काठमाडौं । माघ १ गते पोखरामा भएको यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये हालसम्म ६४ जनाको शव परिवारलाई बुझाइएको छ । विमान दुर्घटनामा परेका ७२ जनामध्ये दुईजनाको अवस्था भने अझै अज्ञात छ । बाँकी ६ वटा शव त्रिवि शिक्षण अस्पतालको शव गृहमा राखिएको छ ।
तर, ती ६ वटा शवको शरीरका सबै भाग जलेको छ । बाहिरी शरीर हेरेर कुनैपनि शव चिन्न सकिने अवस्थामा नरहेको त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का फरेन्सिक मेडिसिन विभाग प्रमुख डा. गोपालकुमार चौधरीले जानकारी दिए । अनुहार र शरीरका अन्य भागहरूसमेत क्षतविक्षत अवस्थामा रहेकाले उनीहरूको हुलिया र शरीरका कुनै चिह्नहरू हेरेर पहिचान गर्न सकिने अवस्था नरहेको उनले बताए ।
डा. चौधरीका अनुसार पहिचान गर्न बाँकी रहेका ६ वटै शव नेपाली नागरिकका हुन् । यदि शारीरिक हुलियाबाट शव पहिचान नभएको अवस्थामा उनीहरूको औँठाछाप र दाँतको मेडिकल रिपोर्टसमेतलाई प्रयोग गरिन्छ । तर, ती शवको हकमा यी कुनैपनि नमुनाबाट पहिचान सम्भव नभएपछि अब डीएनए परीक्षण गर्न लागिएको छ ।
आईओएमका फरेन्सिक मेडिसिन विभाग प्रमुख डा. गोपालकुमार चौधरी ।
डीएनएबाट परीक्षणका लागि ६ वटै शवको नमुना मंगलबार नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला रानीबारी पठाइएको छ । डीएनएमार्फत परीक्षणका लागि डीएनए विशेषज्ञहरूसहितको छुट्टै टोली र सोहीअनुसारको प्रविधियुक्त प्रयोगशाला आवश्यक हुन्छ । जुन आईओएमको फरेन्सिक ल्याबमा उपलब्ध छैन ।
"हाम्रो ल्याबमा यो काम गर्ने जनशक्ति जम्मा चारजना छौँ । यती एयरको यो विमान दुर्घटनापछि रातदिन र बिदासमेत नभनी शव पहिचानमा खटिएका थियौँ । त्यसैले यति छिटो परिवारलाई शव बुझाउन सकियो । यसअघिका दुर्घटनामा ६ महिनासम्म लगाएर शव पहिचान गरिएको रेकर्ड छ," उनले भने ।
०६९ जेठ १ गते पोखराबाट जोमसोम उडेको अग्नि एयरको विमान जोमसोम विमानस्थलनजिकै दुर्घटनाग्रस्त हुँदा १९ जनाको मृत्यु भएको थियो । त्यतिबेला अहिलेभन्दा नराम्रो अवस्थामा शवहरू भेटिएका थिए । एन्टिमोटम (परिवारले दिएका नमुनाहरूको आधारमा गरिने पहिचान) र पोस्टमार्टमबाट पहिचान नभएका शवहरूको ६ महिना लगाएर डीएनए परीक्षणमार्फत पहिचान गरिएको थियो । त्यो समयमा नेपालमा डीएनए परीक्षको कुनै प्रविधि नभएकाले अमेरिकाबाट वैज्ञानिक झिकाएर नमुना पठाई परीक्षण गरिएको थियो ।
पछिल्लो दुर्घटनामा शव संकलनको क्रममा एकअर्काको डीएनए शवहरूबीच मिसिएका कारण पनि पहिचानमा समस्या भएको उनी बताउँछन् । “मानिसको शरीरको सेलमा हुने डीएनए 'ननकोडिङ' र 'कोडिङ' गरी दुई प्रकारका हुन्छन् । तीमध्ये कोडिङ डीएनए, जसले इन्सुलिन निकाल्ने काम गर्छ यो सबै मानिसको उस्तै हुन्छ । ननकोडिङ डीएनएले कुनैपनि प्रोटिन उत्पादन गर्न भूमिका खेल्दैन । यसमा धेरै भेरिबिलिटी हुन्छ र यो सबैमा फरक फरक हुन्छ । यिनै फरक भेरियबलमध्ये नेपालमा २१ वटा विभिन्न पोइन्टमा परीक्षण गरी पहिचान गर्ने गरिन्छ । यी सबै प्रक्रियाको लागि पनि कम्तीमा २२ देखि २५ दिन लाग्छ,” डा. चौधरीले भने ।