
काठमाडौं । आइतबार (माग १५ गते) लुम्बिनी विकास कोष सञ्चालक समितिले नयाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीलाई प्रगति विवरणबारे ब्रिफिङ गर्दै प्रोजेक्टरमा आकार्षक ‘प्रेजेन्टेसन’ देखाए । कोषका सदस्यसचिव सानुराज शाक्यले लुम्बिनी क्षेत्रको भावि योजना तथा हालको अवस्था बारे प्रेजेन्टेसन गरेका थिए ।
उक्त प्रेजेन्टेसन अवधिमा यस्तो लाग्थ्यो, लुम्बिनीको भ्रमण जो कोहीले पनि गर्नैपर्छ । प्रेजेन्टेसनको अवधिमा शाक्यले मन्त्रीलाई लुम्बिनी भ्रमण नगरेको र त्यहाँको बारेमा मन्त्री जानकार नभएको पनि भन्न भ्याए । त्यसैगरी लुम्बिनी गुरूयोजनाको बारेमा पनि उनले प्रेजेन्टेसन गरे । यो गुरूयोजना सम्पन्न गर्न सात खर्ब ५० अर्ब रुपैयाँ लाग्ने पनि मन्त्रीलाई सुनाए । उक्त रकम जुट््न नसक्दा यो गुरू योजनाको काम अगाडि बढ्न नसकेको पनि उनले बताए ।
त्यसपछि बोलेका कोषका उपाध्यक्ष भेनेरेबल मेट्टेया शाक्यपुत्ताले पछिल्लो समय पर्यटक आगमन घटेकाले लुम्बिनीमा आम्दानीको कम भएको बताए । उनले आफूहरूले के काम गर्दै छौँ भन्ने कुराको ब्रिफिङ गरेका थिए । त्यसैगरी बजेट अभावका कारण लुम्बिनी विकास कोषको गुरूयोजनाले गति लिन नसकेको बताए । उक्त गुरूयोजनामा अहिले तीन चरणमा काम भइरहेको पनि बताए । यसका लागि कोषले आवश्यक बोलकबोल आह्वान गरिसकेको पनि बताए ।
उनीहरूले प्रोजेक्टरमा देखाएको लुम्बिनीको चित्र हेर्दा लाग्थ्यो लुम्बिनीको काँचुली नै फेरिएछ । ब्रिफिङ विभिन्न देशले बनाइदिएका स्तुपाहरू पनि देखाइएको थियो । त्यस्तै अन्य देशले पनि यस्ता परियोजना बनाइदिन सम्झौता गरिरहेको पनि बताइएको थियो ।
तर, सो कोषको अध्यक्षसमेत रहेका मन्त्री सुदन किरातीले भने अहिलेको कामको प्रगति विवरणमा आफू सन्तुष्ट नभएको कुरा बताए । सरकारले विश्वास गरेर अहिलेको सञ्चालक समिति र कोष व्यवस्थापकको जिम्मेवारी दिएको भन्दै सोहीअनुसार काम गर्न निर्देशन दिए । सोही क्रममा आफू लुम्बिनी नगएको तर, लुम्बिनीको बारेमा आफूलाई सबै थाहा भएको बताए ।

“म लुम्बिनी त गएको छैन । तर, अमेरिकाको राष्ट्रपति जो बाइडेनको बारेमा बुझ्नलाई त्यहीँ पुग्नु पर्दैन । मैले लुम्बिनीको बारेमा पढेको छु, सुनेको छु, हेरेको छु,” उनले भने, “तर, तपाईँहरूको कामले म सन्तुष्ट छैन । लुम्बिनी हाम्रो पहिचान हो । हाम्रो सभ्यता हो । लुम्बिनीले नेपालको चित्र दर्शाउँछ ।”
लुम्बिनीमा जति प्रचार गरिएको छ, त्यस्तो नभएर गाईको गोठ जस्तो रहेको आफूले बुझेको उनले बताए । आफू प्रतिनिधिसभाको सदस्य हुँदा चीन भ्रमणको क्रममा त्यहाँका एक प्रतिनिधिले लुम्बिनी सोचे जस्तो नभएर त्यहाँ फोहोरको डंगुर भएको सुनाएको बताए । त्यसले आफूलाई लज्जित बनाएको र म यो कुरा उठाउँछु भनेर पन्छिएको बताए ।
“लुम्बिनी पवित्र धार्मिकस्थल हो भन्ने सबैले बुझेका छन् । तर, त्यहाँ भ्रमण गर्नेले गाई गोठ जस्तो रहेका भनेको सुन्दा म लज्जित भएको छु । यो कहाँसम्म सत्य हो । पवित्र धार्मिकस्थल गौचरण जस्तो हुन्छ ? तपाईहरू के हेरेर बस्नु भएको छ ?,” उनले भने, “मलाई लुम्बिनीको विकास गर्ने शैली पटक्कै मन परेको छैन । हामीले के गर्न खोज्दैछौं ? पुरात्त्विक सम्पदा पुरेर हामीले के बनाउँन खोज्दैछौं ? तपाईंहरू पवित्र ठाउँमा बसेर अपवित्र काम गरिरहनु भएको छ है साथी हो, यो सबैले बुझ्नुस् । विकास भनेको उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गरेर गर्नुपर्छ ।”
मन्त्री किरातीले त्यहाँ भएको विकास स्वार्थ समूहबाट प्रेरित भएको पनि बताए । एउटा परियोजना सक्न वर्षौँ ढिला गर्ने प्रवृत्तिले पनि त्यहाँको विकासभन्दा स्वार्थ बढी भएको बताए ।
“लुम्बिनीको विकास गर्ने नाममा मागी खाने भाँडो बनाउन भएन । पवित्र थलोमा बसेर अपवित्र काम गर्नु हुँदैन,” उनले भने, “अरूले किन हामीलाई सहयोग गर्नुप¥यो ? यस्ता कार्यले अरूले नक्कल गरिरहेका छन् ।”
हाम्रो मौलिक धार्मिकस्थल कसैले नक्कल गर्न नसक्ने भए पनि अहिले सहयोगको नाममा हाम्रो मौलिक धार्मिकस्थलहरू नक्कल हुँदै गएको बताए । यसले के सन्देश दिन खोजेको भन्ने पनि प्रश्न गरेका थिए ।
“हाम्रो नक्कल गरेर अहिले जताततै लुम्बिनीको महत्व घटेको छ । यो कसरी ? सहयोगको नाममा के हुँदै छ बुझ्नु पर्दैन ? हाम्रो पुरातात्त्वि सम्पदा कहाँ पुरिँदै छ ? संरचना बनाउनु मात्र विकास हो ?,” किरातीले प्रश्न गरेका थिए ।
त्यस्तै, अब सबै मिलेर विकासमा जोडिनु पर्ने पनि उनले बताए । राजनीतिक दलको छत्रछायामा अब केही नहुने भन्दै काम गरेर देखाउन पनि उनले निर्देशन दिए ।
यस्तै, राज्यमन्त्री ठकुरीले पनि केही समस्या भए त्यसलाई समाधान गर्न मन्त्रालय तयार भएको भन्दै काम गर्न पर्ने बताइन् । एउटा परियोजना बनाउन वर्षाैँ लाग्ने र त्यसले राम्रो सन्देश नदिएको उनको भनाइ छ ।
लुम्बिनीको नक्कल भारतमा भएको भन्दै त्यसतर्फ सजक रहन पनि उनले निर्देशन दिइन् । पर्यटक भित्र्याउन सकेमात्र देशको अर्थतन्त्र सकारात्मक हुने भन्दै आकर्षक र नमूना लुम्बिनी हुनुपर्ने उनले बताइन् ।
त्यस्तै, मन्त्रालयका सचिव सुरेश अधिकारीले लुम्बिनी गुरूयोजना कार्यान्वयन हुन समय लागेकोमा असन्तुष्टि व्यक्त गरे । यो परियोजनाभन्दा बाहिर संरचना बनेको भन्दै त्यसतर्फ सजग हुन पनि उनले उनले संकेत गरे ।