काठमाडौं । रुघाखोकीलाई सामान्य रुपमा लिने र औषधि खानैपरे चिकित्सकको सल्लाहबिना खाने धेरैको बानी हुन्छ । तर सधैँ र सबै अवस्थाका रुघाखोकीहरु सामान्य नहुने विशेषज्ञहरु बताउँछन् ।
समयमा र सही उपचार नभए रुघाखोकीले ज्यान समेत जानसक्ने घटना हुने गरेका छन् । विश्व स्वास्थ्य संगठनकाअनुसार प्रत्येक १० वटा मृत्युमध्ये एउटा कारण श्वासप्रश्वासजन्य रोग हो ।
घाँटी खसखस हुनु, तारान्तार खोकी लागिरहनु, लहरेखोकी लाग्नु, खकार पहेँलो आउनु, वा खकारमा रगतका छिटाहरु देखिनु, छाती घ्यारघ्यार हुनु र दुखिरहनु, श्वास नपुगेजस्तो महसुस हुनु जटिलताका लक्षणहरु भएको वरिष्ठ छातीरोग विशेषज्ञ डा. निरज बमले बताए ।
उनकाअनुसार यस्ता लक्षणहरुको समयमा उपचार नभए निमोनिया गराउने, अन्य अंगमा असर पु¥याउन सक्छ । साथै यी समस्या पटकपटक दोहोरिए सामान्य औषधिहरुले निको नहुने र दीर्घकालिन रोग समेत निम्त्याउन सक्छ ।
जाडोयाममा अन्य मौसमभन्दा निमोनियाको सम्भावना बढी हुन्छ । यतिबेला मौसमको आद्रता सुख्खा हुन्छ र प्रदूषण पनि बढी हुन्छ जसकारण ब्याक्टेरियाको संक्रमण गराउने वातावरण बन्छ ।

अन्य स्रोतमा भएका संक्रामक जीवाणुहरुबाट बच्न सकिने भएपनि हावामा भएका जीवाणुहरु श्वासप्रश्वास हुँदै फोक्सोसम्म पुग्नसक्छन् । यसरी भित्र पुगेका जीवाणुले फोक्सोको भित्तामा पुगेर आक्रमण गर्छन् र त्यहाँ तरल पदार्थ जम्मा हुनपुग्छ ।
यही अवस्था निमोनिया हो, निमोनियाले श्वासप्रश्वास प्रक्रियामा अवरोध उत्पन्न हुन्छ र अक्सिजनको कमी गराइ गम्भीर समस्या निम्त्याउनसक्छ । त्यतिमात्रै नभइ फोक्सोको केही भागले काम गर्न नसक्ने डा. बमको भनाइ छ ।