site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रपति निर्वाचनको माहोल बिग्रने भयले रोकियो कांग्रेस बैठक 
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले तेस्रोपटक केन्द्रीय समिति बैठक सारेको छ । 

मंसिर ४ को प्रदेश र प्रतिनिधिसभा बैठकपश्चात् पुस २२ गतेका लागि केन्द्रीय समिति बैठक बोलाइएको थियो । 

बैठकअगावै विज्ञप्ति जारी गर्दै पुस २८ गतेका लागि बैठक सारियो । 

Prabhu Bank
Agni Group
NIC Asia

बैठकको तयारी नसकिँदै पुनः मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बैठक माघ १५ का लागि सारिएको जानकारी गराए । 

तर, माघ १२ गते बिहीबार विज्ञप्ति जारी गर्दै उनै मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक अनिश्चित समयका लागि बैठक स्थगन गरिएको जानकारी दिए ।

Global Ime bank

“नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७९ माघ १५ गते आइतबार अपराह्न १ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भनिएकोमा विशेष कारणवस उक्त बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको छ,” विज्ञप्तिमा लेखिएको छ ।

राष्ट्रपतिमा आश, माहोल बिग्रने डर

सबै समीकरण भताभुङ्ग भए पनि कांग्रेसलाई अझै आश राष्ट्रपतिमा छ । प्रदेश सांसदहरूले समेत गोप्य मतदान गर्ने भएकाले वर्तमान सत्ता समीकरणबाट मत चोर्न सकिने नीतिमा सभापति शेरबहादुर देउवा छन् । 

राष्ट्रपति बन्ने आश पालेर बसेका रामचन्द्र पौडेल निरन्तर सत्तारूढ दल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सम्पर्कमा छन् । 

नेकपा (माओवादी केन्द्र)ले पनि गोप्य मतक्रस गराउने वचन दिएको दाबी कांग्रेस नेताहरूको छ । 

कांग्रेस अहिले माओवादी र नेकपा (एमाले)बाहेक अन्य दललाई चिढ्याउने पक्षमा छैन । आइतबार शेखर समूहले बैठक राखेर दाहाललाई विश्वासको मत दिनु गलत भएको निष्कर्ष निकालेको थियो । 

बैठकमा सहभागी नेताहरूका अनुसार समूहका नेता डा. शेखर कोइरालाले विश्वासको मत दिनु गलत भएको बोलेका थिए । 

यो समाचारले मिडियामा ठूलो स्पेस पाएपछि शेखर आफैँ यसको प्रतिरक्षामा उत्रिएका थिए । 

उनले आफूले बैठकमा त्यस्तो नबोलेको भन्दै मिडियामा गलत प्रचार भएको विराटनगर पुगेर उल्लेख गर्न भ्याए । 

सोही कारणले १० गते बस्ने भनिएको समूहको बैठक स्थगन भएको थियो । यसले पनि प्रमाणित गर्छ कांग्रेस राष्ट्रपतिका लागि माहोल बनाइरहेको छ । 

देउवानिकट केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ राष्ट्रपति निर्वाचन अघि केन्द्रीय समिति बैठक बस्ने सम्भावना नरहेको बताउँछन् ।

“बैठक राष्ट्रपपति निर्वाचनपश्चात् बस्छ । अहिले हाम्रो ध्यान पूरै राष्ट्रपतिको चुनावमा छ,” उनले बाह्रखरीसँग भने, “शेखरजीहरुको बैठक बसेर माहोल बिग्रिन खोज्यो । उहाँहरुले खण्डन नै गर्नुपर्यो । त्यसकारण अहिले हामीले निर्वाचन फोकस गरेका छौं । त्यसपश्चात् मात्र बैठक ।”

नेतृत्वलाई प्रश्नैप्रश्नको डर

साउन २ गतेपछि कांग्रेस केन्द्रीय समिति बैठक बस्न सकेको छैन । 

पार्टी विधानको धारा २१ को उपधारा १२ अनुसार पार्टी केन्द्रीय समिति बैठक प्रत्येक दुई महिनामा एकपटक बस्नुपर्ने हुन्छ । 

विधानअनुसार साउनपश्चात् तीनपटक केन्द्रीय समिति बैठक बस्नुपर्ने हो । तर, ६ महिनाको अवधिमा एकपटक पनि केन्द्रीय समिति बैठक बसेको छैन । 

यसबीचमा विधानले नचिन्ने पदाधिकारी बैठक, पदाधिकारी र पूर्वपदाधिकारी बैठक भने बसेको छ ।  विधानसम्मत् पटकपटक केन्द्रीय कार्यसम्पादन समिति बैठक भने बसेको छ । 

बैठकमा भएका निर्णयहरूलाई आधिकारिकता दिने थलो केन्द्रीय समिति बैठक नबसेकाले पनि कार्यसम्पादन समितिको बैठकको निर्णयहरूले समेत आधिकारिकता पाउन सकेका छैनन् । 

पार्टी केन्द्रीय सदस्य कल्याण गुरुङ बैठक सार्नुको औचित्य नभएको बताउँछन् । उनी चाँडोभन्दा चाडो केन्द्रीय समिति बैठक बस्नुपर्नेमा जोड दिन्छन् । 

“छलफल गर्नुपर्ने विषयहरू धेरै छन् । बैठक सार्न नपाइने भन्ने त हैन । तर, समयमै बैठक बसेर पार्टीलाई जीवन्त दिने विषयमा छलफल चलाइनुपर्छ,” गुरुङले भने ।

साउनमा बसेको केन्द्रीय समिति बैठकमा चुनावी गठबन्धनको विषयले प्राथामिकता पाएको थियो । त्यसबखत गठबन्धनको विरोध गर्ने केन्द्रीय सदस्यहरुको आवाज दबाउँदै चुनावी गठबन्धन गर्ने निर्णय नेतृत्वले गरेको थियो । 

गठबन्धन गर्ने निर्णय गरिए पनि ७४ सिट अन्य दललाई छोडिएको विषयमा संस्थापन पक्षकै केन्द्रीय सदस्यहरुले विरोध गरेका थिए । सो निर्णय केन्द्रीय समितिले गरेको थिएन । 

कूल १६५ मध्ये ९१ सिटमा उमेदवारी दिएर ५७ सिटमात्र जितेको कांग्रेसलाई गठबन्धनको समीक्षा र समानुपातिकमा घटेको सात प्रतिशत मतको विषमया छलफल गर्नुपर्ने दबाब छ । 

केन्द्रदेखि सात प्रदेश र अन्य संवैधानिक निकायमा पार्टीको बर्चस्व हुने भनेर चुनावी गठबन्धन गरिएको र पुस १० गते बिहान भएको गल्तीले सत्ता गुमेको विषयमा पनि नेतृत्वमाथि प्रश्न उठेको छ । 

माओवादी केन्द्र नेतृत्वको सरकारलाई विश्वासको मत किन र के उद्देश्यसहित दिएको भन्ने प्रश्न पनि अहिले बेजोडले उठिरहेको छ । 

शीर्ष केही नेतृत्वबाहेक ९० प्रतिशत केन्द्रीय सदस्यहरू केन्द्रीय समिति बैठक बसेर गहन छलफल गर्नुपर्ने पक्षमा उभिएका छन् । नेतृत्व यी र यस्तै प्रश्नहरूबाट बच्न केन्द्रीय समिति बैठक छल्ने प्रयासमा छ । 

केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ प्रश्नको सामना गर्ने हैसियत नेतृत्वसँग गुमेपछि मुख थुन्नलाई बैठक सारिएको बताउँछन् । 

“हिजो गठबन्धन गर्नुहुँदैन भनेर केन्द्रीय समिति बैठकमा भन्दा बहुमतले निर्णय लादियो । सरकार बनाउने बेला चाहिँ किन गठबन्धन गर्न सकिएन ?,” स्नेहीले बाह्रखरीसँग भने, “निर्णय गर्नेबेला विधानले नचिन्ने समिति बसेर निर्णय गरेको छ । एउटा कार्यसम्पादनको निर्णय अनुमोदन नहुँदै पटकपटक के आधारमा कार्यसम्पादन बैठक भन्दै निर्णय गरियो ? अहिले यसैको उत्तर दिन नेतृत्व डराएको हो ।”

रसाइलीले भनेजस्तै नेतृत्व अहिले केन्द्रीय समिति सदस्यहरू, पार्टीका अन्य तहका जिम्मेवार नेताहरू तथा कार्यकर्ताहरूसँग डराएको छ । 

विशेषगरी गठबन्धन गरेर पनि कांग्रेसले अपेक्षित सिट जित्न नसक्नु, पार्टीभित्र नरुचाइएका पात्रहरुलाई समानुपातिकमा राखेर सात प्रतिशत मत घट्नु र गठबन्धन गरेर सरकार बनाउन नसकेर धेरै नेता कार्यकर्ताहरू शक्तिविहीन हुँदा कांग्रेस कमजोर भएको जिम्मा कसले लिने भन्ने आलोचना अहिले नेतृत्वले खेपिरहेको छ । 


सत्ता गुमाएर पनि प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रिय सहमति भन्दै विश्वासको मत दिएर कांग्रेसले हैसियत गुमाउन खोजेको भन्ने चर्को आलोचना छ । 

बैठक बसेर हुने छलफलले राष्ट्रपति चुनावमा असर गर्छ भन्ने भय आफूहरूलाई भएको एक पदाधिकारीले बाह्रखरीसँग बताए ।

“राष्ट्रपति चुनावअघि आउने प्रश्नको उत्तर दिन सहज छैन । प्रचण्डको विषयमा पर्याप्त टिप्पणीहरू आउन सक्छन् । अहिले तत्काल प्रचण्डमाथि कडा टिप्पणी गरेर उनलाई बिच्काउने अवस्था पनि छैन । त्यसकारण बैठक अहिले गर्न सक्ने अवस्था नभएको हो,” ती पदाधिकारीले भने । 

केन्द्रीय सदस्यको गुनासो ‘तयारी गर्‍यो बैठक बस्दैन’

पटकपटक बैठक डाक्दै बैठक नबस्दा केन्द्रीय नेताहरूले दिक्क भएको प्रतिक्रिया दिएका छन् । 

बैठक अनिश्चित समयका लागि स्थगन गरेसँगै संस्थापन र इतर समूहका नेताहरू दिक्क भएका छन् । संस्थापन र इतर समूह दुवैको सहमतिमा सारिएको चाहिँ निश्चित भएको बैठकको पक्षमा रहेका नेताहरुको भनाइ छ । 

इतर समूहका नेता प्रकाश स्नेही बैठक बोलाउनुपर्‍यो भन्दै दबाब दिनुको विकल्प नभएको तर्क गर्छन् । अनि पटकपटक बैठक सार्ने काम अस्वीकार्य हुने बताउँछन् । 

“हामीले कहाँ गएर बोल्ने ? अब लिखित निवेदन दिएर बैठक बोलाउन माग गर्नुपर्ने ? वैकल्पिक बाटो अपनाएर दबाब दिएर भए पनि बैठक बस्ने माहोल तयार गर्नुपर्ने भयो,” उनले भने ।

यतिबेला कांग्रेसले राष्ट्रिय राजनीतिमा कसरी अघि बढ्ने भनेर रणनीति बनाउनुपर्ने आवश्यकता छ ।  ६ महिनाभित्र बनाउनुपर्ने विभाग बनेको छैन । भ्रातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिनुपर्ने छ । 

मरेर पाएको प्रतिपक्ष दलको हैसियतमा कसरी खरो उत्रने भनेर छलफल गर्नुपर्ने अवस्था छ ।  जनमतको विश्लेषण र भएका गल्तीहरुको समीक्षा गरेर भावि रणनीति बनाउनुपर्ने आवश्यक्ता छ । 

सभापति देउवानिकट केन्द्रीय सदस्य नैनसिंह महर पटकपटक केन्द्रीय समितिको बैठक सारेर पार्टीको लोकतान्त्रिक चरित्रमा ह्रास आएको उल्लेख गर्छन् ।

“७४ सिट बाँढ्ने कुराको निर्णय विधानले नचिनेको समितिबाट हुन्छ । पदाधिकारी र पूर्वपदाधिकारी बैठक भनेर निर्णय गरेर लाजमर्दो काम भइरहेको छ । टिकट वितरणको र परिणामको समीक्षा गर्नुपर्दैन ?,” उनले भने, “यसरी भागेर कहिलेसम्म हुन्छ ? मुद्दा कुरा उठ्छ तर त्यहाँबाट समाधान पनि त निस्कन्छ नि । बैठक सार्ने काम ठिक भएन ।”


अर्का केन्द्रीय सदस्य प्रा. डा. गोविन्दराज पोखरेल पार्टीले नेतृत्वको विचार बन्धक बनाउने काम गरिरहेको बताउँछन् । 

पार्टीलाई अहिले निकास र गतिशील बनाउने समयमा छलफललाई बन्देज गरेर नेतृत्वले पार्टीलाई पुनः दिशाविहीन बनाउन लागि परेको तर्क उनको छ ।

“हामी अहिले सरकारमा छैनौं । राष्ट्रपति चुनाव कहिले हो त्यो पनि तोकिएको छैन । यतिबेला पार्टीलाई निकाश दिने र गति दिने विषयमा घनिभूत छलफल हुनुपर्ने हो,” उनले बाह्रखरीसँग भने, “हामीले तयारी नै गरेर एजेन्डा बनाएका थियौं । तर, खै नेतृत्व सुन्नै चाहँदैन । यो त अलोकतान्त्रिक र हाम्रो विचारलाई बन्धक बनाउने कुरा भयो नि । वृहत् आयाममा छलफल गरेर रणनीति बनाउन पाए पो हुन्थ्यो त । बैठक सारेर नेतृत्वले राम्रो काम गरेन ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC