

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र सहिदहरूको त्याग र बलिदानबाटै सम्भव रहेको बताएका छन् । सोमबार सहिद दिवसको अवसरमा लेनचौरस्थित सहिद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सहिदहरूले जीवित मानिसलाई निरन्तर प्रेरणा दिइरहने बताए । प्रधानमन्त्री प्रचण्डले देशको र जनताको निम्ति, प्रगति र समृद्धिको आफ्नो प्राण दिने सहिदहरू अमर र अजर रहने बताए । उनले माघ १६ गतेलाई फगत स्मरण र औपचारिक समारोहमा मात्रै सीमित नभई सहिदहरूको सपना, राष्ट्रको प्रतिष्ठा, जनताको प्रगतिका लागि सबै एक हुनुपर्नेमा जोड दिए । उनले सहिदको सम्मानका लागि देश विकासको संकल्प गर्न पनि सबैमा आग्रह गरे ।
प्रधानमन्त्री प्रचण्डले आज माघ १६ गते सहिद दिवसको अवसरमा सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको शालिकमा माल्यार्पण समेत गरे ।