
बुटवल । सिद्धार्थनगर नगरपालिका १३ देवकोटा चोक भैरहवामा रहेको ‘जेल रेस्टुरेन्ट’लाई जिल्ला प्रशासन कार्यालयले बन्द गराएपछि बढेको दबाब थेग्न नसकेपछि पुनः सञ्चालनको अनुमति पाएको छ ।
रेस्टुरेन्टहरुले फरक ‘थिम’ प्रयोग गर्ने लहड चलेसँगै जेलको जस्तै बातावरणसहित सञ्चालनमा आएको ‘जेल रेस्टुरेन्ट’ लाई प्रमुख जिल्ला अधिकारीसहितको अनुगमन टोलीले बन्द गरिदिएको थियो ।
रेस्टुरेन्टको ढाँचा जेलजस्तो रहेको र त्यहाँ प्रयोग भएका सामग्री सुरक्षा निकायले प्रयोग गर्ने खालको रहेको र सोबारे अनुसन्धान गर्नुपर्ने भन्दै प्रशासनले रेस्टुरेन्ट बन्द गरिदिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको थियो ।
भैरहवालाई कार्यक्षेत्र बनाएर रेस्टुरेन्ट सञ्चालन गर्ने दुई युवाहरु विष्णु पौडेल र दीपु जैसवाल भने नेपालमा फरक ‘थिम’लाई भिजाउँदै मनोरञ्जनात्मक पहिचान बनाउने प्रयास रेस्टुरेन्ट चलाएको बताउँछन् ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जेलको कोठाहरु, हतकडी, बन्दुक, फाँसीको डोरीलगायतका सामग्री देखेपछि बन्द गरे पनि बुधबारको छलफल पछि भने बिहीबारबाट रेस्टुरेन्ट चलाउन पाउने जनाएको छ ।
सोमबार बन्द भएको रेस्टुरेन्टका सञ्चालक र प्रशासन बीचमा मंगलबार भएको छलफल नटुंगिएपछि बुधबारका लागि छलफलका लागि बोलाइएको थियो ।
रेस्टुरेन्ट सञ्चालन गर्न पाउने यस्ता छन् सर्त
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भरतमणि पाण्डेले यो विषयमा सहमति जुटेको बताउँदै अब घरेलु तथा साना उद्योगले सञ्चालन गर्ने अनुमति दिएपछि सर्तसहित सञ्चालन गर्न मिल्ने प्रतिक्रिया दिए ।
उनले रेस्टुरेन्टको नाम परिवर्तन गर्नुपर्ने, त्यहाँ प्रयोग गरिएका ‘थिम’हरुले समाजलाई नकारात्मक तर्फ उत्प्रेरित गरिरहेको गुनासो आएकोले त्यहीअनुसार परिमार्जन गरेमा मात्रै सञ्चालन गर्न पाउने बताउँछन् ।
उनले भने, “हामीले अनुगमन गर्दा जुन किसिमका सामग्रीहरु फेला पार्यौँ ति सामग्रीहरु समाजमा त्यसै छाड्न नमिल्ने खालका छन् । हतकडी, फाँसीको फन्दा, बन्दुकहरु पनि हामीले जफथ गरेका छौँ । जेल नै देखिनेजस्तो माहोल छ । अब उहाँहरुले यो सबै परिवर्तन गर्नुपर्छ । बाँकी प्रक्रिया घरेलु तथा साना उद्योगले नै गर्नेछ । सञ्चालकहरुले घरेलुको निर्णयअनुसार नै गर्नुहुन्छ होला ।”
व्यवसायी भन्छन्– नाम र ‘थिम’ परिवर्तन गरेर कसरी चालाउने रेस्टुरेन्ट ?
नवलपरासी घर भएका ३८ वर्षीय सञ्चालक विष्णु पौडेलले रेस्टुरेन्ट पुनः सञ्चालन गर्नको लागि सर्तहरु राखिएको बताउँदै ‘थिम’ र नाम परिवर्तन गर्न नसक्ने बताए ।
उनले ‘थिम’ अनुसारको नाम भएमा मात्रै रेस्टुरेन्ट चल्ने बताउँदै यो सम्भव नभएको बताए ।
घरेलु तथा साना उद्योगले रेस्टुरेन्टको नाम परिवर्तन गर्न चिठ्ठी दिएको उल्लेख गर्दै पौडेलले भने, “नाम परिवर्तन गर्यो भने त हामीले त्यत्रो लगानी गरेको मतलब भएन नि ! रेस्टुरेन्ट त्यही नामले गर्दा चिनिएको र चलेको हुँदा हामीहरू नाम हटाउँदैनौं ।”
उनले सुरूमा रेस्टुरेन्ट दर्ता गर्दा पनि सोही नाममा दर्ता गरिएको भन्दै नाम नहट्ने जनाए । बाँकी खेलौना हतकडी, बन्दुक र डोरीहरू अब नराख्नेमा सहमत भएको बताए ।
अर्का सञ्चालक भैरहवा क्षेत्रमै घर भएका ३१ वर्षीय दीपु जैसवाल जेल ‘थिम’का यी रेस्टुरेन्ट नेपालमा पहिलोपटक खोलिए पनि यस्ता खालका रेस्टुरेन्ट संसारभरि नै रहेको बताउँछन् ।
अमेरिका, बेलायत, जापान, थाइल्यान्ड, दक्षिण अफ्रिकादेखि धेरै देशमा जेल ढाँचाका रेस्टुरेन्टहरू खुलिसकेका छन् ।
भारतमा भने यस्ता रेस्टुरेन्टहरू धेरै ठाउँमा छन् । जैसवालले पनि आफूले भारतमै पहिलोपटक यस्तो रेस्टुरेन्ट देखेर नेपालमा भित्र्याएको बताउँछन् ।
नयाँ सोचसहितको लगानीलाई प्रोत्साहन गर्नुपर्छ : होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ
होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका प्रथम उपाध्यक्ष लेखनाथ भण्डारीले नयाँ सोचसहित व्यवसायमा लगानी गरेकाहरुलाई प्रोत्साहन गर्नुपर्ने बताउँछन् ।
समाजले केही नयाँपन खोजीरहने बताउँदै त्यसलाई स्वीकार्न प्रशासन तयार हुनुपर्ने बताए ।
बाह्रखरीसँग कुराकानी गर्दै उनले भने, “हामीले नयाँ सोच र नयाँ डिजाइनसहित सञ्चालनमा ल्याएका होटल तथा रेस्टुरेन्टलाई हामीले सहयोग र प्रोत्साहन गर्नुपर्छ ।”
उनले जेल रेस्टुरेन्टमा केही परिवर्तन गर्नुपर्ने कुरा भए पनि सुरुमा नै यसमा ध्यान नदिएकोले समस्या भए पनि अब सञ्चालनमा ल्याउनको लागि आवश्यक पहल गर्ने बताए ।
यसरी बन्द भएको थियो रेस्टुरेन्ट
देवकोटा चोकमा रहेको रेस्टुरेन्ट एकमहिना अघिमात्रै उद्घाटन गरिएको थियो । बाहिरबाट हेर्दा सामान्य देखिए पनि त्यहाँ बसेर खाएका तस्बिर तथा भिडियोहरु सामाजिक सञ्जालमा भाइरल बनेका थिए ।
जेलमा फोटो खिच्ने तथा टिकटक बनाउने, बन्दुक चलाउन थालेका तस्बिर तथा भिडियोहरु र केहीले फाँसीको डोरीमा जिब्रो टोकेर मृत्यु भएकोजस्तो अभिनय गरेका तस्बिर तथा भिडियोहरु समाजिक सञ्जालमा भाइरल बनेपछि जिल्ला प्रशसानमा उजुरी परेको थियो ।
त्यसपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पाण्डेसहितको टोलीले रेस्टुरेन्टमा अनुगमन गर्यो ।
अनुगमनका क्रममा ढोकाभित्र छिर्नासाथ जेलको सेलमा झुन्ड्याइएका बन्दुकहरु र साइडमै झुन्डीएको फाँसीको डोरी भेटियो ।
९ वटा जेलका सेटहरु रहेको रेस्टुरेन्टलाई प्रमुख जिल्ला अधिकारी पाण्डेले तत्काल सिल गर्ने निर्णय गरे ।
रेस्टुरेन्टका सञ्चालकहरुले रेस्टुरेन्टमा प्रयोग भएका सामग्रीहरु खेलौना रहेको बताउँदै रेस्टुरेन्टमा बनाएको डकुमेन्टरीसमेत देखाए तर प्रशासनले रेस्टुरेन्टका सञ्चालकको केही कुरा नसुन्दै बन्द गर्ने निर्णय गर्दै सिल गरिदियो ।
यसरी खुलेको थियो जेल ‘थिम’को जेल रेस्टुरेन्ट
दुई युवा विष्णु पौडेल र दीपु जैसवालले झन्डै एक करोड रूपैयाँ लगानीमा नयाँ ‘थिम’ सहितको रेस्टुरेन्ट सञ्चालन गरेका हुन् ।
यसअघि पौडेलले फर्निचर व्यवसाय र जैसवालले हार्डवेयर व्यवसाय सञ्चालन गर्दा निकै घाटा भएपछि ऋण खोजेर १ करोडको लगानीमा रेस्टुरेन्ट सञ्चालन गरेको बताउँछन् ।
पहिला गरेको व्यवसाय कोरोना महामारीले निकै थिचेर घाटा भोगे पनि अझै एकपटक प्रयास गर्ने मनसायले आफुहरुले व्यवसाय सञ्चालन गरेको सञ्चालकहरु बताउँछन् ।
ऋण तिर्नको लागि पनि व्यवसाय चल्नुपर्ने बताउँदै यो व्यवसाय नचलेमा करोडौँ रुपैयाँ ऋणमा डुब्ने बताए ।
मासिक ६० हजार बहाल भाडा रहेको बताउँदै कर्मचारीको तलबमा मात्रै २ लाख बढी खर्च भइरहेको रेस्टुरेन्टका सञ्चालक जैसवालले बताए ।
सञ्चालक जैसवालले भारतको गोरखपुर घुम्न गएको बेलामा यो ‘थिम’ देखेको बताउँदै यसको आकर्षण र व्यापार राम्रो हुने भएकोले यसतर्फ आकर्षण बढेको बताए ।
जेल ‘थिम’का यी रेस्टुरेन्ट नेपालमा पहिलोपटक खोलिए पनि यस्ता खालका रेस्टुरेन्ट संसारभरि नै रहेको बताउँछन् ।
अमेरिका, बेलायत, जापान, थाइल्यान्ड, दक्षिण अफ्रिकादेखि धेरै देशमा जेल ढाँचाका रेस्टुरेन्टहरू खुलिसकेका छन् ।
भारतमा भने यस्ता रेस्टुरेन्टहरू धेरै ठाउँमा छन् । जैसवालले पनि आफूले भारतमै पहिलोपटक यस्तो रेस्टुरेन्ट देखेर नेपालमा भित्र्याएको बताउँछन् ।
रेस्टुरेन्टमा जेलको ढाँचा ल्याउन केही खेलौनाहरु प्रयोग गरेर नेपालमा पनि नयाँ प्रयोग हुने सोचेर साथी विष्णु पौडेलसँगको साझेदारीमा खोलेको उनको भनाइ छ ।
रेस्टुरेन्टमा प्रयोग भएका सामग्री मनोरञ्जनका लागि मात्र राखिएको उनले बताए ।
यस्ता सामग्री बजार वा मेलातिर खुलेआम प्रयोग भइरहेकाले प्रशासन कार्यालयले आफूहरूलाई मात्र च्याप्न नहुने उनको जिकिर छ ।
“हामीले रेस्टुरेन्टमा राखेको बन्दुक मेलाहरूमा देखिने बेलुनमा हाल्ने बन्दुक हो,” उनले भने, “मेलामा खुलेआम चलाउँदा कुनै जोखिम भएन, एउटा रेस्टुरेन्टले डिजाइनको निम्ति प्रयोग गरेका हौँ ।”