नेपालमै जन्मे हुर्केर ७० नाघेका बूढापाका आफू बसेकै वडा कार्यालयमा बृद्धभत्ता लिन जाँदा पनि वडा कार्यालयले नेपाली नागरिकताको प्रमाणपत्र माग्छ । यसको अर्थ तिमी नेपाली होइनौ भनेको हो र ? आज पनि लाखौं नेपालीसँग नेपाली नागरिकताको प्रमाणपत्र नहुन सक्छ । नागरिकताको प्रमाणपत्र नहुनेबित्तिकै नेपाली होइन त कसैले भन्दैन ।
नेपालमा मात्र होइन अन्यत्र पनि त्यहाँ जन्मेहुर्केका मानिस त्यही देशका नागरिक हुन् तर तिनले नागरिकताको प्रमाणपत्र स्वतः भने पाउँदैनन् । देशले तोकेको कानुनी प्रक्रिया पूरा गरी नागरिकताको प्रमाणपत्र लिनु पर्ने हुन्छ । यही प्रमाणपत्रको आधारमा कानुनीरूपमा ऊ देशको नागरिक भएको प्रमाण राज्यलाई देखाउँछ र देशले दिएको कानुनी अधिकार उपभोग गर्छ ।
सबै देशले आफ्ना नागरिकको नागरिकताको अधिकार संविधान र कानुनबाट सुनिश्चत गरेका हुन्छन् । यो व्यक्तिको आधारभूत अधिकार हो तर पनि व्यक्तिले देशले तोकेको कानुनी प्रक्रिया भने पूरा गर्नैपर्छ ।
प्रसङ्ग रवि लामिछानेको भएकाले उनकै कुरा गरौँ ।
उनी नेपालमा जन्मे । नेपालको कानुनी प्रक्रियाअनुसार नेपाली नागरिकताको प्रमाणपत्र लिए, राहदानी लिए । के उनी यी कानुनी कागज लिनुअघि उनले अहिले भनेजस्तै ‘अनागरिक’ थिए र ? पक्कै थिएनन् । उनी नेपाली नागरिक थिए र पो जिल्ला प्रशासन कार्यालयमा पुगेर निवेदन दिएपछि नागरिकताको प्रमाणपत्र पाए ।
त्यसपछि सायद उनले नेपालमा राम्रो अवसर देखेनन् । अमेरिकाको भिसा लिए । अमेरिका पुगे । अमेरिकै राम्रो लाग्यो होला । अमेरिकी नागरिकता लिए ।
मननीय छ, अमेरिकाले उनलाई अमेरिकी नागरिकता दिनुअघि नेपाली नागरिकता त्यागेको निस्सा खोज्यो । उनले नेपाली नागरिकता त्यागे र त्यागेको प्रमाण दिए । त्यसबीचमा न उनीसँग नेपाली नागरिकताको प्रमाणपत्र रह्यो न अमेरिकाको । उनको पहिचान थियो नेपालमा जन्मेर अमेरिकामा स्थायी बसोवास गर्ने व्यक्ति ।
उनले त्यतिबेला अमेरिकी अधिकारी समक्ष मैले नेपाली नागरिकता त्यागेँ तर तिमीहरूले नागरिकता दिएकाछैनौ म 'अनागरिक' भएँ भने होलान् त ? पक्कै भनेनन् । बरु अमेरिकी कानुनले तोकेको नागरिकता प्राप्तिको प्रक्रियालाई पूरा गरेर अमेरिकी नागरिकताको प्रमाणपत्र कुरेर बसे होलान् ।
अमेरिकी सरकारले रविको सबै कानुनी प्रक्रिया र प्रमाण पुगेको देखेपछि उनलाई नागरिकता दियो ।
उनी नेपाल फर्के । उनले नेपाली नागरिक हुनुभन्दा पनि अमेरिकी नै भएर पत्रकारिता गर्न चाहेको देखिन्थ्यो । उनले नेपालमा पत्रकारिता सुरु गर्नुअघि अमेरिकी नागरिकता त्याग्ने प्रक्रिया सुरु गरेका थिएनन् ।
रवि अमेरिकी नागरिक भएकाले नेपालमा पत्रकारिता गर्न 'वर्क परमिट' लिनुपर्ने कुरा उठेपछि मात्र उनले नेपाली हुन अमेरिकी नागरिकता त्याग्ने प्रक्रिया थाले । उनले अमेरिकी नागरिकताजस्तो अद्भूत वस्तु त्याग्ने महानता आफूले देखाएकोसम्म भनेका थिए ।
नेपालमा जन्मेको अमेरिकामा स्थायी बसोबास भएको व्यक्तिको आधारमा अमेरिकी नागरिकता पाउने अधिकार अमेरिकी संविधान र कानुनले गरेको आधारमा अमेरिकी नागरिकता पाउने प्रक्रिया पूरा गरेपछि रविले अमेरिकी नागरिकता पाए । हो त्यसैगरी अमेरिकी नागरिकता त्यागेपछि नेपालमा जन्मेको, पहिला नेपाली नागरिक भएको र हाल नेपालमै बसोबास गरेको आधारमा उनको नेपाली नागरिकता पाउने अधिकार नेपालको संविधान र कानुनले सुनिश्चित गरेको छ । तर उनले पनि अरू नेपालीले जस्तै नेपालको नागरिकता प्राप्तिसम्बन्धी विभिन्न कानुनले गरेको व्यवस्थाअनुरूप कानुनी प्रक्रिया भने पूरा गर्नै पर्छ ।
सर्वोच्च अदालतको शुकवारको फैसलाले रविलाई ‘अनागरिक’ भनेको छैन । बरु, नागरिकता प्राप्त गर्न नेपालको संविधान र कानुनले तोकेबमोजिम प्रक्रिया पूरा गरेको नदेखिएकोले गर्नु गराउनु भनेको हो । यसैलाई विधि वा विधिको शासन भनिन्छ ।
नागरिकताको प्रमाणपत्र नलिएका लाखौं नेपाली कहिल्यै कुनै देशको नागरिक पनि भएका छैनन् । तिनले नेपाली नागरिकता त्यागेका पनि हैनन् । तैपनि उनीहरूले नेपाली नागरिकताको प्रमाणपत्र पाउन कानुनबमोजिम प्रमाण र प्रक्रिया पूरा गरेर निवेदन दिनुपर्ने हुन्छ । अनि देशको नागरिकता त्यागेर एकपटक विदेशी नागरिकता लिइसकेका रविले कसरी स्वतः नागरिकता पाउन सक्छन् ?
विधिको शासनको दुहाइ दिने त्यसमाथि गृहमन्त्रीको जिम्मेवारी लिएर बसेको व्यक्तिले देशको विद्यमान कानुन र कानुनी प्रक्रियाको ‘खिसिट्यूरी’ गरी आफू ‘अनागरिक’ भएको व्यङ्ग्य गरे । यो गैरजिम्मेदारी, दम्भ र कुण्ठा भरिएको अभिव्यक्ति हो ।
उनी त आत्मालोचित हुनुपर्ने थियो । उनले अब आफूले कानुनले तोकेको विधि र प्रक्रियाअनुसार नेपाली नागरिकता लिने उद्घोष गर्नुपर्थ्यो ।
आफ्नो इच्छा, चाहना र बोली नै कानुन बनाउने राणाहरू, कानुनलाई बुटले कुल्चने पञ्चहरू, कानुनी शासनलाई आफ्नो स्वार्थमा हातमा लिने आजका ठूला भनाउँदा दलका नेता र कानुनी प्रक्रियालाई खिसीट्यूरी गर्ने रवि बीच के फरक रह्यो । तपाईँ नै छुट्याउनु होस् ।