site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad
राजनेताको खाँचो

सन् १९६५ मा भैरव अर्यालले  'नेता नम्बर १०१' शीर्षकको व्यङ्ग्य निबन्ध लेखेका थिए । त्यतिबेला देशमा निर्दलीय पञ्चायती व्यवस्था थियो । राजनीतिक  दल प्रतिबन्धित थिए । विसं २००७ मा  प्रजातन्त्र स्थापना भएपछि  २०१७ सम्म भने पार्टी खोल्न पाइन्थ्यो । त्यसैबेलाको अनुभवमा कुशल व्यङ्ग्यकार अर्यालले लेखेको  निबन्ध `नेता नम्बर १०१´ आज पनि उत्तिकै सान्दर्भिक लाग्छ । 

देशमा अहिले लोकतान्त्रिक शासन व्यवस्था छ । पारिवारिक शासन फालेर जनताले आफैँले शासन गर्ने अथवा स्वशासित हुने गणतान्त्रिक व्यवस्था  ल्याए । अनेकौं आन्दोलन तथा सशस्त्र विद्रोहका क्रममा  हजारौं नेपालीका छोराछोरीले परिवर्तन र समृद्धिको चाहनामा  प्राण गुमाए । पटकपटक विभिन्न  दलको आह्वानमा नागरिकहरू सडकमा ओर्लिए । तर, नागरिकका समस्या तस्ताका तस्तै छन्। 

निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार देशमा १९० वटा पार्टी दर्ता भएकाछन् । तिनमा हजारौंको संख्यामा नेता होलान् । सबै पार्टी र नेताको उद्देश्य राष्ट्रको विकास, समृद्धि, नागरिकको जीवनस्तरमा परिवर्तन नै होला । विडम्बना, जति धेरै दल उति धेरै समस्या भएको छ । 

नेताले समाजलाई नयाँ दिशा दिन सक्नुपर्छ । सबैलाई साथमा लिएर समाज रुपान्तरणको संवाहक बन्न सक्नुपर्छ । नेताले नेतृत्व दिने हो ।  नेतृत्व सधैँ इमानदार, उत्तरदायी र जिम्मेवार हुनुपर्छ । नेता त अगुवा हो र उसले राष्ट्र र जनतालाई एक ढिक्का बनाएर हिँड्न सक्नुपर्छ ।

हाम्रो देशमा हजारौंको संख्यामा नेता त छन् तर राजनेता भने देशले गणतन्त्रपछि पनि पाउन सकेन । वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारीलगायत नेताप्रति नागरिकको श्रद्धा र सम्मान थियो । उनीहरूको भाषण सुन्न जनता आफैँ सभास्थलमा  आउँथे । अहिलेका नेताका नैतिकता, जवाफदेही  र देशप्रतिको समर्पणमै जनताले शंका गर्छन् । पटकपटक सत्ता र शक्तिमा पुग्दापनि देशको रुपान्तरणका निम्ति खासै भूमिका खेल्न नसक्ने नेताहरू सत्ताका निम्ति भने जे पनि गर्नसक्छन् भन्ने पुष्टि त उनीहरूको हर्कतले गरिरहेकै छ ।

राजनीतिमा कोही स्थायी शत्रु र मित्र हुँदैनन् भन्ने भनाइ छ । तर, पछिल्लो समय नेपाली नेताहरूको रवैयाले नमीठोसँग नागरिकमा राजनीतिप्रति वितृष्णा बढाउँदै लगेको छ ।  पार्टी सत्ता र देशको सत्ता पाउन नसके जथाभावी गालीगलोजमा उत्रिने र सिद्धान्त, विचार र राजनीतिक कार्यदिशा नमिल्ने दलसँग पनि गठबन्धन गर्न तयार हुनुले नेताहरूको राजनीतिक छवि दिनप्रतिदिन झन्झन् धमिलो हुँदै  गएको छ ।

पार्टीका कार्यकर्ताले आफ्ना पार्टी त्यो पनि आफ्नो गुटका नेतालाई राजनेता भन्छन् । राजनेता त कुनै पार्टी वा गुट विशेषको हुँदैन । उसले त समग्र राष्ट्रलाई नेतृत्व दिन सक्नुपर्छ । महात्मा गान्धी, नेल्सन मन्डेला, अब्राहम लिंकन, जर्ज वासिङ्गटनलगायत विश्व चर्चित नेताहरूलाई आज पनि मानिसहरू आदर्श ठान्छन् । तिनले आफ्नो देशमा गरेका उल्लेखनीय रुपान्तरणकारी कामले न उनीहरू राजनेतामा स्थापित भए ।

नेपालमा पुराना नेताहरूबाट पार नलाग्ने र देशमा वैकल्पिक शक्तिको  आवश्यकता रहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले निर्वाचनमा नागरिकबाट आशालाग्दो मत पाए । तर, उनीहरू पनि सत्ताकै भोग गर्न खुट्टा उचालिरहेको भन्दै आलोचनाका स्वर सुनिन थालेको छ । यद्यपि, उनीहरू बारे आजै धारण बनाइहाल्नु अलि हतार होला। 

देश भ्रष्टाचार, कालोबजारी, माफियातन्त्रले आक्रान्त छ । देशको ऊर्जाशील युवाशक्ति हजारौंको संख्यामा विदेश पलायन भइरहेको छ । यस परिस्थितिमा उद्योग, कलकारखाना खोल्ने, सुशासन कायम गर्ने, देशमै रोजगारी सिर्जना गर्नेतर्फ नेताहरू उदासीन छन् । त्यसबारे छलफल पनि गर्न चाहँदैनन् । देशको युवा जमात त्रिभुवन विमानस्थलबाट खाली खुट्टा  विदेश पलायन गरेको दृश्य उपेक्षा गर्दै  बालुवाटारमा सत्ताको सौदाबाजी चलिरहन्छ । सिंहदरबारका कोठाकोठा, मन्त्रीका कार्यकक्ष तथा घरघरमा  विदेशी राजदूत खुलेयाम पुग्छन् । त्यही सिंहदरबारमा जनताका छोराछोरी छिर्न खोज्दा प्रहरीको हप्काइ खानुपर्छ ।

कहिले चर्को राष्ट्रवादका  एजेन्डा देखाएर त कहिले बन्दुकको त्रास देखाएर, कहिले समृद्धिका स्वर्णीम सपना देखाएर त कहिले  श्रमजीवीका समस्या देखाएर एकपछि आर्को नेता सत्ताको स्वाद चाखिरहन्छ । न्यायालय विचौलियाको अखडा बन्दैछ । शिक्षा,स्वास्थ्यलगायत राज्यको दायित्वभित्र पर्ने क्षेत्रहरू ध्वस्त हुँदै गएकाछन् । छिमेकीसँगका सीमा विवाद कायमनै छन् । महंगीले विकराल रूप लिँदैछ। यी यावत समस्याबीच हामी यस मुलुकमा राजनेता खोजिरहेका छौँ ।


नेताहरू कतिसम्म सत्ता मोहमा लिप्त भए भने संसदीय लोकतान्त्रिक व्यवस्थाविपरीत अहिले त संसद्नै प्रतिपक्षीहीन हुन पुग्यो ।  लाखौं समस्याबीच नेताहरू देश बन्छ भन्न छाड्दैनन् । हामी जनता तिनै नेतालाई बारम्बार सत्तामा उकाल्न छाड्दैनौ । 

लाग्छ, हाम्रो देशमा राजनेता खोज्नु र मरुभूमिमा पानी खोज्नु सायद उस्तै होला ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  १८:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro