site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सार्वजनिक जग्गा फिर्ता गर्न टाइगर प्यालेसलाई अदालतको आदेश

बुटवल । रुपन्देहीमा सबैभन्दा पहिला स्थापना भएको पाँचतारे होटल टाइगर प्यालेस रिसोर्टले सार्वजनिक जग्गा मिचेर संरचना बनाएको ठहर भएको छ । 

रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित पाँचतारे टाइगर प्यालेस रिसोर्टले भैलाभुजको सार्वजनिक जग्गा मिचेको जिल्ला अदालत रुपन्देही ठहर गरेको हो । 

सार्वजनिक जग्गा मिचेको आरोप लगाउँदै जिल्ला अदालत रुपन्देहीमा मुद्दा परेको थियो । मुद्दामा  जिल्ला अदालत रुपन्देहीका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले यही माघ ६ गते सार्वजनिक जग्गा मिचेको फैसला गरेको हो । फैसलामा सार्वजनिक जग्गा फिर्ता गर्न आदेश दिइएको छ । 

Argakhachi Cement Island Ad

तिलोत्तमा नगरपालिकामा रहेको टाइगर प्यालेसले भैरहवा–लुम्बिनी भूमिगत जल (भैलुभुज) परियोजना नहरको १० कट्ठा १८ धुर, राजकुलो तथा अन्य सार्वजनिक कुलोको गरी करिब २३ कठ्ठा सार्वजनिक जग्गा मिचेको थियो । 

सार्वजनिक जग्गा मिचेर बनाइएको जग्गा खाली गर्न उपभोक्ता समितिका अध्यक्ष थानेश्वर घिमिरे र टेकराज पौडेलले मुद्दा दायर गरेका थिए । घिमिरेले २०७६ असार १९ र पौडेलले गत जेठ ६ मा मुद्दा दर्ता गरेका थिए । 

सार्वजनिक जग्गा मिचेर संरचना निर्माण गरेकाले खाली गर्न भन्दै स्थानीयले दिएको निवेदन उपर दाबी पुग्ने आदेश गरेको जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार सोभाखर खरेलले जानकारी दिए । उनकाअनुसार फैसलाको पूर्णपाठ आउन अझै केही दिन लाग्ने छ । “सार्वजनिक जग्गा मिचेर संरचना बनाएको ठहर भएको छ, जग्गा फिर्ता गर्न आदेश भएको छ,” खरेलले भने । 

हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालिले सञ्चालन गरेको १५ बिगाह क्षेत्रफलमा फैलिएको रिसोर्टले सार्वजनिक जग्गा मिचेर दर्जनौँ संरचना बनाएकोमा स्थानीयले विरोध गर्दै आएका थिए । मिचिएको जग्गामा  क्यासिनो, सभाहल, स्विमिङ पुल, रेष्टुराँसमेत निर्माण गरिएको छ । 

अदालतको उक्त आदेशसँगै सरकारी जग्गामा बनेका सबै संरचना भत्काउनुपर्ने हुन्छ । रिसोर्ट निर्माण सुरु गर्दा नै स्थानीयले विरोध गरे पनि लगानीकर्ताले निर्माण अघि बढाएको थियो । सिल्भर हेरिटेजले भैरहवामा २०७४ देखि रिसोर्ट सञ्चालनमा ल्याएको थियो । तिलोत्तमा नगरपालिकाको कोटिहवामा १५ बिघा क्षेत्रफलमा फैलिएको रिसोर्टमा करिब पाँच अर्ब रूपैयाँ लगानी रहेको छ ।

रिसोर्टमा प्राइम बैंकको दुई अर्ब ५० करोड र विदेशी लगानीकर्ताको दुई अर्ब ५० करोडसहित ५ अर्ब रुपैयाँ लगानी रहेको छ । जिल्ला अदालत रूपन्देही र उच्च अदालत बुटवलले जग्गा बिक्री वितरणसहितका कामकाजमा रोक लगाउने फैसला यसअघि गरेको थियो । अदालतको फैसलाले बिक्री रोकिएको थियो ।

टाइगर वान र सिल्भर हेरिटेजले अदालतका आदेशविरूद्ध अन्य निर्माणका काम अघि बढाएपछि अपहेलना मुद्दा परेको थियो । दुवै अदालतका आदेशहरू खारेज गर्न माग गर्दै कम्पनी सर्वोच्च अदालतमा पुगेको थियो ।
 

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  ११:४९
प्रतिक्रिया दिनुहोस्