site stats
बाह्रखरी :: Baahrakhari
देश
भित्ता फोडेर फरार भएकामध्ये एकजना पक्राउ, प्रहरी नै शंकाको घेरामा !

जनकपुरधाम । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको थुनुवा कक्ष फोडेर फरार भएका ६ मध्ये एकजना पक्राउ परेका छन् । हातहतियार तथा खरखजाना मुद्दाका आरोपित २८ वर्षीय रोशन महतो सोमबार नै पक्राउ परेका छन् । प्रहरीले उनलाई फरार भएको १२ घण्टा नपुग्दै पक्राउ गरेको हो ।

आइतबार राति महतोसहित विभिन्न अभियोग लागेका ६ जना थुनुवा कक्ष फोडेर फरार भएका थिए । 

धनुषाको मिथिला नगरपालिका–५ घर भएका रोशन यही माघ १२ गते नक्टाझिजबाट पेस्तोलसहित पक्राउ परेका थिए । उनी चार दिन थुनामा बसेका थिए । उनलाई प्रहरीले हतियार खरिदबिक्री गर्ने गरेको आरोपमा पक्राउ गरेको थियो ।।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यही मुद्दामा फरार भएका उनका साथी शंकर महतो भने अझै फरार छन् । शंकर रोशनकै बयानपछि पक्राउ परेका थिए । 

उनीहरूलाई प्रहरीले गत शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका थिए । त्यसको भोलिपल्ट आइतबार उनीहरूमाथि पाँच दिन म्याद थपी प्रहरीले अनुसन्धान थालेको थियो ।

यस्तै, अभद्र व्यवहार मुद्दामा यही माघ १० गते पक्राउ परेका मिथिला नगरपालिका–२ का २५ वर्षीय हरिदीप सिंह पनि फरार छन् । उनीमाथि सात दिन म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको थियो । हरदिप पाँच दिन थुनामा बसेर उनीहरूसँगै फरार भएका छन् । 

लागुऔषध मुद्दामा पुस २८ गते पक्राउ परेका क्षिरेश्वरनाथ नगरपालिका–५ का ३० वर्षीय विनोद कुमार शर्मा पनि फरार छन् । उनी १८ दिनदेखि थुनामा थिए । उनीबारे अनुसन्धानका लागि दुईपटक म्याद थप भएको थियो । तर, प्रहरीको अनुसन्धान पूरा नभएकाले उनलाई थुनामै राखिएको थियो ।

यस्तै, राष्ट्र सेवामा बाधा विरोध गर्दा पक्राउ परेका क्षिरेश्वरनाथ नगरपालिका–२ का २५ वर्षीय अमित मण्डल र रोशन यादव पनि फरार छन् । यी दुवै जना १२ दिनदेखि थुनामा थिए । 

उनीहरू थुनुवा कक्षको भित्ता फुटाएर आइतबार राति २ देखि ४ बजेको बिचमा फरार भएको प्रहरीको अनुमान छ । घटनामा प्रहरीमाथि पनि शंका गरिएको छ । इलाका प्रहरी कार्यालयको नेतृत्व गरिरहेको प्रहरी निरीक्षक (इन्सपेक्टर)बेचन यादवमाथि छानबिन गर्न दुईवटा समिति गठन भएको छ ।

वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मनोज यादवको नेतृत्वमा मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको हो ।

यस्तै, जिल्ला प्रहरी कार्यालय धनुषाले पनि प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रदीपबहादुर क्षेत्रीको संयोजकत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको छ । दुवै समितिले सुक्ष्म रूपमा छानबिन गरिरहेको बताएका छन् ।

 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  २०:०९
प्रतिक्रिया दिनुहोस्