site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
खानीगाउँमा पुग्यो टेलिकमको फोरजी सेवा

बलेवा । बागलुङ जिल्लाको दुर्गम गाउँ ढोरपाटन नगरपालिका ६ खानीगाउँमा नेपाल टेलिकमको फोरजी इन्टरनेट सेवा विस्तार गरिएको छ । टेलिकमले एक वर्षअघि टूजी र थ्रीजी इन्टरनेट सेवा विस्तार गरेको खानीगाउँमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो । 

नेपाल टेलिकमले डिजिटल नेपाल निर्माण गर्ने लक्ष्यअनुरुप देशभरका विकट र दुर्गम बस्तीलाई प्राथमिकतामा राखेर सेवा विस्तार र स्तरोन्नति कार्यलाई तीव्रता दिएको नेपाल टेलिकम बागलुङका प्रमुख वरिष्ट इञ्जिनियर केशव शर्माले बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“खानीगाउँमा एक वर्ष पहिले नै टूजी र थ्रीजीको इन्टरनेट सेवा विस्तार गरेका थियौँ,” प्रमुख शर्माले भने, “विकट स्थानलाई प्राथमिकतामा राखेर सेवा विस्तार गर्ने कार्यालयको उद्देश्यअनुरुप यस वर्षदेखि फोरजी इन्टरनेट सेवा सञ्चालन गरेका हौँ ।”

खानीगाउँमाथि रहेको डाँडामा १२ मिटर अग्लो टावर निर्माण गरी फोरजी इन्टरनेट सेवा उपलब्ध गराइएको प्रमुख शर्माले बताए । उनले सेवाबाट खानीगाउँसहित खिबाङ, खोरिया, थाम्का र चामीदुवार गाउँका २०० बढी घरधुरी प्रत्यक्ष लाभान्वित भएको जानकारी दिए ।  

जिल्लाकै निकै दुर्गम र विकट रहेको स्थानमा फोरजी मोबाइल सञ्चालन भएसँगै इन्टरनेटको पहुँचबाट टाढा रहेका नागरिकलाई जोडन सफल भएको टेलिकमले जनाएको छ । 

फोरजी सेवा सञ्चालन भएपछि गाउँमै मोबाइल डेटामार्फत् इन्टरनेट चलाउन सहज भएको स्थानीय रेशम बुढामगरले बताए । उनले सूचना र सञ्चारको व्यवस्था नहुँदा केही वर्ष पहिलेसम्म हुलाक र कटुवाल प्रथाको भरपर्नुपर्ने बाध्यता अहिले टेलिफोन, मोबाइल र इन्टरनेटको सुविधाले हट्दै गएको बताए । 

“भौगोलिक हिसाबले विकट रहेको गाउँमा मोबाइल सेवा नहुँदा सञ्चारमा समस्या रहेको थियो,” मगरले भने, “कुनै जानकारी, सूचना आदानप्रदान गर्न सहज भएको छ ।” रासस

प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  १९:३६
प्रतिक्रिया दिनुहोस्