राज्य सञ्चालनको राणाकालीन शैली बदल्न धेरै ढिलो भइसकेको छ । अझै पनि शासकहरू चेत्ने लक्षण देखिएको छैन । जनसाधारणमा अहिले राज्यप्रति वितृष्णा र निराशा व्याप्त छ ।
राज्य र समाजका विभिन्न पात्रसँगको व्यवहारमा पाएको धोका र हन्डरले इलामका युवा उद्यमी प्रेमप्रसाद आचार्यलाई संसद् भवन सामु‘आत्मदाह’ अवस्थामा पुर्यायो । उनको भोगाइ भने धेरैको साझा देखिन्छ ।
आचार्यको आत्मदाहपछि व्यक्त जनसाधारणसम्मका प्रतिक्रियामा ग्लानि, पश्चाताप, शासन व्यवस्थाप्रति वितृष्णा र समग्रमा शासकहरूप्रति आक्रोश प्रकट भएको देखिएको छ । लाग्छ, समाज विस्फोटको सङ्घारमा पुगेको छ ।
राज्यको व्यवस्थामा आमूल परिवर्तनको खाँचो छ भन्ने सबैले स्वीकार गरेका छन् । शासन प्रणाली बदल्दैमा भने त्यस्तो परिवर्तन हुँदो रहेनछ । पात्रको परिवर्तनमात्रले पनि पुग्दो रहेनछ ।
समाजको सोचाइदेखि शासकको प्रवृत्तिसम्म बदल्न सके वाञ्छित परिवर्तन हुन्थ्यो कि रु मूलतः राणाकालदेखिकै राज्यको ढुकुटीमा शासकको दोहनलाई वैध ठान्ने अभ्यास र विधि नबदलीकन समाजलाई न्यायपूर्ण बनाउन सकिँदैन ।
आचार्यको असफलतामा उनका कमजोरी र महत्त्वाकांक्षा पनि कारक देखिन्छन् । परन्तु, उनलाई अनुदानको लोभ देखाएर झुलाउने विभिन्न तहका अधिकारीहरू नै उनका हत्यारा हुन् भन्नु अत्युक्ति हुँदैन ।
यस्तै, आत्मदाह गर्न विवश बनाउनेमा केही व्यवसायीको नाम पनि आचार्यले उल्लेख गरेका छन् । तिनको आआफ्नै स्पष्टीकरण हुनसक्छ तर आत्मदाह गर्ने अठोट गरेको व्यक्तिले कसैलाई फत्तुरै त किन लगाउला र?
सरकार सधैँजस्तै यसपटक पनि केही ‘आँसुपुछनी’ दिएर पन्छिनेछ । परिवारलाई पनि शोक गरेर कति दिन पुग्छ ररु अहिले आक्रोशित समाजले पनि बिस्तारै प्रेमप्रसाद आचार्यको दुःखान्त बिर्सनेछ ।
यस्तै प्रकृतिको घटना सन् २०१० मा ट्युनिसियामा हुँदा थुप्रै अरब मुलुकमा सत्ताविरुद्ध विद्रोह भएको थियो । नेपालमा भने अहिले सत्तासँग जति नै क्रुद्ध भए पनि विद्रोहको सम्भावना देखिँदैन ।
परन्तु, अति भयो भने खती त हुन्छ हुन्छ । निराशाले आत्मघातमात्र होइन प्रतिशोध पनि जन्माउँछ । सबैतिरबाट निराश व्यक्ति ज्यान तर्पेर प्रतिशोधमा उत्रने अवस्था आउनसक्छ ।
सहकारी संस्थाबाट लिएको रिनको किस्ता तिर्न नसकेर सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका–२ का रामदेव मरिकले रूखमा झुन्डिएर आत्महत्या गरेको समाचार छ । अर्थात्, प्रेमप्रसादहरू एक्लै छैनन् ।
मिटर ब्याजीले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका (५ की डिल्ली बुढामगरको घरबार हत्याएको समाचार सार्वजनिक भएको छ । मिटर ब्याजीले तमसुकको साटो खाली चेकमा हस्ताक्षर गराउने नयाँ तरिका अपनाएछन् ।
अर्कातिर, बैंकहरूको ब्याज तिर्न नसकेर सडक आन्दोलनमा उत्रेका व्यवसायीप्रति नेपाल राष्ट्रबैंकका गभर्नरको खप्कीले शासकको संवेदनहीनता उदाङ्गो भएको छ । यसले कतै अरू धेरै प्रेमप्रसादहरू जन्माउन शासन संयन्त्रै त लागेको छैन भन्ने शङ्का उब्जिन्छ ।
यसैले सरकार टालटुल गरेर पन्छने होइन शासन शैलीको सुधारका लागि प्रवृत्त र प्रतिबद्ध होस् । अरू जोजसले आचार्यलाई ठगे सताएका हुन् तिनले पनि छातीमा हात राखेर आत्मालोचना गरून् ।
ठूलो विध्वंश नहुँदै परिवर्तनको अग्रसरता देखाउनु अहिलेका शासकको दायित्व पनि हो । परिवर्तन जति ढिलो सुरु हुन्छ त्यसले उति नै धेरै खती गर्छ ।सत्ताधारीलाई प्रेमप्रसाद आचार्यले दिएको सन्देश र चुनौती हेक्का रहोस् ।