन महिनाअघि नै डिन नियुक्त गर्दै जिल्लामा डिन कार्यालय पनि स्थापना गरिसकेको छ । मेडिकल कलेजका डिन प्रा.डा. हेमनाथ जोशीले पाठ्यक्रमको ढाँचा तयार भइसकेको बताए ।

“एमबीबीएस तहको पढाइ सुरु गर्न बढी समय लाग्छ,” सोमबार डडेलधुरामा आयोजि अन्तरक्रिया कार्यक्रममा डिन जोशीले भने, “त्यसैले हामीले अहिले एमडीएमएस तहको पढाइ सुरु गर्ने तयारी गरिरहेका छौँ । पाठ्यक्रमको ढाँचा तयार भइसकेको छ । अन्तिम रूप दिन मात्रै बाँकी छ ।”

अमरगढी नगरपालिकाका मेयरसमेत रहेका मेडिकल कलेज स्थापनाका लागि गठित जिल्लास्तरीय समन्वय समितिका संयोजक डिल्लीराज जोशीले अहिले आवश्यक जग्गाको जोहोको काम अन्तिम चरणमा पुगेको बताए । “डडेलधुरा अस्पतालको नाममा रहेको जग्गा पर्याप्त नभएपछि थप ८४ रोपनी जग्गा विश्वविद्यालयको नाममा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ,” उनले भने, “सायद आजभोलिमै त्यो जग्गा पाइन्छ ।”

डडेलधुराबाट विजयी प्रदेश सभा सदस्य डा. तारा जोशीले मेडिकल कलेज सञ्चालनका लागि आवश्यक समन्वय गर्न तयार रहेको बताए । डडेलधुरामा मेडिकल कलेज सञ्चालन भए सुदूरपश्चिमका सात पहाडी जिल्लाका बासिन्दालाई चिकित्सा शिक्षा अध्यापन र स्वास्थ्य सेवा पाउन निकै सहज हुने उनको तर्क छ । 

गएको जेठ १५ गते सरकारले प्रस्तुत गरेको बजेटमा पनि डडेल्धुरामा मेडिकल कलेज सञ्चालनको योजना अटाएको छ । बजेटमा नै 'डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न व्यवस्था मिलाइने' उल्लेख भएपछि प्रक्रिया अगाडि बढाइएको थियो । 

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  ०८:००
प्रतिक्रिया दिनुहोस्